खोपकर्तालाई अभिमुखिकरण

पाल्पा । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाले भ्याक्सिनेटर अर्थात खोप कर्तालाई अभिमुखिकरण कार्यक्रम चलाएको छ । आर्थिक वर्ष २०७९/८० को वार्षिक कार्यक्रम अनुसार खोरेत रोज उन्मुलन अभियान कार्यक्रम अन्र्तगत खोप कार्यक्रम सञ्चालनको लागि खोप कर्तालाई अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

पाल्पाका दश स्थानीय तहका पशु सेवा शाखामा कार्यरत प्राविधिक तथा अन्य निजी क्षेत्रमा क्रियाशील पशु प्राविधिकहरुको सहभागिता रहेको अभिमुखिकरणमा पशु चिकित्सक निविन बस्यालले खोप कार्यक्रम संचालन कार्यविधि र गर्नुपर्ने कामका विषयमा जानकारी गराए । उनले जिल्लाका पशुहरुको तथ्याँक नभएपनि केन्द्रबाट यस वर्षका लागि आवश्यक मात्रा खोप आएको जानकारी दिए । पशु चिकित्सक बस्यालले चालु् आर्थिक वर्षका लागि खोरेत रोगका लागि २९ हजार ७ सय डोज खोप प्राप्त भएको जानकारी गराए । यसका साथै पिपिआर खोप एक लाख ४९ हजार, स्वाइन फिवर २१ हजार र रानीखेत रोगका लागि ६३ हजार डोज खोप कार्यालयमा आएको बताए ।

यो आर्थिक वर्षमा पाल्पा जिल्लामा ३० जना खोप कर्ता मार्फत खोप अभियान सञ्चालन गरिने कार्यालयका निमित कार्यालय प्रमुख दुर्गाप्रसाद खनालले जानकारी दिए । उनका अनुसार स्थानीय तहका पशु सेवा प्राविधिकहरुको समन्वय र सहकार्यमा खोप लगाउने काम हुने छ । खोप कर्ताले खोरेत रोगको खोप लगाएमा प्रति पशु पन्घ्र रुपैयाँमा प्राप्त गर्नेछन् । यस्तै पिपिआरको प्रतिसंख्या ५ र कुखुरामा खोप लगाउँदा पनि प्रति कुखुरा (रानीखेत) १ रुपैयाँ प्राप्त गर्ने कार्यलयले जनाएको छ । खोप कर्तालाई भूगोलका हिसावले काम गर्दा हुनुक्ने सम्भाव्य दुर्घटनाको जोखिमलाई मध्यनजर गरी यस वर्ष एक लाख बराबरको दुर्घटना बीमा समेत गरिदिने व्यवस्था रहेको पशु सेवा प्राविधिक युवराज ज्ञवालीले जानकारी दिए ।

कार्यक्रममा निमित कार्यालय प्रमुख खनालले खोप कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्न आग्रह गरे । उनले पशुपालक किसानलाई पशुमा रोग देखिएपछि उपचार खोज्नुभन्दा रोग लाग्नबाट बचाउनका लागि खोप कार्यक्रम आवश्यक रहेको समेत बताए । प्रमुख खनालले निशुल्क उपलब्ध हुने खोपले पशु स्वास्थ्यमा ठूलो भूमिका खेल्ने बताउँदै आम पशुपालक किसानहरुलाई सचेत बनाएर खोप कार्यक्रममा समेटनुपर्नेमा जोड दिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय