डढेलो जनचेतना सप्ताहमा विविध कार्यक्रम

पाल्पा । पाल्पामा हुने अधिकांश वनको डढेलो जानाजानी वा स्वार्थपूर्तिका लागि हुने गरेको पाइएको छ । डिभिजन वन कार्यालय पाल्पाले वन डढेलो जनचेतना सप्ताह २०७९ को सन्र्दभमा आयोजित पत्रकार सम्मेलनमा प्रस्तुत प्रेस वक्तव्यमा यो कुरा उल्लेख छ । पाल्पामा वन डढेलो ९६ प्रतिशत मानविय कारणबाट लाग्ने गरेको छ । यसमा सामुदायिक वनको जिम्मा लिएका उपभोक्ता समितिहरुलाई जिम्मेवार र नियमन गर्न नसक्दा वर्षेनी समस्या निम्तने गरेको सरोकारवालाको भनाइ छ ।

हरेक वर्षको चैत्र महिनाको १ गते देखि ७ गते सम्म वन डढेलो जनचेतना सप्ताह मनाउने गरिन्छ । सोही अनुसार यस वर्ष पनि डिभिजन वन कार्यालयले विभिन्न जनचेतनामूलक कार्यक्रम गरी सप्ताह मनाइरहेको छ । यसका साथै कुनै कारणले डढेलो लागेमा तत्काल नियन्त्रणका लागि वन अधिकृत उपेन्द्र अर्यालको संयोजकत्वमा द्रुत परिचालन समूह गठन गरिएको छ । आवश्यक औजारको व्यवस्थापन सहित जिल्लाका सुरक्षा निकाय, नगरपालिका र सामुदायिक वन उपभोक्ता महासंघको समूहमा सहभागिता रहेको डिभिजन प्रमुख नारायणदेव भट्टराईले जानकारी दिए ।

सप्ताहव्यापी कार्यक्रममा पूर्व तयारी चरणहरु सकेर चैत्र १ गते श्रीनगर क्षेत्रबाट सप्ताहको शुभारम्भ सहित वन डढेलो नियन्त्रका लागि अग्नी रेखा सरसफाईको काम सकिएको छ । आज चैत्र ६ गते (साेमबार) तानसेन टुडिखेलमा र भाेली (मंगलबार)७ गते तिनाउ गाउँपालिका वडा नं १ कचलमा जनचेतामूलक वृहत साँस्कृतिक कार्यक्रम गर्ने तयारी छ । साँस्कृतिक कार्यक्रममा चिज गुरुङ र अस्मिता डल्लाकोटीको विशेष उपस्थिति र स्थानीय झाँकी, लोक बाँजा, नाटक र जीरो एक्स ब्याण्डको प्रस्तुति रहने छ । यसका साथै स्कूल शिक्षा, ज्वलनशील पर्दाथको व्यवस्थापनमा सहजीकरण, अग्नी रेखा सरसफाई, प्राङगारिक मल उत्पादन उद्यम सञ्चालनमा सहयोग, समूह परिचालन, सञ्चार माध्यमबाट सचेतनामूलक सामग्री प्रकाशन प्रसारणलगायतका कार्यक्रम हुने डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ ।

पाल्पाको दश स्थानीय तहमध्य रम्भा, रामपुर र बगनासकालीमा वन ढडेलोको उच्च सम्भावना छैन । वन डढेलोको उच्च संवेदनशील भएको गाउँपालिकाहरुमा रिब्दीकोटका ५ वडा, तिनाउका ४ वडा, तानसेनका ४ वडा, रैनादेवी छहराका ४ वडा, माथागढीका ४ वडा, निस्दीका ३ वडा र पूर्वखोलाका ३ वडा रहेका छन् । यो प्रतिशतका हिसाबले कूल ८१ वटा वडा मध्य २७ वडा रहेको छ । जसको प्रतिशत ३७ प्रतिशत हुन जान्छ । यस्तै मध्यम संवेदनशीलता २९ प्रतिशत र न्यून सम्भावना रहेको वडा २५ प्रतिशत रहेको डिभिजन प्रमुख भट्टराईले बताए ।

आर्थिक वर्ष २०७७/७८ मा पाल्पाका ७१ स्थानमा वन डढेलो लागेको थियो । जसमा परेर एक जनाको मृत्यु भएको थियो भने १० भन्दा बढी पशुधनको क्षति भएको थियो । गत आर्थिक वर्षमा निरन्तर वर्षा र उपभोक्ताको सक्रियताका कारण ५ वटा मात्र घटना भएको रेञ्जर यमलाल पोखरेलले बताए । उनका अनुसार यो वर्ष लामो समय वर्षा नभएका कारण डढेलो लागेमा ठूलो दुर्घटना निम्तन सक्ने भएकोले सचेतना र उपभोक्ताहरुको क्रियाशीलता आवश्यक रहेको बताए ।

पाल्पामा ७ सय ४ सामुदायिक वनहरु रहेका छन् । यी सामुदायिक वनहरुमा डढेलो लागेमा आन्तरिक रुपमा कारवाही गर्ने व्यवस्था गरिएको हुन्छ । यदि जिल्ला अदालतमा मुद्दा दर्ता गरेको खण्डमा सामुदायिक वनमा डढेलो लगाएको कसुर ठहर भएमा वन ऐन २०७६ को दफा ४९÷५० अनुसार ६० हजार जरीवाना सहित तीव वर्ष जेल सजाए हुने कानूनी व्यवस्था रहेको छ ।

सम्बन्धित खवर