
पाल्पा । पाल्पाको रानीमहलमा हुने पुरुष राष्ट्रिय विच भलिबलको तयारी पूरा भएको छ । प्रतियोगिता सञ्जय मेमोरियल प्रतिष्ठानको आयोजना र पाल्पा भलिबल संघको सहआयोजनामा हुन लागेको हो । यही वैशाख २८ देखि ३० गतेसम्म हुने रानीमहलको काखमा रहेको विच भलिबल कोर्टमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक जनाएको छ ।
तानसेनमा पत्रकार सम्मेलन गरी प्रतियोगिता बारे जानकारी गराइएको हो । आयोजक सहित ६ प्रदेश र तीन विभागीय टिम गरी १० टिमको सहभागिता रहने पत्रकार सम्मेलनमा आयोजक सञ्जय मेमोरियल प्रतिष्ठानकी अध्यक्ष निरोज मास्केले जानकारी दिइन् । प्रतियोगितामा सुदूरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी, गण्डकी, मधेश, बागमती प्रदेश, एपीएफ, आर्मी, पुलिस र सह–आयोजक पाल्पा जिल्ला भलिबल संघको टिम सहभागी हुने अध्यक्ष मास्केले जानकारी गराइन् ।
लिग र नकआउट आधारमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन बैशाख २८ गते दिउँसो १ बजे हुने पाल्पा भलिबल संघका महासचिव कृष्ण आलेले जानकारी दिए । उनले विहीवार साँझसम्म प्रतियोगितामा सहभागी हुने सम्पूर्ण टिम र अफिसियल तानसेन आईपुग्ने बताए । खेलकुदसंगै पाल्पाको पर्यटकीय क्षेत्र रानीमहलको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागेको आयोजकको भनाइ छ ।
प्रतियोगिताको विजेता टिमले १ लख ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेता टिमले १ लाख रुपैयाँ सहित ट्रफी, मेडल, तेस्रो हुने टिमले ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल र सानत्वना हुने टिमले २५ हजार रुपैयाँ प्राप्त गर्ने प्रतिष्ठानका सचिव हिम बिक्रम केसीले बताए । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका सचिव यज्ञमुर्ति तिमिल्सेना, नेपाल खेलकुद पत्रकार मंच जिल्ला समन्वय शाखा अध्यक्ष माधव अर्याल, प्रेस चौतारी नेपाल पाल्पाका अध्यक्ष कृष्ण कार्की, आदिवासी जनजाति पत्रकार महासंघका देव पचभैया, सनराईज टेलिभिजनका सन्तोष बस्याल लगायतले पाल्पामा हुने राष्ट्रिय प्रतियोगितालाई सबैको साथमा सफलतापूर्वक सम्पन्न गर्नुपर्नेमा जोड दिए ।
अघिल्लो वर्ष सञ्जय मेमोरियल प्रतिष्ठानले आयोजना गरेको थियो भने यसपटक राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहयोग र नेपाल भलिबल संघबाट स्वीकृतिमा आयोजित प्रतियोगिता नेपालको विच भलिबलको विकास र पाल्पाको ऐतिहासिक दरबार क्षेत्र रानीमहलको प्रबद्र्धन गर्ने उद्धेश्यका साथ सञ्चालन गरिएको हो । आगामी वर्ष अन्तर्राष्ट्रियस्तरका खेलाडीको सहभागितामा प्रतियोगिता गर्ने तयारी भएको समेत आयोजकले जानकारी गराए ।
रानीमहलसम्म दौडप्रतियोगिता
प्रतियोगितामा जनसहभागिता बढाउन अन्तिम दिन वैशाख ३० गते बिहान रानीमहल दौडको समेत आयोजना गरिने भएको छ ।
तानसेनको कैलाशनगरदेखि रानीमहलसम्मको १३ किलोमिटर दौडलाई प्रतियोगिताका रुपमा गरिएको छ । सञ्जय मेमोरियल प्रतिष्ठानले पुरस्कारको व्यवस्थासमेत गरेकाले सहभागी हुनसमेत आग्रह गरिएको छ । दौडमा पाल्पाका स्थानीय सहित विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागीता रहने सह आयोजक पाल्पा भलिबल संघले जनाएको छ ।
दौडमा पहिलो हुनेलाई १०, दोस्रोलाई ७, तेस्रोलाई ५, सान्तवना ३ र २ हजार रुपैया“ पाउने सञ्जय मेमोरियल फाउण्डेशनकी अध्यक्ष मास्केले जानकारी दिइन् । दौडमा सहभागी हुन निःशुल्क दर्ता गर्न पाइने र सहभागीलाई टिसर्ट समेत उपलब्ध गराइने आयोजकले जनाएको छ ।