पाल्पा । गाउँले देउराली साप्ताहिक पत्रिकाले आफ्नो ३० औ वार्षिकोत्सव मनाएको छ । पूर्वखोला गाउँपालिका वडा नं. १ ढाक्रेबासमा पुगेर कृति बिमोचन तथा सम्मान कार्यक्रम गरेर वार्षिकोत्सव मनाएको हो ।
कार्यक्रममा पूर्वखोला गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले साहित्यकार तथा पत्रिकाका सम्पादक रामप्रसाद अर्याल अबिराम द्वारा लिखित देउरालीको फन्को कृति बिमोचन गरे । अध्यक्ष सारुले सदरमुकामबाट ग्रामीणबस्तीमा आएर आफ्नो वार्षिकोत्सवको अवसर पारेर शारीरिक रुपमा अपांग रहेका सारु परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेकोमा धन्यवाद ज्ञापन गरे ।
कृति माथि समीक्षा गर्दै वरिष्ठ साहित्यकार निलकण्ठ न्यौपानेले कृति भित्र विभिन्न विधामा जम्मा ५८ शिर्षकमा गाउँले परिवेशको यथार्थता , सामाजिक सचेतनात्मक , व्यङग्यात्मक , शिक्षाप्रद , सुसूचित सभ्यसमाजको सन्देश दिइएको बताए ।
कार्यक्रममा लेखक र कृतिको परिचय गराउदै नेपाल पत्रकार महासंघका निर्वतमान अध्यक्ष राजेशकुमार अर्यालले विभिन्न समस्याहरुको सामना गर्दै देउराली पत्रिका नियमित प्रकाशन भएकोमा बधाई तथा शुभकामना व्यक्त गरे । उनले पत्रिको निरन्तरताका लागि विनयकुमार कसजु देखि रामचन्द्र नेपाल सम्मले खेलेको ऐतिहासिक पृष्ठभूमी र वर्तमान अवस्था संर्घषका बारेमा जानकारी गराए ।
पूर्वखोला गाउँपालिका ढाक्रेबास दाउरेबारी डिलबहादुर सारुका १२ र १४ वर्षका दुई अपांग छोराहरु नारायण सारु र माधब सारुलाइ दाम्लोले बाँधेर राखिएको अवस्था देखेपछि पत्रिकाले पीडितको परिवारलाइ आर्थिक सहयोग गर्नेगरी उनीहरुको घरमै कार्यक्रमको आयोजन गरेको ग्रामीण विकास पाल्पा उपाध्यक्ष सुशीला श्रेष्ठले बताइन् । स्थानीय पत्रकार डिल्लीराज पङ्गेनीले पीडित परिवारको बारेमा समाचार लेखेपछि पत्रिकाले सहयोग उपलब्ध गराउने उद्देश्यले विभिन्न संघ सस्था संगको समन्वयमा उठाएको ५० हजार र सहभागीहरुबाट उठेको १० हजार चारसय पचास रुपैयाँ सारु परिवारलाई हस्तातरण गरिएको उपाध्यक्ष श्रेष्ठले जानकारी दिइन् ।
कार्यक्रममा पत्रिकालाई सहयोग गर्ने कृतिका लेखक तथा पत्रिकाका सम्पादक रामप्रसाद अर्याल , साहित्यकार डा.टंकप्रसाद पन्त , धातानन्द शर्मा, गोविन्दप्रसाद भट्टराई , झमानसिङ दर्लामी , झविन्द्र देवकोटा, पत्रिकाका सहसम्पादक रामचन्द्र नेपाल, ग्रामीण विकास पाल्पाका कोषाध्यक्ष यादवराज शर्मा तथा पत्रिकाका व्यवस्थापक रीमा घर्तीमगरलाई सम्मान सहित मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा लेखक तथा पत्रिकाका सम्पादक रामप्रसाद अर्यालले लेखन अवस्था, विषय वस्तु छनोट , चुनौती अवसर , प्रतिफल तथा अनुभवका विषयमा चर्चा गरे । यस्तैगरी कार्यक्रममा साहित्यकार डा.टंकप्रसाद पन्त, पत्रकार गोविन्द भट्टराई, धातानन्द शर्माले पत्रिकाले जन्मोत्सवको अवसर पारेर दिन दुखीलाई गाउँघरमै आएर गरेको सहयोग महत्वपूर्ण भएको बताए । उनीहरुले समाजको वास्तविकता उजागर गर्ने पत्रकारहरु आफै सहयोग लिएर ग्रामीण क्षेत्रमा पुग्नु प्रशंसायोग्य कार्य भएको बताए ।
कार्यक्रम गाउँले देउराली साप्ताहिकका सहसम्पादक रामचन्द्र नेपालको सञ्चालन र ग्रामीण विकास पाल्पाका अध्यक्ष सोमनाथ अर्यालको अध्यक्षतामा भएको हो ।