
पाल्पा । स्थानीय स्तरमा रहेका समुदायमा अकस्मात रुपमा देखापर्ने स्वास्थ्य सम्बन्धी समस्या तत्काल समाधानका लागि परिचालन हुने स्वाथ्यकर्मीहरुको टोली अन्य गाउँपालिकामा जस्तै माथागढी गाउँपालिकामा पनि क्रियाशील रहेको छ । समस्या देखा परेपछि समूह निर्माण र परिचालनमा समय खर्चन नपरोस छिटो भन्दा छिटो समस्याग्रस्त क्षेत्रमा आवश्यक निकाय सँगको समन्वयमा जनशक्ति परिचालन गरी समस्या नियन्त्रण र समाधानमा केन्द्रित हुन सकियोस भन्ने उद्देश्य अनुसार द्रुत प्रतिकार्य टोली गठन भएको हो । टोलीले कुनै वडा वा टोलमा मानव स्वास्थ्य सँग जोडिएका आपतकालिन रुपमा देखा पर्ने समस्या समाधानमा क्रियाशील रहने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकामा द्रुत प्रतिकार्य समिति पाँच सदस्यीय गठन भएको छ । गाउँपालिका अध्यक्ष यमबहादुर चिदीको संयोजकत्वमा प्रमुख प्रशासकीय अधिकृत, विपद् व्यवस्थापन समितिको फोकल पर्सन, स्थानीय अस्पतालको एक जना सदस्य र स्वास्थ्य शाखा प्रमुख सदस्य सचिव रहने व्यवस्था अनुसार समिति गठन भएको छ । यस्तै स्वास्थ्य संयोजक केशव बहादुर जिसीको संयोजकत्वमा ११ सदस्यीय द्रुत प्रतिकार्य टोली गठन गरिएको छ । जसमा पारामेडिक्स, नर्सिङ र प्रयोगशालाका स्वास्थ्यकर्मीको सहभागिता रहेको छ ।
यसैबीच समन्वयात्मक रुपमा छिटो काम गर्नका लागि गठन भएको माथागढी गाउँपालिकाको द्रुत प्रतिकार्य समिति र टोलीका लागि आवश्यक अभिमुखिकरण कार्यक्रम पनि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाले माथागढी गाउँपालिकामा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको हो । अभिमुखिकरण कार्यक्रमको सहजीकरण गर्दै स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले स्थानीय द्रुत प्रतिकार्य टोलीको काम, कर्तव्य र अधिकारबारे सहजीकरण गरे । प्रमुख डा. गिरीले अफवाह प्रमाणीकरण गर्ने, आपतकालिन जनस्वास्थ्य समस्या पहिचान गरी जोखिम पहिचान गर्ने, श्रोत साधन सहित प्रभावित क्षेत्रमा परिचालित हुने, प्रभावित क्षेत्रका वडा सँग समन्वय र सहकार्य गर्ने, आवश्यकता अनुसार बिरामीको औषधि उपचार गर्नको लागि अस्पतालको पहिचान गरी प्रेषणको व्यवस्था गर्नेलगायतका विषयमा जानकारी गराए ।
माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले जुनसुकै क्षेत्रमा आइपर्ने विपद्को तत्काल व्यवस्थापनका लागि टोली आवश्यक पर्ने बताए । उनले दक्ष जनशक्ति सहितको टिम गठन गरेर आवश्यक तयारी अवस्थामा रहँदा जस्तोसुकै विपद्सँग सामान गर्न सहज हुने विश्वास व्यक्त गरे । नागरिकलाई स्वास्थ्यका बारेमा स्वास्थ्य शिक्षा सहित उचित सञ्चार माध्यम मार्फत जनचेतना फैलाउन सके विपद् न्यूनीकरण हुने बताउँदै अध्यक्ष चिदीले आम नागरिकको सहजताका लागि काम गर्दै आएकोे बताए । अध्यक्ष चिदीले प्रकोपको अवस्थालाई पहिल्यै सचेत भई त्यसको तयारी र समाधानका लागि आवश्यक योजना र कार्यक्रम सञ्चालन गर्न गाउँपालिका तयारी अवस्थामा रहेको जानकारी दिए ।
कार्यक्रममा विपद तथा महामारी फैलिएमा स्थानीय द्रुत प्रतिकार्य समितिको निर्देशन अनुसार टोली परिचालन हुने, स्थानीय तहलाई सहयोगको आवश्यकता भएमा प्रदेश सरकारसँग समन्वय गर्ने, द्रुत प्रतिकार्य समितिको बैठक बस्न नसक्ने अवस्थामा संयोजकको निर्णयमा टोली परिचालित हुने लगायतका विषयमा छलफल भएको छ ।