पाल्पा । सदरमुकाम तानसेनमा वैशाख १४ गतेबाट सुरु भएको ‘पाल्पा महोत्सव’ सकिएको छ । पाल्पा उद्योग वाणिज्य संघले आयोजना गरेको १३ औं संस्करणको ११ दिने महोत्सव आइतवार समापन भएको हो । महोत्सवलाई तीन लाख बढी दर्शकले अवलोकन गरेका छन् । त्यस्तै, महोत्सवमा ८ करोड बराबरको कारोवार भएको संघका अध्यक्ष शैलेन्द्र भट्टराईले जानकारी दिए । २ सय ८० स्टल रहेको महोत्सवमा बालउद्यानसँगै कलाकारहरुको प्रस्तुति हेर्न दर्शकको भिड देखिएको थियो ।
हरेक दिन राष्ट्रिय तथा स्थानीय ख्याती प्राप्त कलाकारहरुले सांगीतिक प्रस्तुति मार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । महोत्सवको पहिलो दिनदेखि समापनको दिनसम्म नै कलाकारहरुको प्रस्तुतिमा तानसेन गुञ्जायमान रह्यो ।गाउँ–गाउँबाट आएका दर्शक देखि बजार क्षेत्रका दर्शक कलाकारहरुको प्रस्तुतिमा रमाए ।लोक गायक राजु परियारले महोत्सवको दोस्रो दिन दर्शकलाई सांगीतिक माहोलमा झुमाए । तेस्रो दिन आधुनिक गायक शिव परियारको प्रस्तुतिमा दर्शक रमाए । चौथो दिन लोक गायकद्धय खेम सेञ्चुरी र शिरीष देवकोटाको प्रस्तुति महोत्सवमा रह्यो ।
पाँचौ दिन लोक गायक बद्री पंगेनीले प्रस्तुतिका क्रममा सुरुवातमा गीतमार्फत दर्शकलाई भावुक बनाए भने पछि छमछमी नचाए । उक्त दिन लोक गायिका शान्ति श्री परियारका हिट गीतहरुमा समेत दर्शक उत्तिकै रमाए । छैठौं दिन गायिका एलिना चौहानको प्रस्तुति हेर्न पनि दर्शकको उत्साहजनक उपस्थिति रह्यो वैशाख २० गते बुधवार भने प्रतिकूल मौसमका कारण महोत्सव हुन सकेन् । उक्त दिनको आकर्षणका रुपमा उपस्थित लोकगायक पशुपति शर्मालगायतको प्रस्तुति बिहीवार रह्यो ।
शुक्रबार लोकगायक खुमन अधिकारी लगायतको प्रस्तुतिमा दर्शकले ताली बजाएर, हुटिङका साथमा नाचेर साथ दिए । उक्त दिन २० हजार बढी दर्शकले महोत्सव अवलोकन गरेको आयोजकको दावी छ । शनिवार लोकगायक रामजी खाँण लगायतको प्रस्तुतिमा पनि दर्शकको उल्लेखनीय सहभागिता रह्यो । महोत्सव अवधिभरमा शनिबार सर्वाधिक धेरै दर्शकको सहभागिता रहेको आयोजकले जनाएको छ । महोत्सव समापनको अघिल्लो दिन २० हजार हाराहारी टिकट बिक्री भएको पाल्पा उद्योग वाणिज्य संघका सचिव विदुर घिमिरेले बताए । समापनको दिन आइतबार पनि महोत्सवमा दर्शकको उपस्थिति उत्साहजनक देखिएको थियो ।
दर्शकको आकर्षणको केन्द्रमा रहेका लोक गायक पुस्कल शर्माले आÇना सांगीतिक प्रस्तुतिमार्फत दर्शकको मन जितेका थिए । गायक शर्माले गृहजिल्लामा दिएका प्रस्तुतिमा दर्शकले ताली बजाएर, हुटिङ गरेर साथ दिएका थिए । आइतवार गायक शर्मासँगै पुरुषोत्तम गैरे, हाँस्य कलाकार नारायण बस्याल लगायतको समेत प्रस्तुति रहेको थियो । उद्योग वाणिज्य संघले पाँच वर्षभन्दा लामो समयपछि टुँडिखेलमा महोत्सव गरेका कारण पनि दर्शक उत्साहित रुपमा सहभागि भएका थिए ।