एवत सारु
रम्भा गाउँपालिकाका सामुदायिक विद्यालयमा अध्यापन गर्ने शिक्षकहरुलाई शैक्षिक सामाग्री निर्माण तथा प्रयोग सम्बन्धी दश दिने तालिम सुरु भएको छ । रम्भा गाउँपालिका र सिकाई प्रवर्धन परियोजना बीच भएको सहकार्य अन्तरगत गाउँपालिका भरिका आधारभूत तहका २ सय २१ जना शिक्षकहरुलाई तालिम संचालन गरिएको हो । गाउँपालिकाको कृष्णगण्डकी माध्यमिक विद्यालय रम्भा —१ हुँगी र रम्भा माध्यमिक विद्यालय रम्भा ५ ताहुँमा एकै साथ तालिम सुरु गरिएको हो । तालिमले शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षकले आवश्यक शैक्षिक सामाग्री सहित कक्षाकोठामा शैक्षिक सामाग्री सहितको पाठयोजना निर्माण गरी अध्यापन गराउन सक्ने बनाउने उद्देश्य राखिएको छ ।
कृष्णगण्डकी माविमा संचालित तालिम उद्घाटन कार्यक्रममा प्रमुख अतिथि शैक्षिक तालिम केन्द्र लुम्बिनी प्रदेश भैरहवाका प्रमुख टिकाराम अर्यालले शैक्षिक सामाग्री निर्माण र प्रयोग गर्न सक्ने पोख्त शिक्षकले गुणस्तरीय शिक्षा दिन सक्ने बताए । उनले रम्भा गाउँपालिकाले शैक्षिक सत्रको सुरुवातमै संचालन गरेको दश दिने तालिम प्रभावकारी र उपयोगी हुने विश्वास व्यक्त गरे । कार्यक्रममा विशिष्ट अतिथि रम्भा गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष इश्वरीप्रसाद काफ्ले, गरिमा सिकाई केन्द्र हुँगीका अध्यक्ष कृष्णप्रसाद रेग्मी, रम्भा गाउँपालिका शिक्षा शाखा प्राविधिक सहायक मुक्तिप्रसाद अधिकारी, कृष्णगण्डकी माविका प्रधानाध्यापक लेखनाथ भण्डारी, प्रशिक्षक रोमा लिम्बु, सुजाता राई लगायतले तालिमको सफलताको शुभकामना मन्तव्य व्यक्त गरे । कार्यक्रममा सिकाई प्रवद्र्धन परियोजनाका प्रबन्धक कपिलप्रसाद पुरीले तालिम संचालनको उद्देश्य, विधि, प्रक्रिया र संम्भावित उपलब्धी बारे बताउँदै रिड नेपालले रम्भा गाउँपालिकाका ३७ वटा सामुदायिक विद्यालयमा सिकाई प्रवर्धन परियोजना मार्फत करिब ४ वर्ष काम गर्ने र शैक्षिक गुणस्तरमा सुधार गर्ने जानकारी दिए ।
ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र नेपाल — रिड नेपालको संयोजनमा जर्मन कोप्रेसन, ग्रीन तारा नेपाल, करुणा, अष्टे«लियन हिमालयन फाउण्डेसन, हिमालयन ट्रस्ट यूके तथा अष्ट्रेलियन एडको आर्थिक सहयोग र रम्भा गाउँपालिकाको समन्वयमा रम्भा गाउँपालिकामा शैक्षिक गुणस्तर गर्न विभिन्न शैक्षिक क्रियाकलाप निर्धारण गरी परियोजना संचालन गरिएको परियोजनाका प्रवन्धक कपिलप्रसाद पुरीले बताए । तालिममा सिकारु शिक्षकहरुलाई २० देखि ३५ जनाको समूह बनाई अलग अलग कक्षामा प्रशिक्षण प्रदान गरिएको छ । यसप्रकारको तालिमले रम्भा गाउँपालिकाका शिक्षकहरुमा सिकाई क्रियाकलाप गर्दा आवश्यक पर्ने शैक्षिक सामाग्री निर्माण र प्रयोग गर्ने सीपको विकास हुने रम्भा गाउँपालिकाका शिक्षा अधिकृत मीनादेवी आचार्यले बताइन् । रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले सिकेको सीपको अधिकतम प्रयोग हुनुपर्ने र यसले समग्र रम्भा गाउँपालिकाको शैक्षिक गुणस्तर सुधारकमा सहयोग पुग्ने बताए । तालिममा ऋषिकेश आचार्य, कपिलप्रसाद पुरी, रोमा लिम्बु, सुजाता राई, सुमित्रा अधिकारी, राधिका पाण्डेय, खुशीसरा राना, विकास थापा लगायतले सहजीकरण गर्ने परियोजनाका लेखा अधिकृत मौसमी टण्डनले बताइन् ।
प्राथमिक तह, निम्न माध्यमिक तह, माध्यमिक तह, निजी श्रोत तथा बालविकास सहजकर्ताकाहरुको सहभागिता रहेको तालिम बैशाख १२ गते सम्म संचालन हुनेछ ।