पाल्पा । प्रेस चौतारी नेपाल पाल्पा शाखाले नयाँ वर्ष २०८० को भित्तेपात्रो विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । चौतारी भित्तेपात्रो नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरे, जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, पत्रकार महासंघका उपाध्यक्ष भरत शर्मा र चौतारी पाल्पाका अध्यक्ष कृष्ण कार्कीले संयुक्त रुपमा विमोचन गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि एमाले पाल्पा अध्यक्ष घिमिरेले प्रेस चौतारी पाल्पा शाखा पछिल्लो समय सक्रियताका साथ आफ्ना गतिविधि चलायमान गराएको बताए । उनले चौतारीको क्रियाशीलताबाट अन्य संगठनहरुले पनि सिक्नुपर्ने बताए । अध्यक्ष घिमिरेले क्रियाशीलता र निरन्तरताले सबैलाई स्थापित गर्ने भएकोले चौतारी अहिले जिल्लाकै नमुना संगठनका रुपमा पहिचान बनाउन सफल भएको बताए । अध्यक्ष घिमिरेले अहिले देशमा राजनीतिक व्यवस्था परिवर्तन भएपनि जनताको अवस्था परिवर्तन नभएकोले सरकारमा सहभागी दलहरु देश र जनताप्रति जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिए । उनले देशको आर्थिक अवस्था चिन्ताजनक अवस्थामा रहेको बताउँदै यो समस्या राष्ट्रिय सहमतीका आधारमा मात्र समाधन गर्न सकिन विश्वास व्यक्त गरे । यसका साथै राष्ट्रको विकास र राष्ट्रियताको सवालमा एमाले पार्टी नै आवश्यक हो भनेर जनतालाई सही रुपमा बुझाउन पार्टीले ग्रास रुट अभियान संचालन गरेको अध्यक्ष घिमिरेको भनाइ छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले चौतारीको क्रियाशीलता आउँदो वर्षमा अझै बढेर जाओस, समाजको ऐनाका रुपमा स्थापित बन्नका लागि शुभकामना दिए । उनले समाजलाई सही मार्गमा हिडाउन र समाजका गलत अभ्यासलाई खवरदारी गर्नका लागि चौतारी सम्बद्ध तथा अन्य पत्रकारहरु सधै सक्रिय हुनुपर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्माले चौतारीको पछिल्लो नेतृत्वले गरेको कामले संगठनमा बसेर काम गर्ने व्यक्ति, संगठनका सदस्यहरुमा उर्जा थपेको बताए । पाल्पामा रहेका अन्य प्रेस संघ संगठनहरु भन्दा चौतारीको गतिविधि बढेको उपाध्यक्ष शर्माले बताए ।
चौतारीका अध्यक्ष कृष्ण कार्कीले संस्थामा रहेका सबैको सहयोग, सद्भाव र मायाबाट संगठनको क्रियाकलाप गर्दै आएको बताए । उनले संस्थागत कोष निर्माणका लागि भित्तेपात्रो प्रकाशन गरिएको जनकारी गराउँदै सूचना तथा विज्ञापन सहयोग गर्ने र प्रकाशनमा सहजीकरण गर्ने सबैलाई धन्यवाद ज्ञापन समेत गरे । कार्यक्रममा सहभागी पत्रकारहरुले एक आपसमा फूलको गुच्छा साटासाट गर्दै नयाँ वर्षको शुभकामना आदान प्रदान गरेका थिए । कार्यक्रम चौतारीका लुम्बिनी प्रदेश कमिटी सदस्य कृष्णप्रसाद पोखरेलको स्वागत, पाल्पा शाखा अध्यक्ष कुष्ण कार्कीको अध्यक्षता र सह सचिव सन्तोष ज्ञवालीको सञ्चालनमा भएको हो ।