डा राउतको संर्घष

पाल्पाको पश्चिम क्षेत्रमा रहेको साविकको सोमादी गाउँपञ्चायत हाल रैनादेवी छहरा गाउँपालिका वडा नंं २ को दीगमा २०२४ साल असार १६ गते ममतामयी माता तुलसा राउत र पुज्यनीय पिता तिल बहादुर राउतको सात सन्तानमध्य ७ औं सन्तानका रुपमा जन्मिएका थिए रामबहादुर राउत ।

सामान्य गाउँले परिवारमा जन्मेका राउतको विद्यार्थी जीवन सुरु हुँदा गाउँमा अध्ययन गर्ने कुनै स्कुल थिएनन् । त्यतिबेला उनका पिता तिल बहादुर राउत, गाउँका भलादमी वामदेव भण्डारी, जोग बहादुर थापा, पुरुषोत्तम पन्थ र भोजराज कोइरालाको अग्रसरतामा हालको गंगा माध्यमिक विद्यालय तत्कालिन गंगा निम्न माध्यमिक विद्यालयको शाखाको रुपमा गाउँको चौरमा कक्षा सञ्चालन भएपछि उनले कखरा अध्ययनको सुरु गर्ने अवसर प्राप्त गरेका थिए । पछि त्यहि स्कुलले भगवती प्राथमिक विद्यालयको रुपमा मान्यता पाएर हाल भगवती आधारभूत विद्यालयको रुपमा सञ्चालनमा छ । यो विद्यालयमा कक्षा ३ सम्म अध्ययन गरेर कक्षा ४ का लागि घर देखि करिव डेड घण्टा टाढा रहेको भैरव नवदीप निम्न माध्यमिक विद्यालय छहरामा अध्ययन गरे । अहिले यो विद्यालय भैरव नवदीप नमूना माध्यमिक विद्यालयको रुपमा आफ्नो परिचय बनाएको छ ।

२०४० को एस एल सी परीक्षामा भैरव नवदीप माध्यमिक विद्यालयबाट दोस्रो स्थानमा  उर्तीण गरेका राउत सुरुमा शिक्षा विषय अध्ययन गर्न बुटवल बहुमुखी क्याम्पस बुटवल गए । सानै उमेर देखि राजनीतिक क्षेत्रमा चाख राख्ने राउत २०४१ सालको स्ववियु निर्वाचनमा पञ्चायती पक्षधर विद्यार्थीबाट आक्रमण हुँदा उनको खुट्टा भाँचिएको थियो । त्यसपछि केही समय उनी अध्ययनबाट टाढा रहे । उनी गाउँकै स्कूलमा शिक्षक बनेर अध्यापन गराउन थाले । करिब ३ वर्ष शिक्षकको जागिरे भएपछि राउत २०४४ सालमा कानून विषय अध्ययन गर्न पुनः बुटवल बहुमुखी क्याम्पस झरे । २०४६ मा आइएल दोश्रो वर्षको परीक्षा सकिए लगत्तै २०४६ सालको आन्दोलनको नेतृत्व गर्न गाउँमा पुगेका राउत आन्दोलनको नेतृत्व गर्दा गर्दै पक्राउ परेर निर्मम यातना सहित पाल्पा कारागारमा ४० दिन बिताए । बहुदल पुनस्थापना भएपछि जेलबाट छुटेर उनी पार्टीको राजनीतिमा पुन गाउँमै व्यस्त रहन थाले ।

गाउँकै राजनीतिमा क्रियाशील राउत २०४८ साल फागुनमा औपचारिक रुपमा तानसेनको बसाई छनोट गरे । तानसेनमा सानो गाउँले रेष्टुरेन्ट खोलेर जीवनको गुजारा चलाए । २०४९ सालमा त्रिभुवन बहुमुखी क्याम्पसमा बिएल खुले पछि उनि त्यहाँ अध्ययनका लागि भर्ना भए । रेष्टुरेन्ट सञ्चालन गर्दैतस समय व्यवस्थापन गरी अध्ययनका साथै राजनीति गर्दै अगाडि बढेका राउतको अध्ययनले भने नियमितको लय समात्न कहिल्यै सकेन । हिम्मत र सर्घषशील व्यक्तित्व भएकाले २०५३ सालमा बिएलको अध्ययन सकेर अधिबक्ताको परीक्षामा समेत सहज रुपमा पास गर्न सफल भए । यसपछि उनको नयाँ यात्रा सुरु भयो । कानून व्यवसायीको रुपमा काम गर्दै २०५६ सालमा काठमाण्डौको त्रिचन्द्र कलेजमा समाजशास्त्रमा भर्ना हुन पुगे । पाल्पाको राजनीतिक, सामाजिक अभियानका साथमा व्यवसायिक काम संगै स्वअध्ययन मार्फत उनले २०५८ सालमा स्नाकोत्तर उर्तीण गरे ।

