
पाल्पा । तानसेन ९ का वडाध्यक्ष राजेशकुमार अर्यालले गरेको कामको प्रशंसा हुन थालेको छ । लामो समय पत्रकारिता गरेका अर्याल स्थानीय तहको दोस्रो निर्वाचनबाट तानसेन ९ को वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनी लामो समय सामुदायिक रेडियो मदनपोखरामा स्टेशन प्रबन्धकका रुपमा काम गर्दै दुई कार्यकाल नेपाल पत्रकार महासंघ पाल्पाको अध्यक्ष समेत भएर पत्रकारिता र सामाजिक सेवामा काम गरिसकेका व्यक्ति हुन् ।
समस्या पहिचान र समाधानको विकल्प बारे जानकार अर्याल वडाको जिम्मेवारी प्राप्त गरेसँगै नौलो र फरक रुपमा काम सुरु गरे पछि एक वर्षमा नै स्थानीय जनाताले उनको खुलेर प्रशंसा गर्न थालेका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनको नेतृत्वमा कार्य सम्पादन भएका र वडालाई चिनाउने नयाँ काम गरेका केही सिमित तस्वीरहरु सार्वजनिक गर्दै नागरिकले प्रशंसा गरेका हुन् ।
सामाजिक सञ्जाल प्रयोगकर्ता मदन गैरेले वडाले गरेको कार्यक्रमको तस्वीर राख्दै पत्रकारिता गरेका अर्यालले जनताले सोधेको प्रश्नको उत्तर दिन सक्लान? खरो स्वभाव हुनेले जनता सित भिज्न सक्लान ? भन्ने जनताको कौतुहलता वडाध्यक्षमा निर्वाचित अर्यालले छोटो समयमै मेटाइदिएको उल्लेख गरेका छन् । करिब एक वर्षको समयमा वडाध्यक्ष अर्यालले दमकडा स्वास्थ्य चौकीमा प्रयोगशाला सहितको सुविधा सम्पन्न उपचारको व्यवस्था, ज्येष्ठ नागरिकलाई धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण, दमकडा खाना महोत्सव मात्रै नभै कृषिको उर्वर भूमी मदनपोखरामा वृहत कृषि मेलाको आयोजनाका लागि नेतृत्वदायी भूमिका निर्वाह गरे । यसका साथै दमकडा नमुना माध्यमिक विद्यालयको उच्च व्यवस्थापनमा सफल भएका छन् । यस्ता कामले उनको क्षमता प्रर्दशन गरेको गैरेले उल्लेख गरेका छन् ।
यसका साथै पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा वलीलाई दमकडा क्षेत्रमा रहेका दमकडा नमुना माध्यमिक विद्यालय र मदनपोखरा संगम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अवलोकन र निरीक्षण गराउँदै थप आवश्यक विकासका निम्ती गरेको पहलले यस क्षेत्रको विकासमा आशा थप्ने काम गरेको आम नागरिकको बुझाई रहेको छ । बजेट, योजना र कार्यक्रम पुरानै शैली भएपनि कार्यान्वयनकर्ताको दक्षता भए त्यही काम फरक रुपमा गर्न सकिने र त्यसले अधिक नागरिकको सहभागितासँगै हित हुने नागरिकको भनाइ छ ।