माथागढीको बहादुरपुरका महिलाले लिए होजियारी तालिम

पाल्पा । स्थानीय तहको दोस्रो निर्वाचन भएपछि माथागढी गाउँपालिकामा आएको नयाँ नेतृत्वले महिलाहरुको सीप विकासमा जोड दिएको छ । महिलाहरुलाई सीप दिएर आत्मनिर्भर बनाउने उद्देश्यले विभिन्न सीपमूलक तालिम सञ्चालन गरिरहेको गाउँपालिकाले जनाएको छ । अधिकांश वडा तहमा महिलाहरुलाई उद्यमी बनाउने गरी तालिम चलेको गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले बताए । यसै बीच माथागढी गाउँपालिका वडा नं. ८ बहादुरपुरमा एक महिने होजियारी सम्बन्धी सीप विकास तालिम सम्पन्न भएको छ ।

माथागढी गाउँपालिकाको उद्यम विकास शाखाबाट सञ्चालित एक महिने मेसिन होजियारी सम्बन्धी सीप विकास तालिम सम्पन्न भएको हो । माथागढी गाउँपालिका वडा नं. ८ बहादुरपुरका १० जना महिलाहरु तालिममा सहभागी भएका थिए । माथागढी गाउँपालिकाकी उपाध्यक्ष बिष्णुमाया लुङ्चेले बेरोजगार महिलाहरूलाई रोजगारीको अवसर सृजना गर्दै आय स्रोतमा वृद्धि हुने र तालिममा सहभागीहरूको माग अनुसार सहभागीहरूलाई स्तरोन्नति (लेबल अप) को तालिम समेत उपलब्ध गराउने बताइन् । उपाध्यक्ष लुङ्चेले धेरै दक्ष जनशक्ति उत्पादन गरी स्वरोजगार बनाउनका लागि तालिम सञ्चालन गरिएको बताइन् ।

माथागढी गाउँपालिका ८ नं. वडा अध्यक्ष दिल बहादुर ढेङ्गाले तालिममा सिकेका कुराहरूलाई व्यवहारमा लागु गर्दै आर्थिक उन्नति गर्नुपर्ने बताए । उनले मेसिन होजियारी सम्बन्धी सीप विकास तालिमबाट हुने फाइदाहरूको बारेमा प्रष्ट पारे । सहभागी पुनम रानाले ३० दिन सम्मको मेसिन होजियारी सम्बन्धी सीप विकास तालिममा मफलर, स्कूल डे«सको स्विटर, हाइनेक, टोपीलगायतका सामग्री उत्पादन गर्न सक्ने बताइन् । उनले ऊनबाट बन्ने लुगा बनाउन समेत सिकेको बताइन् । रानाले उत्पादन भएको वस्तु विक्री वितरणका लागि बजारिकरणको समस्या नभए सहभागी महिलाहरुले धेरै भन्दा धेरै सामग्री उत्पादन गरेर आम्दानी बढाउने बताइन् । सहभागी रानाले उत्पादित समग्रीको बजारीकरणको सहजीकरण गरिदिन गाउँपालिकालाई अनुरोध समेत गरिन् । गाउँपालिकाले महिलाहरुले उत्पादन गरेको सामग्रीहरुको विक्री वितरणमा आवश्यक सहजीकरण गर्ने बताउँदै आएको छ । तालिममा सीप विकास केन्द्रका सदस्य तथा प्रशिक्षक याम कुमारी सारुले घरमा खाली समय बिताएका महिलाहरुलाई सीप सिकाइ आत्मनिर्भर बनाउने उद्देश्यले यो तालिम सञ्चालन गरिएको भन्दै तालिमले धेरै महिलाहरु आत्मनिर्भर हुने र होजियारी उद्योग नै खोलेर बस्न सक्ने अवस्था तयार गर्नुपर्नेमा स्थानीय सरकार गम्भीर हुनुपर्ने बताइन् ।

कार्यपालिका सदस्य भिम कुमारी परियारले तालिम धेरै चले पनि व्यवहारिक हुन नसकेका धेरै उदाहरण भएको भन्दै बहादुरपुरमा सञ्चालन भएको तालिमले महिलाहरु आत्मनिर्भर हुनुपर्ने बताइन् । परियारले महिलाहरुले उत्पादन गरेको सामग्रीको बजार व्यवस्थापन गर्न पालिका सरकारले योजना बनाएर लाग्ने विश्वास व्यक्त गरिन् ।
वडा सदस्य माया विकले महिलाहरु लगनशील भएर काम गरेको भन्दै आगामी दिनमा वडा कार्यालय मार्फत थप सहयोग समेत गर्ने बताए । गाउँपालिकाले चालु आर्थिक वर्षमा महिलाहरुको सीप विकासका कार्यक्रमका लागि गाउँपालिका आफै र अन्य निकायसंगको समन्वयमा कार्यक्रम गदै आएको पालिका अध्यक्ष चिदीको भनाइ छ । महिलाहरुको आवश्यकता र माग भएमा स्वरोजगारमूलक सीपका कार्यक्रम सञ्चालनलाई प्राथमिकताका साथ अगाडि बढाइने उनको भनाइ छ

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय