
पाल्पा । निस्दी गाउपालिकाले शैक्षिक सुधारका लागि शिक्षकहरुसंग अन्तरक्रिया कार्यक्रम सुरु गरेको छ । गाउँपालिका भित्रका सबै वडामा पुगेर अन्तरक्रिया गर्नेगरी कार्यक्रम अगाडि बढाएको गाउँपालिकाले जनाएको छ । अन्तरक्रिया कार्यक्रम निस्दी १ वाकामलाङ्गबाट सुरु गरेको छ । सोमबार भएको कार्यक्रममा वडा नं १ का सबै विद्यालयका शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले विद्यालयको शैक्षिक अवस्था सुधारका लागि शिक्षकहरुको भूमिका महत्वपूर्ण हुने बताए । उनले सोही अनुसार शिक्षकहरुसंग गुणस्तर वृद्धिका लागि आवश्यक विषयमा छलफल गरिएको बताए । अध्यक्ष सारुले छलफलबाट प्राप्त नतिजाका आधारमा शैक्षिक सुधारका योजना लागु गरिने बताए । गाउँपालिका उपाध्यक्ष तिरन कुमारी श्रेष्ठले विद्यालयमा शिक्षक,अभिभावक र विद्यार्थीको संयुक्त पहलबाट शैक्षिक सुधार गर्न सकिने बताइन् । जिल्ला समन्वय समितिका सदस्य प्रताप सिं थापाले छलफल ,समन्वयबाट नै शिक्षाको अवस्था सुधार गर्न सकिने बताए ।
कार्यक्रममा प्रवक्ता तथा निस्दी ६ अर्चलेका वडा अध्यक्ष मेख बहादुर सुनारी, निस्दी ३ झिरुवास वडा अध्यक्ष नविन थापा सोती, शिक्षा समिति सदस्य दमन सिं पाटा थापा, निस्दी शिक्षा शाखा प्रमुख नर बहादुर थापा, कार्यपालिका सदस्य खुम बहादुर वि.कलगायतले सबै पक्षको सहयोगमा शैक्षिक सुधार हुने विश्वास व्यक्त गरे । यसका साथै विद्यालको शैक्षिक सुधारका लागि सरोकारवालाहरुको भूमिका तथा समस्यहरुको संकलन र समाधानको उपाय खोज्ने र विभिन्न अनुभवहरुको आदान प्रदान गर्नेगरी कार्यक्रम राखिएको शिक्षा शाखा प्रमुख नर बहादुर थापाले बताए ।
निस्दी १ वाकामलाङका वडा अध्यक्ष यम बहादुर रानाको अध्यक्षतामा भएको हो ।