विजयकुमार बौडेल
पूर्वखोला गाउँपालिकाले विगत ५ वर्षदेखि हरेक वर्ष एक सय छात्राहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको जनाएको छ । गाउँपालिकाले हरेक वर्ष छनोट भएका सय जना छात्राहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको हो । गाउँपालिकाको शिक्षा शाखाले यसवर्ष पनि एक सय जना छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ । गाउँपालिकाका शिक्षा शाखा प्रमुख लोकहरी देवकोटाले गरिब तथा जेहेन्दार विद्यार्थीहरुको लागि शिक्षामा सहज पहुँच वृद्धि गर्न छात्रवृत्ति वितरण गर्ने गरेको बताए । प्रमुख देवकोटाले विद्यार्थीलाई सहज रुपमा अध्ययन गर्ने वातावरण सिर्जना गर्न गाउँपालिकाले सुरुका वर्षदेखिनै काम गर्दै आएको बताए ।
छात्रवृत्ति वितरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले विद्यार्थीहरुले आफ्नो लक्ष्य र उद्देश्य पूरा गर्न मेहेनतका साथ अध्ययनमा जोड दिनुपर्ने बताए । उनले पूर्वखोलाको शैक्षिक विकासमा गाउँपालिकाको छात्रवृत्ति कार्यक्रमले विशेष योगदान गरेको समेत बताए ।
पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले पूर्वखोलालाई ज्ञान विज्ञानको केन्द्र र शैक्षिक गन्तव्य स्थल बनाउने उद्देश्यमा विद्यार्थीहरुले आफ्नो तर्फबाट महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । अध्यक्ष थापाले छात्रवृत्ति पाएका विद्यार्थीहरुले सार्थकताका साथ अध्ययनमा जोड दिँदै सामुदायिक भावना उत्प्रेरित गर्नुपर्ने बताए । थापाले आर्थिक कारणले नै शिक्षाको अवसर गुमाउन नपरोस् भन्ने सोचले कार्यक्रममा बजेत विनियोजन गर्ने गरेको बताए ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर सारुले गरिब तथा मेधावी छात्रछात्रालाई पूर्ण छात्रवृत्ति प्रदान गरेपछि अब आर्थिक अभावले अध्ययन नरोकिने बताए । विगतमा आर्थिक अभावकै कारण पढ्ने इच्छा पुरा नभएका विद्यार्थीको अवस्था देखेर शैक्षिक अवस्था सुधारका लागि पहल थालेको सारुको भनाइ थियो ।
कार्यक्रममा दमकडा माध्यमिक विद्यालयका शिक्षक जीवन आचार्यले गाउँपालिकाले गरिब परिवारका जेहेन्दार छात्रछात्राको पढाईमा सहयोग गर्नु राम्रो भएको बताए । आचार्यले आर्थिक कारणले नै शिक्षा प्राप्त गर्ने अवसर गुमाउन नपरोस् भनेर पूर्वखोला गाउँपालिकाले थालेको कार्य शिक्षामैत्री भएको बताए । यसै अवसरमा गाउँपालिकाले गाउँपालिकाका उत्कृष्ठ शिक्षक, खेल शिक्षक र राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा पदक प्रप्त गर्ने विद्यार्थीहरुलाई समेत सम्मान गरेको थियो ।