
पाल्पा । राष्ट्रिय परीक्षा बोर्डले लिने माध्यमिक शिक्षा परीक्षा (एसइई) तयारी पाल्पामा पूरा भएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ । परीक्षा चैत १७ गते शुक्रबारदेखि सुरु भएर चैत २९ गतेसम्म चल्ने छ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने इकाईले जनाएको छ । पाल्पामा परीक्षा सञ्चालनका लागि आवश्यक सबै कार्य सम्पन्न भएको छ ।
यस वर्षको एसइई परीक्षामा पाल्पा जिल्लाबाट १ सय ३७ वटा विद्यालयका विद्यार्थीहरु सहभागी हुनेछन् । जस अन्र्तगत ११ वटा प्राविधिक धार, २० वटा संस्थागत विद्यालय र १ सय १७ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरु रहेका छन् । यी विद्यालयहरुबाट ४ हजार ५ सय ४६ जना विद्यार्थीहरुले परीक्षा दिने शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका प्रमुख महेन्द्र सुवेदीले जानकारी दिए ।
परीक्षा संचालनको लागि जिल्लामा २७ वटा परीक्षा केन्द्रहरु तोकिएको छ । जसमा २७ जना केन्द्राध्यक्ष, ३१ जनासहायक केन्द्राध्यक्ष, २ सय २६ जना निरीक्षक, ४६ जना सहायक कर्मचारी, ९१ जना विद्यालय सहयोगी कर्मचारी र १ सय ३५ जना सुरक्षाकर्मीहरु परिचालन हुने इकाई प्रमुख सुवेदीले जानकारी दिए । एसइई परीक्षामा साधारण तर्फबाट २२५७ जना छात्रा र २२८९ जना छात्रहरु गरी जम्मा ४ हजार ५ सय ४६ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । जसमा प्राविधिक धारतर्फ १ सय १५ जना छात्रा र एक सय २४ जना छात्र समावेश छन् । यसै गरी ७५ जना छात्रा र ३९ जना छात्रहरुले ग्रेडवृद्धीको परीक्षा दिने छन् । यस वर्षको एसइई परीक्षामा जनता माध्यमिक विद्यालयमा सञ्चालित खुल्ला विद्यालयबाट पाल्पा कारागारमा रहेका २ जना कैदीबन्दी विद्यार्थीहरुले परीक्षा दिने प्रमुख सुवेदीले बताए ।
उनका अनुसार २ सय ५० जना भदा बढी विद्यार्थीहरु सहभागी हुने केन्द्रहरुमा २ जना सहायक केन्द्राध्यक्ष रहने व्यवस्था रहेको समेत जानकारी दिए । यस पटकको एसइई परीक्षामा पाल्पा जिल्लामा परीक्षा सञ्चालनका लागि तोकिएको परीक्षा केन्द्र मध्य सबैभन्दा बढी पाल्पाको रामपुरमा रहेको दरैठाटी माध्यमिक विद्यालयको परीक्षा केन्द्रबाट सबैभन्दा बढी २ सय ८६ विद्यार्थीले परीक्षा दिने छन् । यसका साथै बगनासकाली गाउँपालिका वडा नंं ५ मा रहेको दर्लमडाँडा माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट सबैभन्दा कम ६८ जनाले परीक्षा दिने शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका प्रमुख सुवेदीले बताए ।
अहिलेसम्म २७ वटै परीक्षा केन्द्रमा उत्तरपुस्तिका र प्रश्नपत्र पठाउने काम सकिएको छ । यस्तै गरी केन्द्राध्यक्ष नियुक्ति र अभिमुखिकरण गर्ने काम भएको इकाईले जनाएको छ । परीक्षा केन्द्रमा आवश्यक कर्मचारी, सुरक्षाकर्मी सहित खटाउने कार्य भएको छ । अनुगमनको जिम्मेवारी तोकिएको, स्थानीय निकायहरुलाई एसइई परीक्षा शान्त, मर्यादित र विद्यार्थीमैत्री वातावरणमा सम्पन्न गर्न समन्वय र सहजीकरणका लागि अनुरोध गरिएको छ । यसका साथै परीक्षा मर्यादित रुपमा सञ्चालन गर्नका लागि जिल्ला परीक्षा समन्वय समिति पाल्पाले ३५ बुँदे निर्देशन जारी समेत गरेको छ । स्थानीय तहमा परीक्षाको अनुगमन गाउँपालिका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखा प्रमुखले गर्नेछन् । यस अलवा परीक्षा समन्वय समितिले पनि अनुगमन गर्ने इकाई पाल्पाले जनाएको छ । पत्रकारहरुलाई आवश्यक रुपमा परीक्षा केन्द्रमा पर्यवेक्षणका लागि परीक्षा केन्द्रमा प्रवेश गर्न पासको व्यवस्था गरिएको छ । यस पटक २७ वटै परीक्षा केन्द्रहरुमा प्राथमिक स्वास्थ्य उपचारका लागि सामग्री व्यवस्था गरिएको छ ।