निस्दीको सार्वजनिक सुनुवाइ सम्पन्न

धनबहादुर ठाडा

पाल्पा । निस्दी गाउँपालिका पाल्पाले चालु आर्थिक वर्षको दोस्रो चौमासिकमा सम्पादन गरेको कामको सार्वजनिक सुनुवाइ गरेको छ । गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले सम्पादन भएका योजना तथा कार्यक्रम र सेवाको प्रगति प्रतिवेदन सार्वजनिक गरे ।

निस्दी गाउँपालिकामा हालसम्म वित्तिय तर्फ ३० दशमलव ८२ प्रतिशत र भौतिक तर्फ ५१ प्रतिशत खर्च प्रगति भएको प्रतिवेदन सार्वजनिक गरिएको छ । हालसम्म २ सय ४९ वटा योजनाको सम्झौता भएको र ६४ वटा योजनाको फरफारक भएको प्रतिवेदनमा उल्लेख रहेको छ । निस्दीले विगत एक वर्षदेखि बन्द रहेको २५ किलोवाट क्षमताको वायु उर्जा सञ्चालनमा ल्याइएको, एकीकृत घुम्ती सेवा सञ्चालन र स्वास्थ शिविर सञ्चालन गरेको प्रमुख प्रशासकीय अधिकृत दयालले बताए । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत ७३ जनालाई रोजगारमूलक आयोजनामा संलग्न गराइएको, सात वटै वडा जोडिने गरी केम खाम्चा मार्गको ग्रावेल तथा स्तरउन्नतिका लागि प्रक्रिया अगाडि बढाएको प्रतिवेदनमा उल्लेख छ । आन्तरिक पर्यटन प्रवर्द्धनको लागि विशेष योजना अगाडि बढाउनुका साथै १५ शैयाको अस्पतालको पर्खाल निर्माण र दोस्रो ढलानको काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत दयालले बताए ।

यस्तै सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीले निस्दीमा बालविवाहको समस्या, शैक्षिक गुणस्तर, पर्यटन प्रवर्द्धन, बिजुली, यातायात, खानेपानीसँग सम्बन्धित जिज्ञासा राखेका छन । यसैबीच सार्वजनिक सवारीसाधनको भाडादर समायोजन हुनुपर्ने, स्थानीय उत्पादनको बजारीकरण तथा प्रोत्साहन, सहकारीको अनुगमन तथा व्यवस्थापन हुनुपर्ने जिज्ञासा तथा सुझाव राखेका छन ।

गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले जिज्ञासा तथा सुझावका विषय गाउँपालिकाले आगामी दिनमा नागरिकले महशुस गर्ने गरी कार्यान्वयनमा ल्याइने बताए । उनले गाउँपालिकाले परिमाणमुखी भन्दा परिणाम आउने खालको काम गर्न लागि परेको बताए । अध्यक्ष सारुले आगामी दिनमा निस्दीले रोजगार तथा व्यवसाय मूलक र उत्पादनमुखी काम गरिने बताए । गाउँपालिकाको बहुउद्देश्यीय भवनमा भएको कार्यक्रममा उपाध्यक्ष तिरन कुमारी श्रेष्ठ, नेकपा एमालेका दमन सिंह थापा, नेपाली कांग्रेसका पूर्ण बहादुर खाँणलगायतले गाउँपालिकाको सेवा प्रवाह र योजना तथा कार्यक्रमका विषयमा आफ्ना भनाइ राखेका थिए ।

सहभागीले उठाएका जिज्ञासाको विषयमा विषयगत शाखाका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा गाउँपालिका अध्यक्षले सेवा सकेसम्म सहज बनाउन लागि परेको बताउँदै थप सुधारको प्रतिबद्धता जनाए । सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण कान्तिपुर दैनिकका उपसम्पादक माधवप्रसाद अर्याल र पत्रकार दयाराज न्यौपानेले गरेका हुन् ।

सम्बन्धित खवर