सामाजिक, राजनीतिक अभियानमा क्रियाशील हुँदै पुन २०६९ सालमा ग्रामीण विकासको स्नाकोत्तर अध्यनका लागि त्रिचन्द कलेजमा भर्ना भए । २०७२ सालमा ग्रामीण विकासको अध्ययन सकेका राउतले आफ्नो ज्ञान, सीप र अनुभवबाट समाज रुपान्तरण गर्ने उद्देश्य अनुसार २०७४ सालको स्थानीय तहको निर्वाचनमा रैनादेवी छहरा गाउँपालिकाको अध्यक्षको उम्मेदवार बन्ने निर्णय गरे । पदबाहिर रहेर जनताको दैनिकीमा सघाउदै आएका उनलाई जनताले पदका लागि भने मत दिएनन् । तर, उनमा जनताको सेवा गर्ने हुटहुटी हटेन निरन्तर सेवामै लागिरहे । यसैसिलशिलामा भारतको मेघालयमा रहेको सिएमजे विश्वविद्यालयमा समाजशास्त्र विषयमा विद्यावारिधीका लागि भर्ना हुन पुगे । गाउँका मानिसका हरेक दुखा सुखमा हातेमालो गर्दै त्यो कोभिड १९ को कहरमा सक्रिय भए । सामाजिक, राजनीतिक क्षेत्रको भूमिकामा क्रियाशील रहर्दै अध्ययनलाई निरन्तरता दिएर हालसालै समाजशास्त्र विषयमा ब्रेकथ्रुरु प्लानिङ प्रोसेस फर पोजेटिभ सोसाइटल चेन्ज इन कम्युनिटि शिर्षकमा विद्यावारिधी गर्न सफल भएका छन् ।

उनले यो विद्यावारिधीमा योजना तर्जुमा प्रकृयामा नयाँ आयाम थपेका छन् । नेपाल प्रशंसनीय दृष्टिकोण राष्ट्रिय सञ्जाल नामक सकारात्मक सोच मार्फत सकारात्मक रुपान्तरणको अभियान सञ्चालन गरिरहेका राउत योजना तर्जुमा प्रकृयामा समस्या खोजेर होइन क्षमता पहिचान गर्दै परिकल्पनाका आधारमा योजना तर्जुमा गर्दा सफलतामा पुग्न सकिन्छ भन्ने कुरा यो प्रकृया मार्फत पुष्टि गरिएको पाइन्छ ।

उनले यो अवधारणा नेपालको ताप्लेजुङको ढुंगेसाँघु, मोरङको इटहरा र पाल्पाको सोमादीमा योजना तर्जुमा प्रकृयाको अभ्यास गरिसकेकाछन् । जनताको व्यापक सहभागितामा मार्फत सो स्थानको विगतका सफलताको खोजी, सो स्थानका क्षमता, क्षमताको अवस्था र सो स्थानका अगाडिका अवसरका बारेमा विश्लेषण गर्दै भविष्यको परिकल्पना गर्ने पद्धतिका आधारमा योजना तर्जुमा गर्दा प्रभावकारी हुन्छ भन्ने विषयमा खोज अनुसन्धान गरेर विद्यावारिधीको उपाधि प्राप्त भएको हो ।
उनको यो विज्ञतालाई सरकार र अन्य संघसंस्थाले उपयोग गर्न सके प्रभावकारी योजना निर्माण हुने देखिन्छ । स्थानीय सरकारले रणनीतिक योजना तर्जुमा, आवधिक योजना तर्जुमा, दीर्घकालीन योजना तर्जुमा गर्न, संघसंस्थाले विभिन्न तहका योजना तर्जुमा गर्न र हरेक परिवारले पारिवारीक योजना निर्माण गरेर परिवारलाइ योजनावद्ध तरिकावाट सञ्चालन गर्न उनको सीपलाई प्रयोग गर्न सकिन्छ । यो सीपको प्रयोगबाट मुलुकलाई समृद्धिको दिशा दिन सकिन्छ ।

सम्बन्धित खवर