कृषकलाई बीउ र कृषि सामग्री वितरण

पाल्पा । बगनासकाली गाउँपालिकाले कृषककालाई उन्नत जातको बीउ र कृषि सामग्री वितरण गरेको छ । गाउँपालिकाले भवानी महिला कृषक समूहमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पकेट विकास कार्यक्रम (अदुवा,बेसार पकेट) अन्तरगत बीउ , सामग्री वितरण गरेको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको पकेट विकास कार्यक्रम मार्फत ५० प्रतिशत अनुदानमा कार्यक्रम सञ्चालन गरेको हो । जसबाट ६ हजार ५ सय केजी अदुवा, ५ हजार केजी बेसार, दुईवटा हात्ते ट्याक्टर, २ वटा मिल, १० वटा स्पेयर, १० वटा तराजु, ४० वटा क्यारेट, ६० वटा त्रिपाल,४० वटा कोदालो, ४० वटा ड्रम वितरण गरिएको कृषि प्राविधिक निशा मरासिनीले जानकारी दिइन् । पकेट विकास कार्यक्रम अन्तरगत २५ जना कृषकलाई सामग्री र बीउ वितरण गरिएको हो ।

बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती दर्लामी चिदीले कृषिमा व्यवसायिकता बढाउन र आर्थिक आयआर्जन गर्न उन्नत जातको बीउ र आधुनिक कृषि औजार वितरण गरिएको बताइन् । उनले प्रविधिको प्रयोगले कृषकलाई उत्पादन बढाउन सहज हुने विश्वास व्यक्त गरिन । पछिल्लो समय कृषकले उत्पादन गरेको कृषि उपज बादरलगायत वन्यजन्तुले क्षती गर्ने गरेकोले गाउँपालिकाले बेसार र अदुवा उत्पादनमा कृषकलाई प्रोत्साहन गरिएको अध्यक्ष चिदीले बताइन् ।

गाउँपलिकाका प्रवक्ता टीका थापाले कृषकको खेतबारीमा लगाएको खेती बाँदरले सखाप पार्ने भएकाले वैकल्पिक खेती गर्न बीउ वितरण गरिएको बताए ।

सम्बन्धित खवर