एक वर्षमा तानसेनले मानेका २५ उपलब्धी

पाल्पा । तानसेन नगरपालिकाले एक वर्षका २५ उपलब्धी सार्वजनिक गरेको छ । दोस्रो स्थानीय तहको निर्वाचनपछि नगरपालिकामा आएको नेतृत्वले एक वर्षमा भएकाे सामान्य बैठक, समिति गठन र सहयोगलाई समेत महत्वपूर्ण उपलब्धी मानेर कार्य प्रगति सार्वजनिक गरेको हो ।

जनप्रतिनिधिबीच पत्रकार भेटघाट कार्यक्रममा एक वर्षमा गरेका कामलाई समेटेर नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले वार्षिक कार्य प्रगति विवरण सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएको विवरणमा सबैभन्दा महत्वपूर्ण प्रगति पाल्पा दरबार परिसरका ५७ वटा घरटहरा भित्काइएकोलाई राखिएको छ । यस्तै सामुदायिक विद्यालयको समायोजन, एकीकरण र कक्षा कटौती गरेर लगानीको बचत भनिएको छ भने विद्यार्थी संख्या छलेर दिवा खाजाको पैशा लिग्ने विद्यालयका विषयमा मौन रहेको छ ।

राजश्व वृद्धि गर्न लागि परेको भएपनि राजश्व संकलन हुने पर्यटकीय क्षेत्रको व्यवस्थापन संरक्षण र सौन्दर्यकरणका निम्ती ठोस काम भएको उल्लेख छैन् । विवरणमा रानीमहलको प्रचारका लागि प्रेम दिवसमा प्रेम जोडीलाई सम्मान गरेको उल्लेख छ । यसका साथै नगर सभा र कार्यपालिका बैठक, घोषणा पत्र जारी जस्ता विषय, स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार विभिन्न आवश्यक समिति र उपसमितिहरु गठन, सडक खाना महोत्सवलाई पनि उपलब्धीमै राखिएको छ । सहकारीलाई करको दायरामा ल्याइएको, ११ नंं वडा कार्यालय भवन निर्माण सम्पन्न भएको ९ नंं वडा कार्यालय व्यवस्थापन गरिएको र १ नं. वडा कार्यालय भवन निर्माणको चरणमा रहेको प्रवक्ता कार्कीले प्रस्तुत गरेको विवरणमा उल्लेख गरिएको छ ।

नगरपालिकाले ‘ग’ वर्गका अपांगता भएका व्यक्तिलाई मासिक ५ सय भत्ता, न्यूनतम २० युनिट सम्म विद्युत खपत गर्नेको विद्युत महशुल निशुल्क, लद्यु प्रकृतिका लिफ्ट खानेपानी आयोजनाको विद्युत खपतमा २५ प्रतिशत अनुदान दिने प्रकृया, प्राथमिकतामा परेका समूहको स्वास्थ्य बीमा शुल्क भूक्तानी, छोरी शिक्षा कार्यक्रमलाई नियमितता दिएको बताइएको छ ।

यसका साथै नगरलाई मासुमा आत्मनिर्भर बनाउन शर्तमा दुई लाख सम्मको अनुदान सम्झौता दुधको उत्पादन वृद्धि र बजारिकरणमा प्रोत्सहानका लागि प्रतिलिटर २ रुपैयाँ अनुदानको व्यवस्था गरिएको जानकारी गराए । नगरभित्रका विभिन्न वडामा भैतिक पूर्वाधार अन्तरगतका योजनाको कामका लागि बोलपत्र आह्वान गरी काम अगाडि बढाएको, छाडा पशु चौपाँयाको व्यवस्थापन, वडा कार्यालयमा कर्मचारी व्यवस्थापन गरिएको सार्वजनिक गरिएको विवरणमा उल्लेख छ ।

नगरपालिकाले जोखिमपूर्ण क्षेत्रमा रहेका जीर्ण रुखका हाँगा काटेर व्यवस्थापन गरेको, तानसेन ३ मा थोक कृषि बजार व्यवस्थापन, टँडिखेल व्यवस्थापन, १५ करोड ३० लाख ९ हजार ८७ रुपैयाँ बेरुजु फस्यौट,औद्योगिक ग्रामका लागि ८० लाख बजेट सुनिश्चित , पुरानो बसपार्क र तानसेन ५ कैलाशनगरमा सिटीहल निर्माणका लागि डिपीआरको काम भैरहेको साथै वनदेवी बसर्पाक निर्माणका लागि प्रकृया पूरा भएर सम्झौता गरिएको नगरपालिकाले जनाएको छ । यसका साथै नगरको बसाइँसराई रोक्नका लागि घर निर्माण सम्पन्न र बाटोको मापदण्ड सम्बन्धी नीतिमा हेरफेर गरेको समेत जनाएको छ ।

कार्यक्रममा सहभागी पत्रकारहरुले दैनिक गर्नुपर्ने कामलाई प्रगति नमानेर नगरवासीको जनजीविकासंग जोडिएका विषयमा काम गर्न सुझाव दिएका थिए । उनीहरुले तानसेनको पर्यटन विकास, फोहोर व्यवस्थापन, सार्वजनिक जग्गाको संरक्षण, एतिहासिक तथा सांस्कृतिक महत्वका स्थलहरुको संरक्षण र प्रयोग, पूर्वाधार विकास, कर्मचारी परिचालन र सहि व्यवस्थापन, सामुदायिक विद्यालयको शैक्षिक सुधारलगायतका विषयमा देखिने काम गर्नुपर्ने बताए । पत्रकारहरुले राजश्व उठाउने विषयमा मात्र केन्द्रीत नभएर नगरवासीको जीवनस्तर उठाउने गरी काम गर्न सुझाएका थिए ।

कार्यक्रममा नगर प्रमुख सन्तोषलाल श्रेष्ठले प्राप्त सुझावलाई आत्मसाथ गरेर आगामी दिनमा काम गर्ने बताए । यसका साथै नगरपालिकाको दैनिक सेवा प्रवाहलाई छिटोछरितो र पारदर्शी बनाउन लागि परेको बताए । साथै कर्मचारीको क्षमता विकास, खर्च कटौंतीसंगै राजश्व संकलनमा जोड दिएको र करको दायरा फराकिलो बनाउदै व्यवस्थित सहर बनाउन आवश्यक कार्य गरिएको नगरप्रमुख श्रेष्ठको भनाइ थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय