तानसेनको जेठ १२ मा रोजगार मेला

पाल्पा । तानसेन नगरपालिकाले रोजगार मेला गर्ने भएको छ । ज्ञान र सीप भएका तर बेरोजगार नगरवासीलाई मध्यनजर गर्दै मेला गर्न लागिएको हो । मेलामा वृत्ति विकासका साथै अवसरको खोजीमा सहजीकरण गरिने छ ।

सीप र दक्षता अनुसारको रोजगारीको खोजीमा सहयोग, रोजगारीका लागि आवश्यक सीप सिक्न तथा आफैले रोजगारी सिर्जनाका लागि व्यवसाय सुरु गर्न आवश्यक वृत्ति विकासका लागि मेला आयोजना गर्न लागिएको मेला व्यवस्थापन उपसमितिका संयोजक तथा तानसेन ७ का वडाअध्यक्ष प्रदीप खनालले जानकारी दिए । मेला भव्य रुपमा सफल बनाउनका लागि नगर प्रमुखको सन्तोषलाल श्रेष्ठको संयोजकत्वमा कार्यपालिकाको सम्पूर्ण सदस्य रहनेगरी मूल आयोजक समिति गठन गरिएको छ । यस मेलाले विद्यार्थी तथा युवाहरुलाई समयमै रोजगारी उपलब्ध हुने बाटो सुनिश्चित गर्ने उद्देश्य राखिएको आयोजकको भनाइ छ । मेलामा सीप सिक्ने तरिका, सिकाईका माध्यम, रोजगारीका अवसर प्राप्त हुने स्थानहरु बारे जानकारीमूलक स्टल तथा परामर्श केन्द्र रहने उपसमिति संयोजक खनालले बताए ।

तानसेन नगरपालिका प्रवक्ता यादवसिंह कार्कीले रोजगारीका लागि सीप सिक्न चाहेका र सीप सिकिसकेका व्यक्तिहरु सहज रुपमा विक्ने स्थानको खोजीका लागि मेला सहयोग बन्ने विश्वास व्यक्त गरे । उनका अनुसार ‘किशोरावस्थाका युवाहरु रोजगारीका लागि घरपरिवार छाडेर विभिन्न मुलुक जानुपर्ने बाध्यताको अन्त्यका लागि क्षमता अनुसार रोजगार सम्बन्धी सूचना दिने र इच्छा भएका तर सीप नभएकाहरुका तालिम बारे सूचना दिएर आत्मनिर्भर बन्नलाई सहयोग गर्ने योजना अघि सारेको हो ।’

मेला यही जेठ १२ गते मखनटोल तेस्रो सडकमा विहान १० बजे देखि बेलुका ५ बजेसम्म हुने मेला प्रचारप्रसार समितिका संयोजक मुक्तिप्रसाद न्यौपानेले जानकारी दिए । उनका अनुसार पाल्पामा पहिलो पटक हुन लागेको रोजगार मेलामा विभिन्न सीपमूलक कार्यहरुका ३० बढी स्टलहरु रहनेछन् । यसका साथै स्थानीय उत्पादनहरुको प्रदर्शनी पनि रहने छ । आफ्नो मार्ग पहिचान गर्न, दिगो तथा सम्मानित रोजगारीका लागि सीप सिक्न, सीप सिकिसकेकाले रोजगारी प्राप्त गर्न, व्यवसायीले आफ्नो व्यसाय अनुसारको जनशक्ति सहज रुपमा खोजी गर्न मेला आवश्यक रहेको शिक्षा शाखा प्रमुख कोपिला न्यौपानेले बताइन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय