पाल्पा । माथागढी गाउँपालिका २ नं. वडा कार्यालय रुप्सेको चालु आर्थिक वर्षका लागि छनोट भएका अधिकांश योजना तथा कार्यक्रम सम्पन्न गर्ने गरी काम गरेको माथागढी २ रुप्से का वडाध्यक्ष बोमबहादुर ठाडा मगरले बताए । उनका अनुसार यस वर्ष वडास्तर र गाउँपालिकाका गरी कुल ३९ वटा योजना तथा कार्यक्रम रहेको बताए । जनताको माग र आवश्यकता बढी हुने बजेट कम प्राप्त हुने हुँदा सबैको माग सम्बोधन गर्नका लागि न्यूनतम ५० हजारदेखि अधिकतम ८ लाख सम्मका योजना यो आर्थिक वर्षमा सञ्चालन गरिएको अध्यक्ष ठाडा मगरको भनाइ छ ।
छनोट भएका योजना मध्ये अहिलेसम्म ३५ वटा योजनाको सम्झौता भइसकेको छ । ४ वटा योजनाको सम्झौता हुने चरणमा रहेको वडा कार्यालयले जनाएको छ । अहिलेसम्म २० वटा योजनाको काम सम्पन्न भएर आवश्यक प्रक्रिया पूरा गरी फरफारक समेत भएको छ । अन्य १५ वटा योजनाको काम अन्तिम चरणमा रहेको वडाध्यक्ष ठाडा मगरले बताए ।
यसैगरी वडामा प्रदेश अन्तर्गतका ६ वटा योजना सञ्चालनमा छन् । पाँच लाख देखि २० लाख सम्मका योजनाको आवश्यक प्रक्रिया पूरा गरेर काम भैरहेको वडा कार्यालयले जनाएको छ । यस वर्ष टेण्डर, उपभोक्ता समिति र दररेट माग गरेर काम सुरु भएका योजनामा २० लाखको खहरे भिमाद मोटरबाटो स्तरोन्नति, ५ लाखको खहरे हाटबजार क्षेत्रमा बाल उद्यानका निर्माण, ५ लाखको धुमीडाँडामा खेलमैदान निर्माण, ५ लाखको दुर्गाकालिका मन्दिर निर्माण, १० लाखको दद्र्रा बसाखरी धुमीडाँडा सडक स्तरोन्नति र देउराली बोक्सादी मोटरबाटो स्तरोन्नतीको काम भैरहेको वडा कार्यालयले जनाएको छ । जनताको आवश्यकता र माग अनुसार टोलबाट प्राप्त भएका योजना तथा कार्यक्रमहरु छनोट हुने गरेको भएपनि कार्यान्वयनमा केही समस्या रहेको वडाध्यक्ष ठाडा मगरले बताए । उनले योजनाका काम गर्नका लागि उपभोक्तालाई अघि सारेर गाउँको पैसा र गाउँकै रोजगारी भन्ने गरेपनि लागत सहभागिताका नाममा १० प्रतिशत बढी काम गर्नुपर्दा जनता खुसी नभएको बताए ।
विकास आवश्यक भएपछि उपभोक्ता बाध्य भएर काम गरिरहेको बताउँदै जनतामा चेतना जगाउने र लागत सहभागिता हटाउनुपर्ने वडाध्यक्ष ठाडा मगरको भनाइ रहेको छ । उपभोक्ता समिति मार्फत काम हुने प्राविधिकहरुले कामको मुल्यांकन गर्दा कम आउने समस्या देखिएकोले यस विषयमा समयमै उपभोक्तालाई जानकारी गराउने र प्राविधिक र जनप्रतिनिधिहरु बीच समन्वय र सहजीकरणमा काम हुने अवस्था निर्माण भए विकासका काममा जनताको उत्साह थप हुने वडाध्यक्ष ठाडा मगरको विश्वास छ । सञ्चालन भएका योजनाको अनुगमन ५ लाख भन्दा कम बजेटका योजनाको वडाबाटै हुने गरेको छ । यस्तै ५ लाख भन्दा माथीको योजनाको अनुगमन गाउँपालिका स्तरीय अनुगमन टोलीले गर्ने गरेको छ । गाउँपालिकामा अहिले प्राविधिक भएकाले योजनाको नियमित अनुगमन, मुल्यांकन र फरफारकका लागि समस्या नरहेको वडा कार्यालयले जनाएको छ ।
यस वर्षको लक्षित वर्ग अन्तर्गतका कार्यक्रम सम्बन्धित समितिहरु मार्फत काम भएको छ । जनजाति, दलित, ज्येष्ठ नागरिक, महिला, युवा क्षेत्रको बजेट समितिहरुले नै कार्यक्रम गर्ने गरिएको छ । वडामा अहिले सडक पूर्वाधारका विषयका केही काम भएपनि खानेपानीको समस्या रहेको वडाध्यक्ष ठाडा मगरले बताए । उनका अनुसार वडाको खानेपानी समस्या समाधानका लागि विभिन्न कार्यक्रम तथा योजनाहरु सञ्चालन भैरहेको बताए ।
अहिले खानेपानी समस्या हटाउनका लागि वास नेपाल र विभिन्न्न खानेपानी उपभोक्ता समिति मार्फत काम भएको छ । जसमा प्रदेश सरकार मातहतका निकायले विगतका वर्षदेखि नै काम गर्दै आएको वडाध्यक्ष ठाडा मगरले जानकारी दिए । सञ्चालनमा रहेका योजनाहरु पूरा हुँदा केही हदसम्म खानेपानीको समस्या समाधान हुने उनको विश्वास छ ।