
पाल्पा । नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा पाल्पाको जिल्लास्तरीय भेला जेष्ठ ५ गते हुने भएको छ । सोमबार बसेको समन्वय शाखाको उपलब्ध पदाधिकारी तथा अन्य पत्रकारहरुको बैठकले जेठ ५ गते शुक्रबार जिल्लास्तरीय बृहत भेला गर्ने निर्णय गरेको हो । समन्वय शाखाका अध्यक्ष माधव अर्यालको अध्यक्षतामा बसेको बैठकमा विगतमा भएका गतिविधिका विषयमा समीक्षा गरिनुका साथै आगामी दिनमा शाखाबाट गर्न सकिने क्रियाकलापका बारेमा छलफल भएको थियो ।
भेलाबाट नयाँ कार्यसमिति गठन गरेर पाल्पाको खेलकुद पत्रकार मञ्चलाई क्रियाशील गराउनुपर्नेमा सहभागीहरुले जोड दिएका थिए । उनीहरुले पाल्पामा क्रियाशील पत्रकारहरुलाई खेल समाचार लेखनका लागि क्षमता विकास गराउने, विभिन्न निकायसंगको समन्वय र सहकार्यमा खेलकुद प्रतियोगिता आयोजना गर्ने तथा प्रतिभा सम्मान गर्ने जस्ता कार्यक्रम गर्नेगरी योजना बनाएर अगाडि बढ्नु पर्ने सुझाव राखेका थिए ।
बैठकमा मञ्चमा सचिव देव पचभैयाले खेलकुद पत्रकार मञ्च विगतमा क्रियाशील भए पनि पछिल्ला वर्षमा सुस्ताएकाले आगामी दिनमा चलायमान बनाउन कार्यसमिति पूर्नरगठन ,सदस्यता विस्तार गरी वार्षिक कार्ययोजना तयार गरेर अघि बढ्नुपर्ने बताए । उनले पछिल्लो समयमा पाल्पाका दश स्थानीय तहका साथै जिल्लस्तरमा पनि विभिन्न खेलकुद प्रतियोगिताहरु भैरहेको भएपनि समाचारहरु नआउने समस्या रहेको बताउँदै मञ्चको क्रियाशीलताले आयोजक र पत्रकार बीच समन्वय र सहकार्यको वातावरण निर्माण हुने विश्वास व्यक्त गरे ।
मञ्चका कोषाध्यक्ष कृष्ण कार्कीले सुस्ताएको मञ्चका क्रियाकलाप भेला पछि पुरानै लयमा फर्कने बताए । उनले खेलकुद पत्रकारितामा रुचि राख्ने पत्रकारहरुका लागि समाचार लेखन तालिम सञ्चालन, प्रोत्साहनका लागि सम्मान, अतिरिक्त कार्यक्रम आयोजनालगायतका कार्यक्रम गर्दा पाल्पामा मञ्च छिटै स्थापित उनको भनाइ छ । उनले खेलकुद क्षेत्रको विकास र प्रचारका लागि स्थानीय तह, जिल्ला खेलकुद विकास समिति, खेल सम्वद्ध संघसंस्थासँग समन्वय गरेर अघि बढ्नु पर्नेमा जोड दिएका थिए ।
बैठकमा सहभागी खेल पत्रकाहरु मुक्ति प्रसाद न्यौपाने, सन्तोष बस्याल, दयाराज न्यौपाने, विजय बौडेल लगायतले खेलकुद पत्रकार मञ्चलाई क्रियाशील बनाएर लैजान सबै क्षेत्रसँग समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।