
पाल्पा । तिनाउ गाउँपालिका नागरिकको स्वास्थ्य प्रति गम्भीर रहेको जनाएको छ । जसअनुसार जनताको स्वास्थ्य सेवामा सहज पहुँच वृद्धिका लागि आफ्ना गतिविधिहरु केन्द्रित गर्दै आएको छ । गर्भवतीको नियमित जाँच तथा नसर्ने रोगहरुको स्क्रीनिंगका लागि नमूनाका रुपमा १ नं. वडाको कचलमा घुम्ती प्रयोगशाला सेवा देखि विभिन्न सचेतनाका कार्यक्रमहरु सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताए । उनले जनतालाई आवश्यक पर्ने सेवाहरु स्वास्थ्य चौकीबाट उपलब्ध गराउँदै आएको बताए । उपलब्ध नभएका सेवाका लागि विभिन्न स्वास्थ्य संग सम्बन्धित संस्थासंगको समन्वयमा शिविरहरु चलाइएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।
यस चालु आर्थिक वर्षमा गाउँपालिकाको वडा नंं १ कचल स्वास्थ्य चौकीमा महिनाको तेस्रो बुधवार घुम्ती प्रयोगशाला सेवा सुरु गरिएको स्वास्थ्य शाखा प्रमुख कृष्ण कार्कीले जानकारी दिए । उनले यसको प्रभावकारीतालाई हेरेर आगामी दिनमा अन्य वडामा सेवा विस्तार गर्ने गरी काम भएको बताए । यसका साथै गाउँपालिकाले विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम अन्तरगत ९ वटा माध्यमिक विद्यालयमा स्वास्थ्य कमिटी गठन गरेको छ । विद्यार्थीको स्वास्थ्य व्यवहार परिर्वतनमा सहजीकरण गर्नका लागि ११ सदस्यीय कमिटी बनाएर अगाडि बढेको स्वास्थ्य शाखा प्रमुख कार्कीको भनाइ छ । कमिटीले बाल विवाह न्यूनिकरण, व्यक्ति तथा वातावरणीय सरसफाई, पोषणको विषयलगायत अतिरिक्ति स्वास्थ्य संग जोडिएका क्रियाकलापमा भूमिका खेल्ने उनको विश्वास रहेको छ । यस वर्ष गाउँपालिका स्तर र वडास्तरमा रक्तदाता समूह निर्माण तथा परिचालन समिति गठन गरिएको छ । विशेष गरी गाउँपालिका भित्रका नागरिकहरु सुत्केरी हुँदा र दुर्घटनामा परेको समय रगत अभावले धेरै दुःख खेप्नुपरेको अवस्थाको अन्त्यका लागि रगत सहज रुपमा उपलब्ध गराउन रक्तसमूह छुट्टाइएको प्रमुख कार्कीले बताए ।
समितिले समूहमा चेतना फैलाउन सहजीकरण गरेको छ । स्थानीय क्लबहरुसंग समन्वय गरेर रक्तसमूह बारे सामाजिक सञ्जालको निर्माण गरी परिचालन गर्ने गाउँपालिकाको योजना रहेको छ । यसका साथै गाउँपालिकाले यस वर्ष स्वास्थ्य संस्थामा जाँदा लाग्ने सुत्केरी गाडीभाडा र दुर्घटना परी घाइते भएका तिनाउ गाउँपालिका भित्रका नागरिकलाई उपचारका लागि पाल्पा वा रुपन्देहीको पहिलो स्वास्थ्य संस्थामा पुग्दा लाग्ने गाडी भाडा तिर्ने गरेको प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठले बताए ।
यसका साथै यस वर्ष विद्यालयमा अध्ययनरत किशोरीहरुमा रक्क्तअल्पताको सर्वेक्षण गरिएको छ । जसमा २३ प्रतिशत किशोरीहरुमा रक्तअल्पता भेटियो र परामर्श सेवा उपलब्ध गराइएको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । चालु आर्थिक वर्ष गाउँपालिकाको ६० लाख र संघीय बजेट ६३ लाख गरी कूल १ करोड २३ लाख बजेटबाट काम भएको छ । अधिकांश कार्यक्रम सम्पन्न भएका छन् । जनताले आधारभूत स्वास्थ्य सेवा लिन समेत समस्या परेको गाउँपालिकाको २ नं. वडाको हरियाली गाउँमा सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा ल्याइएको छ । जसमा तत्कालका लागि एक जना स्वास्थ्यकर्मीबाट सेवा प्रवाह भएको र आगामी दिनमा थप व्यवस्थापन गरिने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठको भनाइ छ ।
स्वास्थ्य शाखाका अनुसार नागरिकको स्वास्थ्यका विषयमा गाउँपालिका गम्भीर भएर विषेशज्ञ सहितको स्वास्थ्य शिविर आयोजना गरिएको थियो । जसमा करिव ७ सय भन्दा बढी नागरिकको सहभागिता रहेको थियो । यसका साथै आँखा परीक्षण शिविर प्रत्येक वडामा आयोजना गरी मोति विन्दु भएकाहरुका लागि शल्यक्रिया शिविर आयोजना गरेर सेवा दिएको स्वास्थ्य शाखा प्रमुख कार्कीले बताए । जसमा ५१ जनाले सेवा लिएको उनको भनाइ छ । साथै महिलाहरुको पाठेघरको मुखको क्यान्सरको स्क्रीनिंग शिविरमा ३ सय भन्दा बढी सहभागी भएकोमा १४ जना संकास्पद भेटेएकोले उपचारका लागि अन्यन्त्र पठाइएको प्रमुख कार्कीले जानकारी दिए ।
गाउँपालिकामा बालविवाह बढ्दो अवस्थामा रहेकोले स्वास्थ्य क्षेत्रमा चुनौतीहरु थपिएको उनको भनाइ छ । यसका साथै दरवन्दी अनुसारको स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाहमा समस्या छ । उपलब्ध स्रोतलाई प्रयोग गरेर नागरिकको सेवामा निरन्तर खटेको स्वास्थ्यकर्मीहरुको भनाइ छ । दोभान स्वास्थ्य चौकीमा प्रत्येक सोमबार बिहान ८ बजेदेखि प्रयोगशाला सेवा सुरु गरिने गरेको छ । खाली पेटमा प्रयोगशाला सम्बन्धी परीक्षण गर्नुपर्ने नागरिकका लागि यस्तो गरिएको गाउँपालिकाले जनाएको छ ।