पाल्पामा लम्पी स्किन रोगबाट ७० पशुको मृत्यु

पाल्पा । गाई, भैंसी तथा गोरु र बाच्छा बाच्छीमा लाग्ने लम्पी स्किन रोगबाट ७० वटा पशु चौपायाको मृत्यु भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाले जनाएको छ ।

पाल्पाका पहिलो पटक देखा परेको रोग हालसम्म जिल्लाका ७ गाउँपालिकामा संक्रमण देखा परेको पशु चिकित्सक निविन बस्याले जानकारी दिए । उनका अनुसार पूर्वखोला, रम्भा गाउँपालिका र रामपुर नगरपालिका बाहेक अन्य स्थानीय तहमा रोग देखा परेको बताए । पशु चिकित्सक बस्यालले रोगको संकक्रमणबाट सबैभन्दा बढी बगनासकाली गाउँपालिकामा ४२ वटा पशु चौपायमाको मृत्यु भएको छ । यस्तै माथागढी गाउँपालिकामा १५, निस्दी गाउँपालिकामा ९ र रिब्दीकोट गाउँपालिकामा ४ वटा पशुको मृत्यु भएको छ । यसका साथै करिव ७ सय ६३ वटा पशु चौपायाको उपचार गरिएको विज्ञकेन्द्रले तथ्यांक सार्वजनिक गरेको छ ।

रोग फैलिएको स्थानमा पशु विज्ञकेन्द्र र स्थानीय तहको टोलीले रोग थप फैलिन नदिन तथा संक्रमित पशुको उपचार गरिरहेको कार्यालय प्रमुख दुर्गाप्रसाद खनालले जानकारी दिए । उनका अनुसार संक्रमण भएका पशुको छालामा ग्रिर्खा, गाँठाहरू आउने पाक्ने र पिप जम्मा भएर घाउमा परिणत हुने बताए । रोगी पशुहरुमा ज्वरो ९१०४–१०५ डिग्री फरेनहाईटसम्म आउने, अरुचि हुने र झोक्राउने लक्षण भएमा तत्काल पशु सेवा प्राविधिक संग सम्पर्कमा आउन कार्यालय प्रमुख खनालले आग्रह गरे । यो रोगको औषधि नभएको र अन्य भाइरल रोगको जस्तै वैकल्पिक औषधिको प्रयोगबाट उपचार गरिने विज्ञ केनद्रले जनाएको छ ।

यो रोग एक विषाणु भाइरस जन्य रोग हो । लामखुट्टे, किर्ना र भुसुना जस्ता कीराहरुले यो रोगको बिषाणु रोगी पशुबाट स्वस्थ पशुमा सार्ने गर्छन् । यसको अलावा रोगी पशुहरुको सिंगान, दूध, र घाउबाट निस्केको पीप, रगत, जस्ता जैविक रसहरुको प्रत्यक्ष संसर्गबाट पनि यो रोग सर्ने पशु सेवा प्राविधिक युवराज ज्ञवालीले बताए । त्यसैले संक्रमण भएका पशुहरु सार्वजनिक स्थलमा चरनका लागि बन्द गर्ने, रोगी पशुलाई क्वारिन्टाइनमा राखेर उपचार गर्ने र लक्षण देखिना साथ उपचार सुरु गर्नुपर्ने पशुसेवा प्राविधिक ज्ञवालीको भनाइ छ ।

सम्बन्धित खवर