
दयाराज न्यौपाने
बगनासकाली गाउँपालीका ८ बराङ्दीले ज्येष्ठ नागरिक तथा असल बुहारी सम्मान कार्यक्रम गरेको छ । वडा भित्रका ५ जना असल बुहारी र ७५ वर्ष उमेर पूरा भएका ६ जना महिला र ५ जना पुरुष गरी ११ जना ज्येष्ठ नागरिकलाई , सम्मान पत्र , दोसल्ला, टर्चलाईट, थर्मस ,छाता र नगद र मिष्ठान खाना खुवाई सम्मान गरिएको हो ।
वडा सचिव नारायण प्रसाद आचार्यले आर्थिक वर्ष ७९/८० को बजेटबाट वडा कार्यालयको निर्णय बमोजिम असल बुहारीको छनोटको आधार तयार गरी सासु ससुरा संग सगै बसेको, असल व्यवहार प्रस्तुत गरेको, हेरचाहा र थप माया स्नेहगरेको आधारमा असल बुहारी छनोट गरिएको बताए । उनले आगामी दिनमा समेत बुहारी सम्मान कार्यक्रमलाई निरन्तर दिने बताए ।
सम्मान कार्यक्रमका प्रमुख अतिथि बगनासकाली गाउँपालिकाका प्रवक्ता टीका बहादुर थापाले ज्येष्ठ नागरिकहरुको सम्मानले समाजलाई असलकर्मको बाटोमा लाग्न उत्प्रेरणा मिल्ने बताए । उनले समाज र देशको लागि गरेको योगदान निकै महत्वपूर्ण रहेको बताए । गाउँपालिकाले पछिल्लो समय बैंक बाट नै वितरण गर्ने सामाजिक सुरक्षा भत्तालाई टोल टोलमा पुराउने कामको थालनी गरेको उनको भनाइ छ ।
बडा अध्यक्ष मोतिलाल बस्याल बुहारी सम्मान र जेष्ठ नागरिक सम्मानले असलकाममा लाग्न हौसाला प्रदान गर्ने भन्दै सम्मान गर्ने पाउदा खुसी लागेको बताए । बुहारी सम्मान कार्यक्रमले जिम्मेवारी र दायित्व बारे बोध गराउने भएकोले कार्यक्रम प्रभावकारी हुने बताए । सम्मानित बुहारी गीता बश्यालले ज्येष्ठ नागरिकको अनुभवले जीवनलाई सहि बाटोमा हिड्न सहयोग गर्ने बताइन् । सम्मान कार्यक्रममा सहभागी बराङ्दीका जेष्ठ नागरिकहरुले आफूहरुलाई वडा कार्यलयले सम्मान गरेकोमा खुसी व्यक्त गरे । उनीहरुले सम्मानले विगतमा भोगेका तिता भोगाई समेत विर्सीएको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका गणेश प्रसाद बस्याल , नेकपा एमालेका विमला बस्याल , माओवादी केन्द्रका नेत्र प्रसाद बस्याल , सम्मानित ज्येष्ठ नागरिक गणेश प्रसाद बस्याल , दुर्गादेवि घिमिरे लगायतले ज्येष्ठ नागरिक तथा असल बुहारी सम्मान कार्यक्रमले सामाजिक न्याय र सामाजिक संस्कारको राम्रो विकास भएको बताए । यो सम्मान कार्यक्रमले प्रतेक घर परिवारका बुहारीहरु सहभागी बन्ने गरी सिको गर्नु पर्ने बताए । कार्यक्रम ज्येष्ठ नागरिक समन्वय समिति बराङ्दीका संयोजक चन्द्रकान्त बश्यालको अध्यक्षतामा चलेको हो ।