बगनासकालीमा एक दिने माटो परीक्षण शिविर

दयाराज न्यौपाने

पाल्पा । बगनासकाली गाउँपालिकामा संचालन भएको एक दिने माटो परीक्षण तथा बाली उपचार शिविर सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र तानसेनको आयोजना र बगनासकाली गाउँपालिकाको समन्वयमा माटो तथा बाली परीक्षण प्रयोगशाला शिविर संचालन भएको हो ।

कार्यक्रम बारे जानकारी गराउदै  कृषि ज्ञान केन्द्र पाल्पाका बाली अधिकृत मिलन गैरेले माटोमा गरिने परीक्षणले माटोमा भएको समस्या र बाली परीक्षणले रोग किराको संक्रमण न्यूनीकरणमा मद्दत पुग्ने बताउदै किसानले समय समयमा माटो र बालीको परीक्षण गर्दा उत्पादन बढ्ने बताए ।

शिविरमा बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले माटो परीक्षणले कहाँ के गर्ने सकिन्छ भन्ने आधार बनाउने बताउदै गाउँपालिकालाई व्यवसायिक रुपमा उत्पादनमा जोड्न माटो परीक्षण शिविर सफल हुने विश्वास व्यक्त गरिन् ।

गाउँपालिकाका उपाध्यक्ष हरि पाठकले किसानले खेती गर्ने जमिनको समस्या समाधान गरी उत्पादन बढाउने र व्यवसायिक रुपमा खेती गर्ने किसानको संख्यामा वृद्धि गर्ने सोचका साथ गाउँपालिका अगाडि बढेको जानकारी दिए ।

खाद्य बालीको उत्पादन र माटोको अवस्था थाहा पाउनका लागि बगनासकाली गाउँपालिका १,२ र ३ वडाका विभिन्न ठाउँबाट माटोको नमुना संकलन गरिएको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन लागि योजना निर्माण गरी काम भएको बताए ।

संघीय ससर्त अन्तरगत गाउँपालिकाको लागि मकै उत्पादन प्रवर्द्धन कार्यक्रममा समाबेश गरिएका १ ,२ र ३ वडाका कलस्ट्ररहरुका मुल बीउ रोपने किसानका एक सय १३ माटोको नमुना परीक्षण गरिएको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख कामना अधिकारीले जानकारी दिइन् । उनले पाल्पाका ६ वटा गाउँपालिकामा शिविर संचालन गरिएको र बाँकी गाउँपालिकामा समेत शिविर आयोजना गरी माटोको परीक्षण गरिने जानकारी गराइन् । शिविरमा संकलन भएका परीक्षण भएको नमुनाको नतिजा केही दिनमा आउने जनाइएको छ ।

शिविरमा माटोको पिएच, अम्लिय, क्षारिय र तटस्थ पक्षको नमुना परीक्षण गरिएको हो भने ३४ जना किसानको बालिमा रोग किरा देखापरेको कृषि शाखा प्रमुख खिमराज कोइरालाले बताए । किसानलाई निःशुल्क जैविक बिषादी तथा विभिन्न पासो सहित परामर्श सेवा उपलब्ध गराइएको गाउँपालिकाका प्रवक्ता टीका बहादुर थापाले बताए ।

सम्बन्धित खवर