विजयकुमार बौडेल
पाल्पा । तानसेन नगरपालिकाले पाल्पा दरबार संग्रहालय वरिपरिका ५७ घर टहरा भत्काएको छ । तानसेनलाई पर्यटकीय नगरका रुपमा विकास गर्न टहराहरु भत्काइएको हो । पहिले दरबार क्षेत्रले ओगटेको भागमा बनेका संरचनाहरुलाई क्रमिक रुपमा हटाउने अभियान अन्तरगत पहिलो चरणमा ५७ वटा घर टहराहरु भत्काइएको तानसेन नगरपालिकाले जनाएको छ ।
भत्काउनका लागि तीन वटा स्काभेटर प्रयोग गरिएको थियो । सो क्षेत्रका पसलहरुको विद्युत मंगलबार नै काटिएको थियो । सम्भाव्य दुर्घटनालाई ध्यानमा राखेर एम्बुलेन्स, प्राथमिक उपचार कक्ष र दमकलको व्यवस्था समेत गरेको नगरपालिकाले जनाएको छ । यसका साथै जिल्ला सुरक्षा समितिले आफ्नो सुरक्षा रणनीती अनुसार तयारी अवस्थामा राखेर काम गरिएको थियो ।
नगरपालिकालाई गएको माघ १० गते पुरातत्व विभागले पत्राचार गरी तानसेन नगरको विकासका लागि दरबार क्षेत्रका संरचनाहरु हटाउन सहजीकरण गर्न अनुरोध गरेर पत्र पठाए बमोजिम तानसेनले सल्लाहकार समिति, सर्वदलीय, सर्वपक्षीय भेला, बैठक राखेर राय माग गरेको थियो । प्राप्त सल्लाह सुझावलाई समेटेर तानसेनको खस्कदो व्यापार, व्यवसाय र पर्यटकीय क्षेत्रको विकाससंगै दरबार परिसरको सौन्र्दयकरणका लागि घरटहरा भत्काउने निर्णयमा कार्यपालिका बैठक पुगेको तानसेन नगरपालिकाका प्रवक्ता यादवसिहं कार्कीले बताए । निर्णय अनुसार तानसेन नगरकार्यपालिकाको शित्तलपाटी मुलढोला क्षेत्र वरपर र मखनटोल क्षेत्रमा रहेका ५७ घरटहराहरु पहिलो चरणमा भत्काइएको हो । भवनहरु भत्काउनका लागि आवश्यक ३५ दिने सार्वजनिक सूचना जारी गरी जानकारी गराइएको थियो । यसका साथै थप स्पष्टताका लागि प्रत्येक सटरमा सूचना समेत टाँस गरिएको प्रवक्ता कार्कीले बताए । दोस्रो चरणमा दरबार परिसर भित्र रहेका सरकारी कार्यालयहरु पनि हटाउने तयारी छ ।
दरबार परिसरमा राष्ट्रिय अनुसन्धान, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय, नेपाल विद्युत प्राधिकरण, जिल्ला प्रशासन कार्यालय र बाल मन्दिर रहेका छन् । यी सरकारी कार्यालयहरुलाई पनि विकल्प खोज्नका लागि भनिएको प्रवक्ता कार्कीले बताए । अहिले भत्काइएका घरटहराहरुमा तानसेन नगरपालिकाले निर्माण गरी व्यवसायिक प्रयोजनका लागि भाडामा लगाइएको १३ वटा सटर, घरेलु शिल्प कलाको नाममा रहेको हाल घरेलु तथा साना उद्योग कार्यालयको मातहतमा रहेका १३ वटा सटर, नेपाल रेडक्रस सोसाईटी र कर्मचारी मिलन केन्द्र मातहतमा रहेका तीन÷तीन वटा सटर, नेपाल बाल संगठनको मातहतमा एक सटर रहेका छन् । यस्तै २००२ सालदेखि २०२२ साल भित्र विभिन्न समयमा देशको कुनै ठाउँमा भूमि नभएका भूमिहिन व्यक्तिका नाममा वितरण गरिएको २४ वटा घरटहरा समेत गरी ५७ वटा भत्काइएको हो । सरकारका लागि आवश्यक परेको बखत फिर्ता गर्ने सहमतीमा प्रयोग गरिएका संरचना भएकोले पनि क्षेत्र विस्तार सहज भएको तानसेन नगरपालिकाले जनाएको छ ।
घरटहरा पस्न र बस्न नमिल्ने गरी भत्काइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताए । उनका अनुसार भत्काउदा निस्किएको सामग्री तानसेन ५ बतासेडाँडा क्षेत्रमा व्यवस्थापन गरिने बताए । प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले तत्कालका लागि ढुंगा छाप्ने र टेवा पर्खाल लगाउने योजना छ । अन्य काम पुरात्तत्व विभागको योजना अनुसार अगाडि बढाउने बताए । दरबार परिसरको क्षेत्रफल कायम गरी विश्व सम्पदा सूचिमा समावेश गर्न सके तानसेनको पर्यटन विकासले एक फड्को मार्ने नगरवासीको भनाइ छ । तत्कालका लागि सिमित व्यवसायीहरुको क्षति देखिएपनि पछिका लागि तानसेनको विकासको टेवा पुग्ने विश्वास प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताए ।