रामपुरमा गिद्ध संरक्षण सम्बन्धी गोष्ठी

सिर्जना घिमिरे

स्थानीय सरोकारवालाहरु बीच गिद्ध संरक्षणका निम्ति सिनोमा विषको प्रयोगमा रोक सम्बन्धी गोष्ठी रामपुर ८ एक्लेटारमा सम्पन्न भएको छ । नेपाल पक्षी संरक्षण संघ काठमाडौंको आयोजना, वन डिभिजन कार्यालय पाल्पा र खैरेनी सामुदायिक वन उपभोक्ता समूह रामपुरको समन्वय तथा व्यवस्थापनमा गोष्ठि भएको हो ।

कार्यक्रममा रामपुर ८ का वडाध्यक्ष दिनेश आचार्यले प्रकृतिको कुचिकारका रुपमा लिइने गिद्धबाट मानव जीवनमा धेरै फाइदा हुने बताए । उनले वडा कार्यालयबाट गिद्ध संरक्षणका लागि आवश्यक बासस्थान र आहारका लागि समन्वय गरेर कार्यक्रम अगाडि बढाउने बताए ।

नेपाल पक्षी संरक्षण संघका परियोजना अधिकृत भुपाल नेपालीले नेपालमा पाइने गिद्धको प्रकार, उनीहरुको अवस्था, गिद्ध सुरक्षित क्षेत्रको अवधारणा, गिद्ध संरक्षणको उपलब्धी बारे सहजीकरण गरेका थिए । कार्यक्रममा रामपुर नगरगौशाला संरक्षण समिति अध्यक्ष हुमनाथ न्यौपानेले गौशालामा मरेका गाईको व्यवस्थापन र गिद्धको आहारको प्रबन्ध गर्न समन्वय गर्न तयार रहेको जानकारी दिए ।

गोष्ठिमा गंगा माध्यमिक विद्यालयका प्रद्यानाध्यापक देवराज देवकोटाले गिद्ध संरक्षणका विषयमा सबै पक्ष गम्भीर हुनुपर्ने बताए । कार्यक्रममा अध्यक्ष छाँयाचन्द्र पंगेनीले गिद्ध संरक्षण, पर्यटन विकास र खैरेनी सामुदायिक वनको संरक्षणका निम्ती स्थानीय सरकारले सहयोग नगरेको गुनासो गरे । पाल्पा जिल्लाभरमै गिद्ध पाइने महत्वपूर्ण खैरेनी सामुदायिक वनक्षेत्रमा अहिले २८ वटा गिद्धको गुँड रहेको जानकारी गराइएको थियो ।

गिद्ध संरक्षणका लागि कुनै पहल नभएको र यसका लागि सरकारी र स्थानीय तवरबाट पहल हुनसके लोप हुँदै गएका गिद्धको संरक्षण हुने कार्यक्रमका सहभागीहरुले बताए । गिद्धले मरेको सिनो खाएर प्रकृति सफा राख्ने भएकाले मानव स्वास्थ्यका दृष्टिकोणले पनि यसको संरक्षण जरुरी रहेको उनीहरुको भनाइ छ ।

चुच्चो, नाङ्गो तथा लामो गर्धन देख्दा घिनलाग्दो र भद्दा जिउडाल रहे पनि यो पर्यावरणका लागि ठूलै भूमिका भएको पक्षी हो । यसको ठूलो धार्मिक महत्व पनि छ । गिद्धले जनावरको सिनो र फालेको मासुजन्य फोहर पदार्थ खाएर वातावरणलाई प्रदूषणमुक्त, दुर्गन्धमुक्त तथा रोगमुक्त बनाउन भूमिका खेलेको पक्षी विज्ञहरुको भनाइ छ । खैरेनी सामुदायिक वन उपभोक्ता समूह अध्यक्ष पंगेनिको अध्यक्षतामा भएको गोष्ठीको सञ्चालन हिरालाल विश्वकर्माले गरेका थिए ।

सम्बन्धित खवर