माथागढीका स्वास्थ्य स्वयंसेविकाहरुको अर्धवार्षिक समीक्षा

पाल्पा । माथागढी गाउँपालिकाको आयोजनामा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
चालु आर्थिक वर्ष २०७९/८० को श्रावण देखि पौष महिना सम्मको कार्यसम्पादनको प्रगति समीक्षा गरिएको हो । गाउँपालिका भित्रका आठ वटै वडाका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्य संस्था प्रमुखहरुको सहभागितामा भएको समीक्षा कार्यक्रममा गएको छ महिनामा वडागत रुपमा सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुले गरेको काम र त्यसको प्रगति र काम गर्दा भोग्नुपरेको समस्याका विषयमा छलफल गर्नुका साथै अनुभव आदान प्रदान गरिएको थियो ।

सोही कार्यक्रमको अवसरमा माथागढी गाउँपालिकाले माथागढी भित्र रहेर सेवा उपलब्ध गराउँदै आएका ६३ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई सिम सहितको मोबाईल सेट वितरण गरेको गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले जानकारी दिए । उनले स्वयंसेविकालाई प्रोत्साहान गर्न तथा स्वास्थ्य संस्था र सेवाग्राहीहरु संग सम्पर्कमा रहन सहज होस भन्ने उद्देश्यले गाउँपालिकाकाले सञ्चार सामग्री मोबाईल सेट र सिम हस्तान्तरण गरेको बताए । गाउँपालिकाले विगतका वर्षदेखि नै महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई मासिक दुई सय रुपैयाँका दरले संचार खर्च उपलब्ध गराउँदै आएको गाउँपालिकाका अध्यक्ष चिदीको भनाइ छ ।

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष विष्णुमाया लुङ्गचेले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरु स्वास्थ्य सेवा प्रवाह गर्ने खम्बा भएको बताइन् । उनले स्वयसेविका हरुको कामको प्रशंसा र सम्मान स्वरुप गाउँपालिकाले सक्दो सहयोग गर्दै आएको जानकारी दिइन् ।

हस्तान्तरण कार्यक्रमकै अवसरमा २०४६ सालदेखि निरन्तर स्वयंसेविकाको रुपमा सेवा गरेर ६० वर्षे उमेरहदका कारण सम्मान जनक विदाई भएकी माथागढी गाउँपालिका वडा नं. ४ की महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तील कुमारी जिसीलाई नगद पचास हजार सहित सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको स्वास्थ्य संयोजक केशवबहादुर जिसीले जानकारी दिए ।

सम्बन्धित खवर