माथागढीका सामुदायिक विद्यालयमा अनुगमन तीव्र

पाल्पा । माथागढी गाउँपालिकाले शैक्षिक सत्र २०८० मा सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि अनुगमनलाई तीव्र पारिएको जनाएको छ । अनुगमनका क्रममा विद्यालयलाई शैक्षिक गुणस्तरमा ध्यान दिन आग्रह गरिएको छ । गाउँपालिकाले विद्यालयको शैक्षिक सुधारका लागि क्षमता विकासका विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । स्थानीय तहको दोस्रो निर्वाचनबाट आएको नेतृत्वले शिक्षालाई प्राथमिकतामा राखेर काम गरेको छ ।

सोही अनुसार नयाँ शैक्षिक सत्रको प्रारम्भमा विद्यार्थी भर्ना अभियानको अवस्था बारे विद्यालयमा अनुगमनका लागि गाउँपालिका अध्यक्ष यमबहादुर चिदीसहितको जनप्रतिनिधिको टोलीले विद्यालयहरुमा पुगेर गुणस्तरमा ध्यान दिन आग्रह गरेका छन् । गाउँपालिका अध्यक्ष चिदीले सबैभन्दा पहिला विद्यालयमा समय अनुसारको गुणस्तरीय शिक्षा उपलब्ध गराउने वातावरण तयार गर्न सके विश्व बजारमा विक्ने शिक्षा स्थानीय स्तरमै पाउँदा विद्यार्थी र अभिभावक दुबै पक्षलाई सहज हुने बताए । उनका अनुसार शिक्षाको सुधारका लागि गाउँपालिकाले विशेष प्राथमिकतामा राखेर परियोजना तथा कार्यक्रम सञ्चालन गरेको बताए । शिक्षक, विद्यार्थी र अभिभावकको त्रिकोणात्मक समन्वय र सहकार्यमा मात्र शिक्षाको सुधार सम्भव हुने अध्यक्ष चिदीको भनाइ छ । गुणस्तरीय शिक्षा स्थानीय स्तरमा सहज रुपमा दिन सकेको खण्डमा बालबालिकाको स्तरीय शिक्षाका नाममा हुने गरेको बसाइँसराई समेत रोकिने गाउँपालिका अध्यक्ष चिदीले बताए । जसले गर्दा गाउँमा चहल पहल हुनुका साथै भएका कृषि योग्य भूमिको सदुपयोग समेत हुने उनको विश्वास छ ।

माथागढी गाउँपालिका भित्र ४१ वटा सामुदायिक विद्यालय रहेका छन् । यस बाहेक ४ वटा संस्थागत विद्यालय रहेको गाउँपालिकाका समाजिक विकास समितिका संयोजक तथा १ नं. वडाका वडाध्यक्ष राजकुमार पन्थीले जानकारी दिए ।
अनुगमनका क्रममा सामुदायिक विद्यालयमा विद्यार्थी संख्या, शिक्षक दरबन्दी र विद्यालयका नविनतम कार्य र शिक्षक बीच छलफल गर्ने गरिएको संयोजक पन्थीको भनाइ छ । अहिले सामुदायिक विद्यालयमा विद्यार्थी संख्था कम रहेको पाइएको छ । विद्यालयको तहगत रुपमा कक्षा बढी अध्ययन गर्ने विद्यार्थी र अध्यापन गराउने शिक्षक कम हुँदा गुणस्तर कायम गर्न नसकेको अवस्था प्राप्त भएको संयोजक पन्थीले बताए । विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी रहने भएकोले सोँचेजस्तो शिक्षाको गुणस्तर नभएको गाउँपालिकाले जनाएको छ ।

अनुगमनमा प्राप्त तथ्यलाई आत्मसाथ गर्दै समुदायसँगको छलफलबाट शैक्षिक गुणस्तर वृद्धि सँगै विद्यालय समायोजन, कक्षा कटौती र एकीकरण जस्ता काम गरिने साहारादेवी आधारभूत विद्यालय माथागढी ३ कसेनीको अनुगमनमा पुगेका गाउँपालिका अध्यक्ष पन्थीले बताए । पहिलो चरणमा विद्यार्थी, अभिभावक, शिक्षकसँग छलफल तथा गुणस्तर कायमका लागि आवश्यक गतिविधिमा जोड दिइएको उनको भनाइ रहेको छ ।

साहारदेवी आधारभूत विद्यालयमा अहिले २ सय ३ विद्यार्थी रहेका छन् । यस शैक्षिक सत्रमा २ सय ५० बनाउने विद्यालयको लक्ष्य रहेको विद्यालयका प्रधानाध्यापक भिमबहादुर थापाले बताए । विद्यालयले सिकाई उपलब्धी वृद्धिका लागि प्रत्येक शिक्षकसँग करार सम्झौता गर्ने गरेकोलेजसबाट औसत उपलब्धी ८० प्रतिशत पूरा हुने गरेको विद्यालयका प्रधानाध्यापक थापाको भनाइ छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय