रम्भा पूर्ण खोप सुनिश्चितता गाउँपालिका

पाल्पा । रम्भा गाउँपालिकालाई आर्थिक वर्ष २०७९/८० का लागि पूर्ण खोप सुनिश्चितता गाउँपालिकाका रुपमा घोषणा गरिएको छ । निर्देशीका अनुरुपको प्रकृया र निश्चित सूचकहरु पूरा गरेर गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शिवप्रसाद अर्यालले पूर्ण खोप सुनिश्चितताका लागि सम्पादन गरिएको क्रियाकलाप बारे जनाकारी गराएका थिए । गएको २०७९ साउन देखिनै सुक्ष्म योजना अनुसार हरेक महिना गाउँपालिका भित्रका ५ वटै स्वासथ्य संस्थाले अध्यावधिक गरेकोले घोषणामा सहज भएको उनको भनाइ थियो ।

उनका अनुसार गाउँपालिका भित्र शून्य देखि १५ महिनासम्मका बच्चाको संख्या २ सय ७४ र १६ देखि २३ महिना सम्मका एक सय ५८ जना रहेकोमा सबैले पूर्ण खोप पाएको र कुनै बच्चाहरु खोपहरुबाट वञ्चित नभएको प्रमुख अर्यालले बताए ।
जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले पूर्ण खोप घोषणाको विषयमा कोही खोपबाट छुट्न नहुने बताए । उनले हरेक सूचकको प्रभावकारी कार्यान्वय गर्नुपर्नेमा जोड दिए ।
आगामी दिनहरुमा पूर्ण खोप सुनिश्चितताको दिगोपना र निरन्तरताको लागि जनस्वास्थ्यका कार्यक्रमहरु निरन्तर सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।

खोप सुनिश्चितता गाउँपालिका घोषणा गर्नका लागि सरकारले तोकेका विभिन्न १३ प्रकारका घातक सरुवा रोग विरुद्धको १३ वटा खोप गाउँपालिका भित्रका सबै बच्चाले लगाएको हुनुपर्छ ।  घोषणा सभामा गाउँपालिका उपाध्यक्ष राधाकुमारी श्रेष्ठ,  प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा.राजेन्द्र गिरी,जिल्ला समन्वय अधिकारी जगन्नाथ अधिकारी,जिल्ला खोप फोकल पर्सन विश्वनाथ न्यौपाने,कार्यपालिका सदस्यहरु,वडाध्यक्षहरु, स्वास्थ्य संस्था प्रमुख,पोषण सहजकर्ता,महिला स्वास्थ्य स्वयमसेविकालगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर