
पाल्पा । चुडाकर्म ब्रतवन्ध संघ तानसेन पाल्पाले बुद्व जयन्ती मनाउने तयारी थालेको छ । तानसेनमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बुद्व जयन्ती मूल समारोह समितिका सह संयोजक उत्पल कुमार बज्राचार्य यस बारे जानकारी गराएका हुन् ।
पाल्पामा रहेका ५ वटा बौद्व विहार आनन्द विहार, महाचौत्य विहार टक्सार, महाबोधी विहार लहरेपिपल, होलाङ्गदि बौद्व विहार र धर्म चक्र विहार रहेका छन । प्रत्येक वर्ष ५ वटा विहारले बुद्व जयन्तीको अवसरमा आलोपालो कार्यक्रम गर्दै आएको सह संयोजक बज्राचार्यले बताए ।
समितिका संयोजक एवम चुडाकर्म ब्रतबन्ध संघ पाल्पाका अध्यक्ष वीरेन्द्र काजी शाक्यले पाल्पा जिल्लाको तानसेन नगरपालिका ऐतिहासिक नगरपालिका रहेको बताए । उनले तानसेनमा बसोबास गर्ने नेवार समुदायले आफ्नो सस्कृतिसँग सम्बन्धित विभिन्न जात्रा, मेलाहरूको प्रदर्शनी तथा पुस्ता हस्तान्तरणलाई जोड दिदै आएको जानकारी गराए । सोही अनुरूप चुडाकर्म ब्रतबन्ध संघ तानसेन पाल्पाले बुद्व जयन्तीको अवसरमा सप्ताहाव्यापी कार्यक्रम आयोजना गरिएको बताए ।
संघले बैशाख १० गते बुद्वको मुर्ति अनावरण कार्यक्रम सम्पन्न गरेको बताए । वैशाख १८ गते विपश्यना ध्यान अभ्यास , सरसफाई कार्यक्रम, अपांग असहायहरूलाई खाद्यान्न वितरण, अन्तर माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता, वैशाख १९ गते धार्मिक कार्यक्रम, बुद्व पूजा गरिने, वैशाख २० गते १६ औँ भिक्षु बिमलानन्द महास्थविर स्मृति दिवस सहित धार्मिक कार्यक्रम, २१ गते धार्मिक कार्यक्रम, ऐतिहासिक फोटो प्रदर्शनी, १०८ दिप प्रज्वलन, बैशाख २२ गते प्रभात फेरी र बैशाख २३ गते दृष्टिविहिन विद्यार्थीहरूलाई जलपान तथा भोजन दान दमकडा नमुना माध्यमिक विद्यालयमा गरी बुद्व जयन्ती भव्यताका साथ मनाउने तयारी भएको आयोजकले जनाएको छ ।