बगनासकालीमा विकास योजनाको काम तीव्र

पाल्पा । चालु आर्थिक वर्षमा सञ्चालन हुने विकास योजना तथा कार्यक्रमको काम तीव्र रुपमा भएको बगनासकाली गाउँपालिका कार्यालयले जनाएको छ । यस आर्थिक वर्षका लागि गाउँपालिकाको पूँजिगततर्फका ४ सय २४ र चालु तर्फको एक सय ५० गरी ५ सय ७४ वटा योजना तथा कार्यक्रम रहेका छन् ।

वडाका लागि विनियोजन गरिएको बजेटबाट नागरिकको माग र आवश्यकताका आधारमा प्राप्त योजना तथा कार्यक्रमहरुका लागि विनियोजित बजेटबाट काम भैरहेको गाउँपालिका अध्यक्ष सरस्वती चिदीले जानकारी दिइन् । उनका अनुसार अहिलेसम्म तीन सय ३५ योजना तथा कार्यक्रमको सम्झौता भएर उपभोक्ता मार्फत काम भएको छ । अन्य योजनाहरुको सम्झौताको प्रकृयामा रहेको छ । योजनाको दीगोपना र गुणस्तरीय बनाउनका लागि कामसँगै अनुगमनलाई पनि तीव्रता दिइएको अध्यक्ष चिदीको भनाइ रहेको छ ।

यही अर्थिक वर्षमा गाउँपालिकाको दुई वटा क्रमागत बहुवर्षे ठेक्का मार्फत काम भएको छ । गाउँपालिकाको मुख्य प्रशासनिक भवन निर्माण कार्य र १५ शैयाको अस्पताल निर्माणको काम भैरहेको प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले बताए । उनका अनुसार यस वर्ष वडा तहमा पुगेर मंसिरमै योजना सम्झौता गरिएकोले काममा सहज भएको समेत बताए ।
यस बाहेक मोटरबाटो स्तरउन्नति, खानेपानी, सडक कालोपत्रेको काम गर्न ११ वटा टेण्डर गरी काम सुरु भएको योजना तथा अनुगमन शाखाका शाखा अधिकृत भरतराज घिमिरेले जानकारी दिए । उनका अनुसार साना साना योजनाहरु उपभोक्ता समिति मार्फत सञ्चालन भएको छ भने केही ठूला योजना टेण्डर मार्फत गरिएको छ । तोकिएको समयमै काम सम्पन्न गर्नका लागि कामलाई तिव्र पारिएको शाखा अधिकृत घिमिरेले बताए ।

गाउँपालिकामा सञ्चालित तीन लाख भन्दा माथीको योजना तथा कार्यक्रमको अनुगमन गाउँपालिका स्तरीय अनुगमन समिति अनिवार्य गर्नुपर्ने नीति भएको गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक हरिप्रसाद पाठकले बताए । उनले गुणस्तर र कामको प्रभावकारीताका लागि अनुगमनलाई विशेष ध्यान दिने गरेको बताए । साना÷साना योजना वडास्तरीय अनुगमन समितिले गर्ने भएपनि अन्य योजनाको अनुगमन गर्दै सबै योजनामा ध्यान दिएको उपाध्यक्ष पाठकको भनाइ छ । योजनाको काम भैरहँदा नियमित अनुगमन हुने भएकोले गुनासो प्राप्त भएमा तत्काल समाधान गर्ने गरी काम भएको उपाध्यक्ष पाठकले बताए ।

उपभोक्ता समितिले काम गर्दा योजनामा लागत सहभागिता अनिर्वाय छ । दश प्रतिशत लागत सहभागिताका लागि नागरिकले श्रम गर्ने गाउँपालिकाले जनाएको छ । अवसरका लागि बजार केन्द्रित हुनुपर्ने अवस्थाका कारण गाउँमा मानिस नभएकोले समस्या देखिएको छ । वडा र टोलमा रहेका जनताको विकास निर्माण कार्यमा उत्साहजनक सहभागिता हुने गरेको गाउँपालिकाका प्रवक्ता टीकाबहादुर थापाले बताए ।

वडामा नागरिक अभाव भए जस्तै गाउँपालिकामा योजना तथा कार्यक्रम सञ्चालनको कामका लागि कर्मचारी अभाव रहेका छन् । दक्ष जनशक्ति अभावका कारण पनि कतिपय योजनाको काम गर्न समस्या हुने गरेको गाउँपालिकाले जनाएको छ । सिमित कर्मचारी भएपनि हाल सम्म १ सय ३० योजना तथा कार्यक्रमको फरफारक गरिसकेको लेखा अधिकृत कोशलराज पौडेलले जानकारी दिए ।

सम्बन्धित खवर