पाल्पा अस्पतालको सेवा सुधारको प्रयास

पाल्पा । नागरिकको स्वास्थ्य सेवामा सहज पहुँचमा रहेको पाल्पा अस्पतालको सेवा सुविधा सुधारका लागि नयाँ नेतृत्व सक्रियताका साथ अघि बढेको छ । केही दिन अघि मात्र लुम्बिनी प्रदेश सरकारबाट मनोनीत अस्पताल विकास समितिका अध्यक्ष गुराँस आत्रेयले चिकित्सक तथा अन्य सरोकारवालहरुसँगको समन्वयमा अस्पताल सुधारका कामहरु सुरु गरेका छन् । अस्पतालको अहिलेको अवस्थाको अध्ययन गरेर तत्काल सुधार गर्नुपर्ने र क्रमशः सेवा सुधारका लागि आवश्यक कामका लागि चरणबद्ध योजना तयार गरेर काम सुरु गर्ने तयारी गरिएको अध्यक्ष आत्रेयले जानकारी दिए ।

जनताको अन्तिम भरोसाको केन्द्र स्वास्थ्य संस्था भएकोले उपचारका लागि पाल्पा अस्पताल आउने विरामीलाई सकेसम्म अन्यन्त्र उपचारका लागि जान नपर्ने गरी सेवा उपलब्ध गराउने योजना सहित नयाँ अस्पताल विकास समिति अगाडि बढेको अध्यक्ष आत्रेयले बताए । उनका अनुसार अस्पताल सुधारको सम्भावना, अहिलेको अवस्था र सम्भावनाका विषयमा सुक्ष्म अध्ययन भैरहेको बताए । अध्यक्ष आत्रेयले तत्काल बिरामीलाई सहजताका लागि अति आवश्यक सेवा लागु गर्ने निर्णय अस्पताल विकास समितिको पहिलो बैठकबाट भएको जानकारी दिए ।

बैठकले अस्पतालमा उपचारका लागि आउने बिरामीका लागि निःशुल्क मास्क उपलब्ध गराउने भएको छ । यसका साथै टिकट काउण्टरमा धेरै समय उभिनु पर्दा समस्या हुनेभएकोले टोकन प्रणाली लागु गरिने भएको छ । यसका साथै टिकट काउण्टरको संख्या थप गर्ने र अस्पतालमा आउने महिला बालबालिकाका लागि छुट्टै, ज्येष्ठ नागरिक अपा·का लागि छुट्टै र अन्यका लागि छुट्टै टिकट काट्न काउण्टरको व्यवस्था गर्ने निर्णय भएको अध्यक्ष आत्रेयले बताए ।

सम्भव भएसम्म उपचार पाल्पा अस्पताल मै गर्ने नभएको खण्डमा अन्यन्त्र जानुपर्ने देखिएमा रेफरलका लागि धेरै समय कुर्न नपर्ने गरी सेवा प्रवाहको व्यवस्था गर्ने तयारी छ । बैठकले टाढाबाट आउने बिरामीहरुको प्रयोगशाला रिपोर्टका कारण सवारी साधन छुट्ने वा अन्य समस्या हुने भएकोले तीन चरणमा प्रयोगशालाको रिर्पोट दिने व्यवस्था मिलाइने छ । अस्पतालको फार्मेसीमा औषधि प्राप्त मात्रामा व्यवस्थापन गर्ने, एक्स रे र प्रयोगशाला सेवा २४ सै घण्टा सहज रुपमा उपलब्ध गराउने, दन्त र आखाँको उपचारको सेवा व्यवस्थित गर्ने, आवश्यक मात्रामा शौचालय निर्माण गर्ने, अहिले सञ्चालनमा रहेको ओपीडी र फार्मेसी सेवा भौतिक संरचनाका कारण समस्या भएकाले तत्काल आवश्यक व्यवस्थापन गरी सुविधायुक्त स्थानबाट सेवा प्रवाह गर्ने र आवश्यकताका आधारमा विकट क्षेत्रमा स्वास्थ्य शिविर गर्ने जस्ता निर्णय भएको अस्पताल विकास समिति सदस्य शसी श्रेष्ठले जानकारी दिइन् ।

निर्णय कार्यान्वयनका लागि आवश्यक कार्य हुने र केही दिनमै जनताले सरकारी अस्पतालको सेवा सरल र स्तरीय भएको महशुस गर्ने गरी काम हुने अध्यक्ष आत्रेयले दावी गरे । पाल्पा अस्पतालबाट सहज रुपमा उपचार र औषधि प्राप्त नहुँदा जिल्लावासीले धेरै दुःख पाउनु परेको गुनासो आउने गरेको छ । स्वास्थ्य बीमाबाट उपलब्ध हुने सेवा नपाइने बीमा मार्फत अन्य अस्पतालमा सेवा लिन जाँदा आवश्यक रेफरल लिनकै लागि मात्र पनि विरामीले सास्ती खेप्नु परेको अवस्थाको अन्त्य गर्ने गरी काम हुने अध्यक्ष आत्रेयले बताए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय