दयाराज न्यौपाने
पाल्पा । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पाल्पाको पर्यटकीय क्षेत्र रानीमहल दरबारको अबलोकन गरेका छन् । ओलिले रानी तेज कुमारीको सम्झनामा निर्माण भएको दरबारको नाम तेज रानीमहल राख्नु उपयुुक्त हुने धारणा व्यक्त गरे । उनले दरबार जस्को सम्झनामा बनाइएको हो उसको नाम जोडिनु सान्दर्भिक हुने बताए । पछिल्लो समय युवा पुस्तामा माया प्रेमको अभाव भएको कुरा दर्शाउदै माया, प्रेम र सद्भावका लागि पाल्पाको रानीमहल पुग्न सके जोडि बनेको सार्थक हुने उनको भनाइ थियो । रानीमहलकै कारण यो क्षेत्रमा विकास सुरु भएको र यसको संरक्षण र प्रचार अभियानमा एमालेको भूमिका महत्वपूर्ण रहेको बताए ।
कालीगण्डकीको तिरमा स्नान गर्ने समेत पुग्नु भएका अध्यक्ष केपि शर्मा ओलीले सालिकराम पाइने एकमात्र नदिको धार्मिक महत्व रहेको बताउदै उत्तरवाहिनी नदिको तिरमा रहेको रानिमहलको प्रचार प्रसारमा सबैको चासो र चिन्ता हुनु पर्नेमा जोड दिए । कार्यक्रममा ओली धर्मपत्नी राधिका शाक्यले युवाहरु छिनमै माया र छिनमै बिछोडको कहालीलाग्दो सोच र व्यवहार गर्ने गरेको कुरा उल्लेख गर्दै खड्ग र तेज कुमारीको जस्तो दीगो प्रेम बनाउनु पर्ने उनको भनाइ थियो ।
अवलोकनमा नेकपा एमालेका पोलिट्ब्युरो सदस्य तथा पाल्पा क्षेत्र नम्बर २ का संघीय सांसद ठाकुर गैरेले विकासमा आफू निरन्तर लाग्ने बताउदै देशको नेतृत्व समालेका नेता पाल्पाका विभिन्न ठाउको भ्रमणले ठूलो महत्व राख्ने बताए । अध्यक्ष ओली रानीमहलमा पूर्व मन्त्री प्रदीप कुमार ज्ञवाली, एमालेका नेता राजन भट्टराई ,जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेसहित नेता कार्यकर्ता सहित पुगेका थिए । ओली तथा अन्य नेताहरुलाई बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदी, प्रबक्ता टीका थापा र तानसेन नगरपालिकाका कावा नगर प्रमुख यादव सिंह कार्की सहितका जनप्रतिनिधिले रानिमहलको संक्षिप्त परिचय सहित स्वागत र मायाको चिनो प्रदान गरे ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको दुई महिने पार्टी सुदृढीकरण तथा विस्तार अभियान ( मिसन ग्रास रुट) अन्र्तगत पाल्पाका अगुवा कार्यकर्तालाई तानसेन ९ दमकडामा सम्बोधन गर्न मंगलबार तानसेन आएका हुन्् । एक रात तानसेन बसेका अध्यक्ष ओलीले तानसेन ९ को दमकडामा रहेको दमकडा नमुना माध्यमिक विद्यालय, मदनपोखरा संगम बहुउद्देश्यीय सहकारी संस्था, पाल्पा दरबारलगायतका स्थानको अवलोकन गरेर बुधबार फर्कीएका छन् ।