पाल्पा । बढ्दो वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउनका लागि स्थानीय तह र जनप्रतिनिधिहरुको भूमिका विषयमा छलफल गरिएको छ ।
लुम्बिनी प्रदेश उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयको आयोजनामा छलफलमा प्रदेश सभा सदस्य, गाउँपालिका अध्यक्ष उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत पत्रकारलगायतको उपस्थिति रहको थियो ।
कार्यक्रममा सामी परियोजनाका पञ्चराम चौधरीले नेपालको वैदेशिक रोजगारीको अवस्था, सम्भावना र चुनौतीका साथै स्थानीय सरकारले गर्नुपर्ने आधारभूत विषयमा प्रस्तुति राखेका थिए । यस्तै गरी मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी राजेन्द्रप्रसाद पन्थीले बन्दै गरेको श्रम तथा रोजगार सम्बन्धी नीति २०८० को मस्यौदा बारे जानकारी गराए ।
उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्री जानकी प्रसाद यादवले स्वदेशमा रोजगारीको सम्भवना कमजोर भएकोले दैनिक रुपमा विदेश जानेको संख्या बढेको बताए । उनले विदेश जाने सोँच बनाएका युवाहरुलाई विदेश जानुभन्दा अगाडि, विदेशमा रहदाँ र फर्के पछिको अवस्थामा अपनाउनुपर्ने सावधानीका विषयमा सूचना दिनुपर्ने बताए । मन्त्री यादवले प्रदेश सरकारले विदेश जानेहरुको संख्यामा कमी गर्न सीपमूलक तालिम दिएर स्वरोजगार सिर्जना गर्ने तर्फ ध्यान दिएको बताए । उनले यस अलवा वैदेशिक रोजगारलाई रहर वा बाध्यताले आत्मसाथ गर्नेहरुलाई सुरक्षित र मर्यादिन बनाउन नीति तयार भैरहेको जानकारी दिए ।
पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य वीरबहादुर रानाले वैदेशिक रोजगारलाई व्यवस्थित गर्न बनेका कानुन राम्रो भएपनि कार्यान्वयन पक्ष कमजोर रहेको बताए । उनले ठूलो संर्घषबाट व्यवस्था परिर्वतन गरेको भएपनि अवस्थामा परिर्वतन नहुँदा वैदेशिक रोजगारदेखि अन्य सवालहरुका समस्या यथावत रहेको बताए ।
प्रदेशसभा सदस्य खेमबहादुर सारुले नेपालीहरु विदेशमा जोखिमयुक्त, फोहोर र गाह्रो काममा जानुपरेको बताए । उनले सीप विकासका कार्यक्रम गरेर स्वदेशमै बस्ने वातावरण तीन तहकै सरकारहरुको समन्वयमा हुनुपर्नेमा जोड दिए । सूचनाका लागि सरकारले विद्यालय तहको पाठ्यक्रममा नै सुरक्षित वैदेशिक रोजगारको विषयमा समावश गरेर अध्यापन गराउनुपर्ने प्रदेश सभा सदस्य सारुको भनाइ थियो ।
प्रदेश सभा सदस्य इन्द्रा गहतराजले विदेश गएका युवाहरुले पठाएको रेमिटेन्सले मूलुकलाई ठूलो योगदान गरेको बताइन् । उनले कुल ग्राहस्थ उत्पादनमा सहयोग गर्ने वैदेशिक रोजगारीलाई समय अनुसार मर्यादित र सुरक्षित बनाउनु सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताइन् । जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले विदेश जाने जनशक्तिलाई नेपालमै काम गर्ने वातावरण तयार गर्न स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने बताए । उनले योजना निर्माण कार्यन्वयनमाजोड दिनुपर्ने
बताउँदै सही समयमा सही सूचना प्रवाह गर्न सके विदेशी भूमीका युवाले दुःख पाउन नपर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले राम्रो आम्दानीको स्रोत वैदेशिक रोजगार भएको बताए । उनले आन्तरिक रोजगार वृद्धिमा स्थानीय सरकार गम्भीर हुनुपर्नेमा जोड दिए । प्रमुख जिल्ला अधिकारी बास्तोलाले वैदेशिक रोजगारमा जानेहरुको संख्यामा कमी आएपनि समाप्त नहुँने बताउँदै रहर वा बाध्यतामा विदेश जानेहरुका लागि समयमै सूचना दिन सरकार तत्पर हुनुपर्ने बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख काशिका गैरे, बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदी, माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदी, तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठलगायतले श्रम उत्पादन र बजारीकरणलाई ध्यान दिन सके केही हदसम्म विदेश पलायन हुने समस्या न्यूनीकरण गर्न सकिने बताए । उनीहरुले अधिकांश खेतबारी बाँझो हुने, केही सीमित क्षेत्रमा भएको खेती वन्यजन्तुले मास्ने, उद्योग कलकारखानाका लागि आवश्यक सहयोग प्राप्त नहुने अवस्थाका कारण विकल्पका रुपमा विदेश जानेको संख्या बढेको बताए । यसका साथै श्रम तथा रोजगार सम्बन्धी नीति २०८० को मस्यौदामा समावेश गर्नका लागि सुझाव समेत प्राप्त भएको मन्त्रालयका अधिकृत टुकराज पाण्डेले जानकारी दिए ।