
पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले अबैध सालका काठसहित एक जनालाई पक्राउ गरेको जनाएको छ । तिनाउ–३, हरियाली गाउँमा लुकाईछिपाई रुपन्देहीतर्फ काठ लैजाने क्रममा प्रहरीले दोभान चौकीबाट १८ क्वीफिट सालका काठसहित एक जना पुरुषलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गाडी चालक सहित तिनाउ–३ का भीमबहादुर खत्री रहेको प्रहरीले जनाएको छ ।
मंगलबार दिउसो तिनाउ गाउँपालिका–३, हरियाली गाउँबाट लु २ ख ५९०३ नम्बरको बसको छतमा राखेर काठ बुटवलतिर लैजाने क्रममा प्रहरीले बरामद गरेको जनाएको छ । बरामद भएको काठ र पक्राउ परेका व्यक्तिलाई डिभिजन वन कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।
घटनाको थप अनुसन्धानका लागि तिनाउ सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत रामध्यान कुमार शाहालाई अनुसन्धान अधिकृत तोकेर काम अगाडि बढाइएको छ । पक्राउ परेका व्यक्तिहरुको जिल्ला अदालत पाल्पाबाट म्याथ गरी प्रहरी हिरासतमा राखेर अनुसन्धान हुँदै छ । उनीहरुलाई वन ऐन २०७६ अनुसार सजाए हुन्ने डिभिजन वन कार्यालयका रेञ्जर यमलाल पोखरेल जानकारी दिए ।