माथागढी १ नं. वडाका अधिकांश योजना अन्तिम चरणमा

पाल्पा । माथागढी गाउँपालिका वडा १ चिदीपानीको चालु आर्थिक वर्षका अधिकांश योजनाहरु फरफारकको अन्तिम अवस्थामा रहेको वडा कार्यालयले जनाएको छ ।

यस आर्थिक वर्षमा वडास्तरका भौतिक निर्माण योजनातर्फ २२ वटा, लक्षित वर्गसहितका कार्यक्रम ५ वटा र प्रदेश, संघीय गरी १० वटा गरी कूल ३७ वटा ठूला साना योजना रहेको वडाध्यक्ष राजकुमार पन्थीले जानकारी दिए । सोही अनुसार विनियोजित बजेटबाट योजना तथा कार्यक्रमहरुको काम तीव्र रुपमा भैरहेको उनले बताए ।

अहिलेसम्म करिव करिव ९५ प्रतिशत काम सकिएको छ । ३७ वटा योजना तथा कार्यक्रम मध्य गाउँपोखरा महिला भवन मर्मतको लागि रहेको २ लाख, थुम्का मन्दिर निर्माणका लागि रहेको ३ लाखको योजना सम्झौताको चरणमा रहेको र यी योजना बाहेक अन्य योजना सम्झौता भएर काम भएको वडाध्यक्ष पन्थीले बताए । वडामा योजना तथा कार्यक्रम गर्नका लागि उपभोक्ता समितिहरुको उत्साहजनक सहभागिता रहेको छ । सोही अनुसार सम्झौता भएका योजनाहरु अधिकांस फरफारको चरणमा रहेका छन् । ठूला योजनामध्ये वडा कार्यालय भवन चिदीपानीको १ करोड १७ लाख बजेटमा टेन्डर प्रकृया सकिएको छ । यस्तै ज्ञानोदय प्राथमिक विद्यालयको लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम मार्फत ५० लाख बजेटको टेण्डर प्रकृया पनि सकेर काम सुरु हुने चरणमा रहेको वडा कार्यालयले जनाएको छ ।

यस आर्थिक वर्षमा विनियोजन गरिएको लक्षित वर्गका महिला, जनजाति, युवा, ज्येष्ठ नागरिक लगायतको कार्यक्रम सकिएको छ । जसमा ९ लाख ५० हजार रुपैयाँ बजेट रहेको थियो । माग र आवश्यकताका आधारमा विनियोजन गरिएको बजेटबाट समयमै कार्यक्रम गरी सम्पन्न भएको हो । माथागढी गाउँपालिका भित्रका वडाहरुमा जनताको विकासमा सहभागिता उत्साहजनक रहेको छ । उपभोक्ता समितिले लागत सहभागितासहित विकासका काममा सक्रियता देखाएका छन् । पछिल्लो पटक वडाका जनप्रतिनिधिको सहजीकरण र क्रियाशीलताले पनि जनतामा थप हौसला थपेको वडाध्यक्ष पन्थीले बताए ।

विकास योजनाको दीगोपना र प्रभावकारिताका लागि अनुगमनलाई वडा कार्यालयले प्राथमिकताका साथ अगाडि बढाएको छ । वडामा सञ्चालन भएका ५ लाख सम्मका योजनाको वडास्तरीय अनुगमन टोलीले अनुगमन गर्ने गरेको छ । यसका साथै ५ लाख माथिका योजनाहरुको गाउँपालिका स्तरीय अनुगमन टोलीले गर्ने गरेको छ । वडामा अहिले एक वडा एक प्रविधि भएका कारण पनि योजनाको काम गर्न सहज भएको छ । नागरिक, जनप्रतिनिधिको उत्साह भएपनि भूगोल र प्रशासनिक प्रकृयामा वडाका नागरिकलाई केही कठिनाइ हुने गरेको वडाध्यक्ष पन्थीले जनाए । उनले प्रशासनिक हिसाबले वडामा कम अधिकार हुने हुँदा गाउँपालिका केन्द्रित हुनुपर्ने अवस्था भएकोले वडाको अधिकारका विषयमा साँेच्नुपर्ने बताए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय