
पाल्पा । पूर्वखोला गाउँपालिकाले सुगर र प्रेसरका बिरामीको खोज्ने र स्वास्थ्य सेवा दिने अभियान थालेको जनाएको छ । गाउँपालिका भित्र रहेका ४० वर्षदेखि ६९ वर्ष उमेर समूहका नागरिकको सुगर र प्रेसरका बिरामी खोज्दै परीक्षण सेवा उपलब्ध गराउने उद्देश्यले काम सुरु भएको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले जानकारी दिए । उनका अनुसार लुम्बिनी प्रदेश सरकार र गाउँपालिकाको आफ्नै बजेटबाट ७० वर्ष माथीका नागरिकको स्वास्थ्य परीक्षण कार्य सकिएकोले थप ४० देखि ६९ वर्ष उमेर समूहका नागरिकलाई प्राथमिकतामा राखेर सेवा उपलब्ध गराउन लागेको बताए ।
यस कार्यक्रम मार्फत गाउँपालिकामा ५ हजार १ सय २५ जनामा सुगर र प्रेसरका बिरामीको छनोट गरी सेवा दिने स्वास्थ्य शाखा संयोजक मोहन ढकालले जानकारी दिए । उनका अनुसार अभियानको लागि आवश्यक तयारीको कामको सुरुवात भइरहेको बताए । एकीकृत घुम्ती स्वास्थ्य शिविरबाट गाउँपालिका भित्रका ७० वर्ष माथिका नागरिकको स्वास्थ्य परीक्षण गर्दा प्राप्त नतिजा अनुसार उनीहरुलाई औषधि व्यवस्थापन गरिसकिएको शाखा प्रमुख ढकालले बताए ।
पछिल्लो समय सुविधाभोगी जीवनशैलीका कारण युवा अवस्थामै सुगर र प्रेसरको समस्याले स्वास्थ्यमा ल्याएको जोखिम न्यूनीकरणका लागि कार्यक्रम गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर सारुले बताए ।
नियमित स्वास्थ्य परीक्षण गर्ने बानी नहुँदा अकस्मात ठूलो समस्या देखिने र ज्यानकै जोखिममापर्ने भएकोले नागरिकलाई समयमै सचेत बनाउन कार्यक्रम प्रभाकारी हुने स्वास्थ्य शाखा प्रमुख ढकालको भनाइ रहेको छ । कार्यक्रमबाट प्राप्त नतिजाका आधारमा रोगको न्यूनिकरणका आवश्यक योजना तर्जुमा गर्न सहयोग मिल्ने गाउँपालिकाको विश्वास रहेको छ ।
गाउँपालिका भित्रका ८० वर्ष माथिका ज्येष्ठ नागरिकको घरघरमै लौरो उपहारसंगै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराएर चर्चा कमाएको गाउँपालिकाले अर्को नयाँ अभियान सुरु गरेको हो ।
कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि गाउँपालिकाबाट खट्ने स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुलाई अभिमुखिकरण कार्यक्रम सकेको छ । गाउँपाकिलाका ६ वटै वडामा पुगेर तोकिएको लक्षित उमेर समूहका सबैको स्वास्थ्य अवस्था थाहा पाउने र औषधि व्यवस्थापन गर्ने योजना सहित गाउँपालिका अगाडि बढेको गाउँपालिका अध्यक्ष थापाको भनाइ छ ।