
पाल्पा । बगनासकाली गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । राष्ट्रिय खोपको पूर्ण खोप सुनिश्चितका लागि आवश्यक सूचकहरुका आधारमा गाउँपालिकालाई घोषणा गरिएको हो । गाउँपालिकाभित्रका सबै बालबालिकालाई नियमित खोप पाउने आधार सुनिश्चित भएपछि पूर्ण खोप पालिकाका रुपमा घोषणा गरिएको हो ।
प्रत्येक वडामा अभियान सञ्चालन गरेर खोप प्राप्त गर्ने उमेरका बालबालिकाहरुलाई २५ वटा खोप केन्द्र मार्फत सेवा दिइएको र खोप केन्द्रबाट नियमित खोप सेवा दिने ग्यारेन्टी गरिसकेपछि पूर्ण खोप गाउँपालिका घोषणा गरिएको अध्यक्ष सरस्वती चिदीले बताएन् । उनले गाउँपालिकाभरका सम्पूर्ण बालबालिकाले खोप पाए नपाएको विषयमा गाउँपालिकाले सर्वेक्षण गरेको समेत बताइन् । उनले खोप सेवा प्राप्त गर्नु प्रत्येक बालबालिकाको नैसर्गिक अधिकार हो, उनीहरुको अधिकारलाई गाउँपालिकाले सुनिश्चित गरेको बताइन् ।
कार्यक्रममा पूर्ण खोप सुनिश्चितताको गाउँपालिका र वडाहरुलाई प्रमाणपत्र खोप समन्वय तथा अनुगमन समितिका संयोजक तथा जिल्ला समन्व समितिका प्रमुख टंकनाथ खनाल,कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले, जिल्ला समन्वय समितिका उपप्रमुख काशिका ज्ञवालीले संयुक्त रुपमा हस्तान्तरण गरे ।
जिल्ला समन्वय समिति पाल्पाका प्रमुख खनालले घोषणा गर्ने मात्र नभएर आगामी दिनमा पनि खोप अभियानलाई निरन्तरता दिन सक्नुपर्ने बताए । उनले पूर्ण खोप घोषणालाई दिगो बनाउन गाउँपालिकालाई आग्रह समेत गरे । यस्तैगरी सबैको सहयोग र साथका कारण गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितताका रुपमा घोषणा गर्न सफल भएको अध्यक्ष चिदीले बताइन् । उनले विशेष गरी स्वास्थ्यकर्मीहरूको सक्रियताका कारण यो सम्भव भएको हो, यो मेहनतका लागि धन्यवाद समेत व्यक्त गरिन् । गाउँपालिकाले स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाहरुको योगदानको उच्च मूल्याङ्कन समेत गरिएको बताइन् ।
पूर्ण खोप सुनिश्चितताका लागि सवै सूचकांक पूरा गरेको स्वास्थ्य शाखाकी फोकल पर्सन उमादेबी भण्डारीले जानकारी गराइन् । यस वर्ष एक सय ९३ जना बालबालिकाले पूर्ण खोप पाएको बताइन् । कार्यक्रम स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीको सञ्चालन तथा अध्यक्ष सरस्वती चिदीको अध्यक्षतामा चलेको प्रवक्ता टीकाबहादुर थापाले जानकारी दिए ।