सारेमको २५ औ जन्मोत्सव

पाल्पा । सामुदायिक रेडियो मदनपोखराले आफ्नो २५ औं जन्मोत्सव मनाएको छ ।

जन्मोत्सवको अवसरमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले सामुदायिक रेडियोको माध्यमबाट नै हाम्रो चेतनाको विकास भएको बताए । उनले समुदायमा चेतना सहित अग्रगामी निकासको लागि महत्वपूर्ण भूमिका खेलेको बताए । प्रमुख खनालले समूदायलाई सूचनाको मालिक बनाउदै समाजलाई अघि बढाउने कार्यमा सामुदायिक रेडियो मदनपोखराले ठुलो जिम्मेवारी पुरा गरेको बताए ।

कार्यक्रमकामा सामुदायिक रेडियो मदनपोखराका कार्यकारी निर्देशक गुणकार अर्यालले गएको आर्थिक वर्ष २०७८ ७९ को वार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरे । उनले समुदायको रुचि अनुसारको रेडियो सामग्री उत्पादन र प्रशारणमा रेडियोले प्रयास गरिरहेको बताए ।

यसैगरी कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखिराम रानाले पछिल्लो समय सूचना र सञ्चार माध्यमा ठूलो परिवर्तन भएको बताए । तर पनि विभिन्न सञ्चार माध्यमको विकास भएपनि रेडियोको महत्व कम नभएकोले समयअनुसार आफ्ना स्रोताको रुचि अनुसारको कार्यक्रम र सुचना प्रवाह गनुृपर्नेमा जोड दिए ।

त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका प्रध्यापक डा टंक पन्तले ग्रामीण भेगबाट सञ्चार संस्था सञ्चालन गर्दा आइपर्ने विभिन्न चुनौतीहरुलाईअवसरका रुपमा लिउर २५ वर्षको यात्रा पार गर्नु आफैमा गर्वको विषय भएको बताए । उनले रेडियो सदैब आवाज विहिनहरुको आवाज बन्नुपर्ने बताउदै यस विषयमा आफ्ना कार्यक्रम केन्द्रित गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा शारदा माध्यमिक विद्यालयका प्रद्यानाध्यापक खेमराज न्यौपाने , कमलेश्वर शिव गणका संयोजक धनपति गैरे ,कान्तिपुर दैनिकका उपसम्पादक माधवप्रसाद अर्याल, मदनपोखरा टोल विकास संस्थाका अध्यक्ष सन्तोष पृथी, जागृति आमा समूहकी अध्यक्ष उमा खनाल लगायतले जन्मोत्सवका अवसरमा रेडियोलाई शुभकामना व्यक्त गरे । उनीहरुले सामुदायिक रेडियो स्थापना समयको मर्म अनुसार चलनुपर्ने बताए । यसै अवसरमा सारेमको वार्षीक रुपमा हुने प्रकाशन बोली पत्रिकाको विमोचन गरिएको थियो । कार्यक्रममा कृषि , उद्यमशीलता , शिक्षा र लोक संस्कृतिको संरक्षणमा योगदान गरेका व्यक्तिहरुलाइ पुरस्कार तथा सम्मान गरिएको थियो । यस वर्ष सारेम उद्यम प्रवद्र्धन पुरस्कारबाट तानसेन नगरपालिका ८ मदनपोखरा छाप निवासी राम बहादुर सिंहलाई सम्मान गरिएको छ । यस्तै सारेम शिक्षा पुरस्कार बगनासकाली २ पोखराथोक निवासी विद्यालयका पूर्व प्रद्यानाध्यापक टेकनाथ गैरे र सारेम लोक संस्कृति प्रवद्र्धन पुरस्कार कमलेश्वर शिव गण भजन मण्डली तानसेन नगरपालिका ९ मदनपोखरालाई प्रदान गरिएको छ ।

कार्यक्रमका अवसरमा लोक संस्कृतिको संरक्षणमा लागेको संस्था कमलेश्वर शिब गण समूहले भजन समेत प्रस्तुत गरेको थियो । कार्यक्रम तानसेन नगरपालिका वडा नं ९ का वडा अध्यक्ष तथा सारेम बोर्ड सचिव राजेश कुमार अर्यालको स्वागत तथा सामुदायिक रेडियो मदनपोखरा संचालक समितिका अध्यक्ष झपेन्द्र जिसीको अध्यक्षतामा चलेको थियो ।

२०५५ सालमा चैत्र २३ गतेका दिनबाट प्रशारण सेवा सुरु गरेको सारेमले हाल बिहान साढे ५ बजेदेखि राती १० बजे सम्म नियमित प्रशारण सेवा गरिरहेको छ ।

सम्बन्धित खवर