माथागढीमा ‘लम्पी स्किन रोग’ संक्रमण पुष्टि

पाल्पा । माथागढी गाउँपालिका ५ गोठादीमा गाई, भैंसी तथा गोरु र बाच्छा बाच्छीमा लाग्ने लम्पी स्किन रोगको संक्रमण फैलिएको छ ।

लम्पी स्किन रोग पाल्पामा पहिलो पटक देखिएको हो । पशुमा लम्पी स्किन रोगको लक्षण देखापरेका कारण नमुना संकलन गरेर पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पोखरा पठाएपनि परीक्षणका लागि उपयुक्त प्रविधि नभएपछि काठमाडौंको केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पिसिआर नमुना पठाएर भाइरस पत्ता लगेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाका निमिक्त प्रमुख दुर्गाप्रसाद खनालले जानकारी दिए ।

विगतका वर्षमा देशको अन्य जिल्लामा देखिएको रोग पाल्पामा पहिलो पटक देखा परेको हो । नयाँ रोगका रुपमा फेला परेको रोग भाइरस मार्फत सर्छ । यसको औषधि र उपचार छैन् । अन्य भाइरल रोगहरुमा जस्तै वैकल्पिक औषधि मार्फत उपचार गरिएको पशुसेवा प्राविधिक युवराज ज्ञवालीले जानकारी दिए ।

गाई गोरुको छालामा ग्रिखा आउने, ज्योरो आउने, पाक्ने, सुन्निने, उत्पादनमा कमी जस्ता लक्षणहरु देखिएमा लम्पी स्किन रोग हुनसक्छ समयमै उपचार गर्नुपर्ने पशु चिकित्सक नविन बस्यालले बताए । रोगसंग सम्बन्धित लक्षण पशु चौपाँयामा देखिएमा सार्वजनिक स्थलमा चरणका लागि नलैजाने, अन्य गाई गोरु संग सम्पर्कमा नल्याउने, जैविक सुरक्षा अपनाउनेलगायतका कार्यबाट रोग नियन्त्रण गर्न सकिने पशु सेवा प्राविधिकहरुको भनाइ रहेको छ ।

यस्ता लक्षण भएका पशुहरु निस्दी र तिनाउ गाउँपालिकामा पनि देखिएको पशुपालक किसानहरुले बताएका छन् । यी स्थानमा देखिएको संक्रमण लम्पी स्किन रोग हो वा होइन भन्ने विषयमा एकिन भएको छैन् । तर सुरक्षा मापदण्ड अपनाउन स्थानीय तहले सार्वजनिक सूचना जारी गरी अपील गरेका छन् ।

सम्बन्धित खवर