तानसेनका विद्यालयमा ६ सय ४० विद्यार्थी फर्जि

 विजयकुमार बौडेल

पाल्पा । गत शैक्षिक सत्र २०७९ मा तानसेन नगरपालिका भित्रका सामुदायिक विद्यालयमा ६ सय ४० विद्यार्थी फर्जि रुपमा भर्ना भएको तथ्य खुलेको छ । विद्यालयमा विद्यार्थी संख्या बढी देखाएर सेवा सुविधा लिनका लागि प्रधानाध्यापकहरुले फर्जि विद्यार्थी संख्या पेश गरेको पाइएको हो । जसबाट विद्यालयहरुले दिवा खाजाका नाममा २४ लाख ५४ हजार ३ सय रुपैयाँ अनियमितता गरेको भेटिएको छ । यस बाहेक विद्यार्थी पोशाक, छात्रवृत्तिका नाममा पनि आर्थिक अपचलन भएको भेटिएको नगरपालिकाको दावी छ । अहिले विद्यालयस्तरमा अनुगमन र नियमनमा कडाई गरेपछि फर्जि विद्यार्थी विवरणका विषयको कुरा बाहिर आएको हो । तथ्यगत रुपमा विद्यार्थी संख्या एकिन भएपछि नगरपालिकाले केही विद्यालयहरु समायोजन, कक्षा कटौती र एकीकरण समेत गरेको छ ।

शैक्षिक सत्र २०७९ को सुरुमा भर्ना भएका विद्यार्थी वार्षिक परीक्षाका समयमा उपस्थित नभएपछि फर्जि भर्ना गरेको थाहा भएको हो । तानसेन नगरपालिकाले ५३ वटा सामुदायिक विद्यालयमा गरेको अनुगमनको क्रममा भर्ना भएका विद्यार्थीहरुमध्ये ६ सय ४० विद्यार्थी वार्षिक परीक्षामा अनुपस्थित भएको खुलेको हो । गत शैक्षिक सत्रमा तानसेन नगरपालिकाका सामुदायिक विद्यालयमा ८ हजार ७ सय ६८ विद्यार्थी भर्ना भएका थिए । शैक्षिक सत्रको अन्त्यको परीक्षामा भने ८ हजार १ सय २८ विद्यार्थी मात्र सहभागी भएका हुन् ।

गत वर्ष बाल विकास केन्द्रमा एक हजार ८१ जना विद्यार्थी भर्ना भएका थिए भने ९ सय ४३ जना मात्र वार्षिक परीक्षामा सहभागी भए । त्यस्तै कक्षा १ मा ६ सय ६२ विद्यार्थी भर्ना भएका मध्ये ५ सय २९ विद्यार्थी परीक्षामा सहभागी भए । कक्षा २ का ५ सय ५५ विद्यार्थी मध्ये ४ सय ६५, कक्षा ३ का ५ सय ७६ विद्यार्थी मध्ये ४ सय ८७, कक्षा ४ का ५ सय ५७ विद्यार्थी मध्ये ४ सय ७७, कक्षा ५ का ५ सय ६६ विद्यार्थी मध्ये ५ सय १८ विद्यार्थी मात्र वार्षिक परीक्षामा सहभागी भएको शिक्षा शाखाले जनाएको छ ।

त्यस्तै कक्षा ६ का ५ सय ९५ विद्यार्थी मध्ये ५ सय ९०, कक्षा ७ का ५ सय ९८ विद्यार्थी मध्ये ५ सय ७५, कक्षा ८ का ६ सय २२ विद्यार्थी मध्ये ५ सय ९८ विद्यार्थी वार्षिक परीक्षामा सहभागी भए । कक्षा ९, १०, ११ र १२ मा भने सुरुवाती चरणमा भर्ना भएका विद्यार्थी संख्या भन्दा परीक्षा दिने विद्यार्थीको संख्या बढेको छ । शैक्षिक सत्रको सुरुवातमा कक्षा ९ मा ६ सय ५९ जना भर्ना भएका छन् भने ७ सय जना विद्यार्थी वार्षिक परीक्षामा सहभागी भएका छन् । त्यस्तै कक्षा १० मा पनि ७ सय १६ जना विद्यार्थी सुरुवाती चरणमा भर्ना भएर वार्षिक परीक्षा दिने समयसम्म ७ सय ५३ विद्यार्थी पुगेका छन् । कक्षा ११ मा सुरुवाती चरणमा ७ सय ३८ विद्यार्थी भर्ना भएर वार्षिक परीक्षा दिने समय सम्म ७ सय ९६ र कक्षा कक्षा १२ मा ७ सय ५५ विद्यार्थी भर्ना भएर वार्षिक परीक्षा दिने समय सम्म ७ सय ९५ विद्यार्थी पुगेका छन् ।

विद्यालयहरुले विद्यार्थीको तथ्यांक अभिलेखिकरण भाद्र महिना तिर गर्ने तर परीक्षा दिने बेलामा संस्थागत विद्यालयबाट सामुदायिक विद्यालयमा भर्ना हुन आउने भएकाले सुरुवाती चरणमा भर्ना भएका विद्यार्थी संख्या भन्दा वार्षिक परीक्षा दिने समयमा विद्यार्थी संख्या बढी हुने गरेको तानसेन नगरपालिकाकी शिक्षा शाखा अधिकृत कोपिला न्यौपानेले बताइन् । उनका अनुसार अन्तिम समयमा आउने विद्यार्थी भर्ना गर्दिन भन्न नमिल्ने भएकाले कक्षा ९, १०, ११ र १२ मा सामुदायिक विद्यालयको मान्यता राम्रो भएकाले संस्थागत विद्यालयबाट सामुदायिक विद्यालयमा भर्ना हुन आउने क्रम बढेको हो ।

तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले विद्यालयहरुले विद्यार्थी भर्ना संख्या नै ढाँटेको पाइएको बताए । उनले विद्यालय बचाइ राख्न र अन्य सुविधाहरु प्राप्त गर्न विद्यालयमा विद्यार्थी संख्या फर्जि रुपमा भरेर विवरण पेश गर्ने गरेको बताए । यसबाट नगर सरकारको लाखौ रुपैयाँ खर्च भएको बताए । प्रवक्ता कार्कीका अनुसार अहिले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि नगर सरकार तत्पर रहेको बताउँदै विद्यालयको अनुगमन र नियमनलाई प्राथमिकताका साथ अगाडि बढाइएको जानकारी दिए ।

सम्बन्धित खवर