कर्मचारी युनियनको शुभकामना आदान प्रदान

पाल्पा । नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति पाल्पाले नयाँ वर्ष २०८० को अवसरमा शुभकामना आदान प्रदान तथा भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा पूर्व प्रदेश मन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य वीरबहादुर रानाले नयाँ वर्ष २०८० को शुभकामना व्यक्त गरे । उनले राष्ट्र सेवक कर्मचारीहरुले रचनात्मक रुपमा जनताको सेवालाई प्रभावकारी रुपमा गर्नुपर्ने बताए । लुम्बिनी प्रदेश सभा सदस्य रानाले निजामती कर्मचारीहरुको हकहितमा सरकार र राजनीतिक नेतृत्व क्रियाशील हुने समेत बताए । उनले निजामती सेवा ऐन समयमा नबन्दा प्रशासनिक क्षेत्रमा अस्थिरता आएको बताउदै यसको अन्त्यका लागि सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए । सेवालाई व्यवस्थित र प्रभावकारी बनाउनुका साथै विकास योजना कार्यन्वयमा कर्मचारीको भूमिका महत्वपूर्ण रहने भएकोले कर्मचारीका लागि आवश्यक ऐन, नियम व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्ने रानाको भनाइ छ ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश अध्यक्ष मदन गौतमले सरकारले समयमा निजामती सेवा ऐन व्यवस्था नगर्दा राष्ट्रसेवक कर्मचारी मर्कामा परेको बताए । उनले मूलुक संघीयतामा गएपनि निजामती कर्मचारी ऐन नबन्दा प्रदेश र स्थानीय तहहरुको काम समेत प्रभावित भएको बताए । उनले काम संगै कर्मचारीहरुको सरुवा, बढुवामा समेत कठिनाई भएकोले यसतर्फ सरकारले ध्यान दिन नसकेको आरोप लगाए ।

शुभकामना आदान प्रदान कार्यक्रममा नेपाली काँग्रेसका कार्यवाहक सभापति झपेन्द्र गहिरे, नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय उपमहासचिव गणेण भण्डारी , केन्दीय सदस्य नविन कुमार पन्थी , हरी ज्ञवाली, रुपन्देही जिल्लाका अध्यक्ष चक्रपाणी पाण्डे र तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीलगायतले निजामती सेवा ऐन सरकारले छिटोभन्दा छिटो ल्याउनु पर्ने बताए । उनीहरुले ऐन नहुँदा कर्मचारीको तहगत वृद्धिका साथै अन्य पक्षको विकासमा अवरोध भएको समेत बताए । उनीहरुले कर्मचारीलाई काममा मात्र लगाउने भन्दा समय र रुचि अनुसार भनोभावना बुझेर अतिरिक्त क्रियाकलापमा सहभागी गराउदा विकासका काम पनि थप प्रभावकारी बन्ने धारण व्यक्त गरे । कार्यक्रममा निजामती सेवा ऐनको आवश्यकता र महत्वका विषयमा पनि छलफल समेत गरिएको थियो ।

कार्यक्रम कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन पाल्पाका उपाध्यक्ष तथा कर्मचारी युनियनका सल्लाहकार विनोद घिमिरे स्वागत , जिल्ला उपाध्यक्ष लिलामणी बस्यालको सञ्चालन तथा अध्यक्ष रवि अर्यालको अध्यक्षतामा चलेको हो । अर्यालको नेतृत्वमा कर्मचारी युनियन पाल्पा आएपछि वार्षीक रुपमा नयाँ वर्षको भित्ते पात्रो प्रकाशन तथा शुभकामना आदानप्रदानलगायतका गतिविधिहरुले गति लिएका छन् ।

सम्बन्धित खवर