
पाल्पा । माथागढी गाउँपालिका वडा नंं ३ कसेनी सराई वडा कार्यालयले चालु आर्थिक वर्षका सबैखाले योजना सम्झौता सकेको जनाएको छ । चालु आर्थिक वर्षमा छनोट भएका संघ, प्रदेश, गाउँपालिका स्तरीय र वडास्तरका गरी प्राप्त करिब ६३ वटा योजनामा दुई योजना बाहेक अन्य कार्यान्वयनको अन्तिम चरणमा रहेका छन् । केही योजनाको काम सम्झौता भएर उपभोक्ता र ठेकेदार मार्फत काम भैरहेका छन् भने सीमित योजना सम्झौता हुने अवस्थामा रहेको वडा कार्यालयले जनाएको छ । अहिलेसम्म १५ योजना फरफारक भएका छन् भने अधिकांश योजनाको ८० प्रतिशत भन्दा बढी काम भएको छ ।
उपभोक्ताको माग र आवश्यकतालाई उच्च प्राथमिकतामा राखेर योजना संकलन र बजेट विनियोजन गर्ने गरेको वडा कार्यालयले योजना तथा कार्यक्रम सञ्चालनका लागि उपभोक्ताहरुको सक्रियताले सहज भएको वडाध्यक्ष तेजबहादुर घर्ती मगरले बताए । उनका अनुसार यस आर्थिक वर्षमा सबैभन्दा ठूलो ५० लाखको एक्लेबर सिकारकोट ओलेस सिंल·ी सरापकोट हुँदै सराई आउने रिङरोड योजना रहेको छ । कसेनी स्वस्थ्य चौकी भवन टेण्डर भएर काम सुरु भएको छ । यस अलवा विद्यालय, कुवा मर्मत, सडक स्तरोन्नति कृषि, स्वास्थ्य, शिक्षा, सडक पूर्वाधार, खोनेपानी, सिंचाई, भौतिक संरचना निर्माणका साथै मानवीय तथा सामाजिक विकासका क्षेत्रमा वडा कार्यालयले प्राथमिकताका साथ काम गरेको वडाध्यक्ष घर्ती मगरको भनाइ छ । यस वडामा विकासको काममा जनताको सहभागिता उत्साहजनक रहेको छ । ग्रामीण क्षेत्रमा अझ बढी छ भने बजार क्षेत्रमा पनि योजना अनुसारको क्रियाशीलता रहेको वडा कार्यालयले जनाएको छ । योजना अनुसार उपभोक्ताले करिव १० देखि १५ प्रतिशतसम्म लागत साझेदारी गरेर योजना तथा कार्यक्रम सम्पन्न गरेका छन् । जसले जनप्रतिनिधिहरुलाई समेत काम गर्न उत्साह थपेको वडाध्यक्ष घर्ती मगरले बताए ।
वडा कार्यालयमार्फत उपभोक्ताले गर्ने योजना तथा कार्यक्रम सानो बजेटको हुने भएकोले योजना सञ्चालनको सुरुवातमा पेश्की नपाउने, दररेट कम, उपभोक्ता समितिको ज्ञानको अभाव, मुल्यांकनमा कैफियत जस्ता विषयले गर्दा केही असहज हुने गरेको वडाध्यक्ष घर्ती मगर बताउँछन्। उनले कर्मचारी, उपभोक्ता र जनप्रतिनिधिहरुको संयुक्त छलफल र सहजीकरण आवश्यक मात्रामा हुन नसक्दा समस्या देखिएकोले यसबारे गाउँपालिका गम्भीर भएर अगाडि बढ्नुपर्ने देखिएको उनको भनाइ छ ।
यसका साथै यस वर्षको लक्षित वर्ग कार्यक्रम अन्तरगत महिला, आदिवासी जनजातिहरुको सहभागितामा माइन्यूट लेखन, प्रस्तावना, प्रतिवेदन लेखन, कार्यक्रम सञ्चालन सम्बन्धी क्षमता अभिवृद्धि तालिम सञ्चालन भइरहेको वडाध्यक्ष घर्ती मगरले बताए । उनले यस अलवा तीज गीत प्रतियोगिता, विभिन्न रचनात्मक खेल, फरक क्षमता भएका व्यक्ति, विपन्न, दलित, सामाजिक सुरक्षा भत्ता नपाउने ज्येष्ठ नागरिकका लागि समेत न्यानो कपडा (कम्मल) वितरण जस्ता काम पनि गरिएको बताए ।
युवाहरुका लागि खेलकुद सामग्री खरिद गरी वितरण गरिने योजना रहेको वडा कार्यालयले जनाएको छ । वडाभित्र रहेका ७ विद्यालयहरुमध्ये अहिले ५ वटा विद्यालयललाई प्रविधिमैत्री बनाउनका लागि ल्यापटप र प्रिन्टर उपलब्ध गराउने गरी कार्यक्रम अगाडि बढाइएको छ ।
यसका साथै वडामा रहेका टोल विकास समितिहरुका टोल संयोजकहरुलाई प्रोत्साहन कार्यक्रम गर्नुका साथै शैक्षिक सामग्री वितरण गर्ने योजना रहेको वडाध्यक्ष घर्ती मगरले बताए । योजनाको गुणस्तर र समयमा सम्पन्न गर्नका लागि बजेट र मापदण्ड अनुसार अनुगमनको काम हुने गरेको छ । समयमा हुने अनुगमनले ज्ञानका अभावमा हुने गल्ती तत्काल सच्याउन सकिने भएकोले योजना तथा कार्यक्रमको प्रभावकारिता बढ्दो रहेको वडा कार्यालयले जनाएको छ ।