
एवत सारु
रम्भा गाउँपालिकाले विद्यार्थीहरुका लागि तरकारीको बीउ वितरण गरेको छ । गाउँपालिकाले विद्यार्थी संग करेसाबारी कार्यक्रम अन्र्तगत सामुदायिक विद्यालयको कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई निशुल्क रुपमा तरकारीको बीउ वितरण गरेको हो ।
गत वर्ष जस्तै यस वर्ष पनि विद्यार्थी संग करेसाबारी कार्यक्रमबाट विद्यार्थीलाई बीउ वितरण गरिएको हो । गत साल वितरण गरेको बीउबाट विद्यार्थीले आआफ्नो बारीमा बीउ रोपेर राम्रो तरकारी उत्पादन गरेपछि यस वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका भित्रका १६ वटा विद्यालयका २ हजार ४ जना विद्यार्थीलाई ९ प्रकारको वर्षे तरकारी बालीको बीउ प्रदान गरिएको रम्भा गाउ‘पालिका शिक्षा शाखा प्रमुख मीनादेवी आचार्यले जानकारी दिइन् । आगामी शैक्षिक सत्रको प्रथम त्रैमासिक परीक्षामा पेशा व्यवसाय विषयको प्रयोगात्मक मूल्याङ्कन विद्यार्थीले उत्पादन गरेको तरकारीको आधारमा गरिने प्रमुख आचार्यले बताइन् । गाउ‘पालिकाको वार्षिक नीति तथा कार्यक्रम अनुसार वितरण गरिएको बीउ खरिद नियमावलीको प्रक्रिया पूरा गरेर मालुङ्गा एग्रोभेट सेन्टर मार्फत खरिद गरी ल्याइएको बीउ वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत भक्तुजङ्ग रानाले बताए । विद्यार्थीलाई सिमी, कॉक्रो, लौका, चिचिण्डा, घिरौला, फर्सी, बोडी, भिण्डी, करेलालगायतका तरकारीको बीउ वितरण गरिएको हो ।
विद्यार्थीमा श्रम प्रति आस्थावान बनाउन, पोषिलो र पौष्टिक तत्व भएको तरकारी उपलब्ध गराउन, शारीरिक र मानसिक विकासमा सहयोग गर्न, अभिभावकसंगै बसेर काम गर्ने बानी विकास गर्न गाउँपालिकाकाले वार्षिक नीति तय गरेकोले सोही अनुरुप बीउ वितरण गरिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । उनले मौसम र उत्पादनको स्थान अनुसारको बीउ छनोट गरिएकोले उत्पादन राम्रो हुने विश्वास लिएका छन् । सानो परिमाणमा बीउ वितरण गरिए पनि यसको सही व्यवस्थापन र रेखदेखले धेरै उत्पादन हुने जनकल्याण माध्यमिक विद्यालयका बाली विज्ञान प्रशिक्षक लक्ष्मण पाण्डेयले बताए । तरकाली खेतीमा कुनै समस्या आएमा गाउँपालिकाको कृषि शाखामा सम्पर्क राख्न सकिने कृषि शाखाका प्रमुख पुजा गुरुङले बताइन् ।
गत वर्ष गाउँपालिकाले वितरण गरेको बीउबाट करेसाबारीमा गरिएको खेतीले राम्रो उत्पादन दिएको अभिभावक शर्मीला सोमैले बताइन् । उनले बीउ विजन निशुल्क उपलब्ध गराउँदा विद्यार्थीहरु परिश्रमी बन्नुका साथै अध्ययनमा पनि ध्यान दिने गरेको अभिभावकहरुको भनाइ रहेको छ ।