विजयकुमार बौडेल
पाल्पा (करुवा) । लामो समय विद्यार्थी संख्या ढाँटेर बचाई राखेका तानसेन नगरपालिका भित्रका १४ वटा विद्यालय केही समायोजन, केहीको कक्षा कटौती र एकीकरण गरिएको छ । तानसेन नगरपालिकाले विद्यार्थीको संख्या कम भएका विद्यालयहरुको कक्षा कटौती, समायोजन र एकीकरण गरेको हो ।
बैशाख ८ गते बसेको तानसेन नगर शिक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो । नगरपालिकाले रुरुक्षेत्र प्राथमिक विद्यालय तानसेन १४ लाई अमर प्राथमिक विद्यालयमा समायोजन गरेको छ । जसमा मातृ विद्यालय अमर प्राथमिक विद्यालय हुने गरी रुरुक्षेत्र प्राथमिक विद्यालयमा बालकक्षा सञ्चालन गरिने छ । यस्तै भैरव प्राथमिक विद्यालय तानसेन ५ लक्ष्मी माध्यमिक विद्यालयमा समायोजन गरिएको छ । कक्षा ७ सम्म अध्यापन हुने तानसेन १२ को नामीकुवा आधारभूत विद्यालयको कक्षा कटौती भई कक्षा ५ सम्म कायम गरिएको छ । कक्षा ५ सम्म अध्यापन हुँदै आएको तानसेन ५ को जनहित प्राथमिक विद्यालयको कक्षा कटौती गरी कक्षा ३ सम्म अध्यापन हुने बनाइएको छ । कक्षा ३ सम्म अध्यापन हुँदै आएको तानसेन ५ कै बालकल्याण प्राथमिक विद्यालयको कक्षा कटौती भई बाल विकास केन्द्र र कक्षा १ मा मात्र सीमित भएको छ । कक्षा ८ सम्म अध्यापन हुँदै आएको तानसेन ५ कै जन आधारभूत विद्यालय कक्षा ६ सम्म कायम गरिएको छ ।
तानसेन ११ को चण्डिका प्राथमिक विद्यालयलाई कक्षा १ सम्म कायम गरिएको छ । यसभन्दा अघि यो विद्यालय कक्षा ५ सम्म सञ्चालनमा रहेको थियो । कक्षा ३ सम्म अध्यापन हुँदै आएको सरस्वतीनाथ प्राथमिक विद्यालय कक्षा १ सम्म कायम भएको छ । कक्षा ८ सम्म अध्यापन हुँदै आएको तानसेन १४ को अमर भगवती आधारभूत विद्यालय कक्षा ५ सम्म मात्र कायम गरिएको छ । कक्षा ५ सम्म अध्यापन हुँदै आएका तानसेन ९ को बालकृष्ण प्राथमिक विद्यालय र तानसेन १४ का कृष्ण प्राथमिक विद्यालय तथा अमर प्राथमिक विद्यालय बाल विकास केन्द्र देखि कक्षा १ सम्म मात्र कायम भएका छन् । तानसेन १३ को ज्ञानोदय प्राथमिक विद्यालय कक्षा १ सम्म मात्र कायम गरिएको छ । यसभन्दा अघि यो विद्यालय कक्षा ५ सम्म सञ्चालनमा थियो ।
तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले विद्यार्थी निकै कम भएका विद्यालयहरुलाई आवश्यकताका आधारमा समायोजन, कक्षा कटौती र एकीकरण गरिएको बताए । प्रवक्ता कार्कीले विद्यार्थी नहुँने विद्यालयहरुमा राज्यको धेरै ठुलो लगानी खेर गइरहेको भन्दै यो निर्णय गरिएको बताए । उनले कमजोर भौतिक पूर्वाधार र न्यून शैक्षिक उपलब्धीका बीचबाट सेवा दिइरहेका विद्यालयलाई गाभेर सुविधा सम्पन्न र गुणस्तरीय शैक्षिक संस्था निर्माण गर्नतर्फ नगरपालिकाको ध्यान दिएको बताए ।
तानसेन नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गा बहादुर थापाले धेरै विद्यालयहरु एकीकरण नगरी विद्यार्थी संख्याका आधारमा कक्षा कटौती गरिएको बताए । थापाले राज्यको व्ययभार कम हुनुका साथै यो निर्णयले तानसेन नगरपालिकाको शिक्षा क्षेत्र थप व्यवस्थित हुने विश्वास व्यक्त गरे ।
नगरपालिकाले विद्यालय समायोजन कार्यविधि बनाएर अनुगमन र अध्ययन प्रतिवेदनका आधारमा काम गरेको हो । विद्यालयको नियमित अनुगमन नहुँदा कम विद्यार्थी संख्या भएका विद्यालयका प्रध्यानाध्यापकहरुले धेरै विद्यार्थी संख्या रजिष्टरमा देखाएर दिवा खाजा तथा अन्य शीर्षकमा खर्च बढाउदा नगर सरकारलाई ठूलो रकम घाटा लागेको थियो । यो निर्णयसंगै शिक्षा क्षेत्रमा भएको अतिरिक्त खर्चमा नियमन हुने नगरपालिकाको दावी छ ।