
पाल्पा । अन्ततः तानसेन नगरपालिकाले पाल्पा दरवार संग्रहालय वरिपरीका ५७ घर टहरा भत्काउने भएको छ । दरबार परिसरको सौन्र्दयकरण तथा विकासका लागि बाहिर रहेका घरटहराका संरचना हटाउने निर्णय गरेको हो । नगरपालिकालाई गएको माघ १० गते पुरातŒव विभागले पत्राचार गरी तानसेन नगरको विकासका लागि दरबार क्षेत्रका संरचनाहरु हटाउन सहजीकरण गर्न अनुरोध गरे बमोजिम बैठकबाट निर्णय गरी प्रक्रिया अगाडि बढाइएको नगरपालिकाले जनाएको छ ।
पुरातŒव विभागको पत्र प्राप्त भएपछि पत्रका विषयमा तानसेनले सर्वदलीय, सर्वपक्षीय बैठक राखेर छलफल गराएको थियो । छलफलमा सहभागीहरुले तानसेनलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि घरटहरा भत्काउनुपर्ने सल्लाह सुझाव राखे अनुसार काम सुरु गरिएको हो । सर्वपक्षीय सहमती र सुझावको निष्कर्षका आधारमा कार्यपालिकाले तानसेनको सौन्र्दयकरण तथा पर्यटकीय क्षेत्रको विकास तथा विस्तारका लागि घरटहरा भत्काउने निर्णय गरेको तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले जानकारी दिए । निर्णय अनुसार तानसेन नगरकार्यपालिकाको शितलपाटी मूलढोका क्षेत्र वरपर र मखनटोल क्षेत्रमा रहेका ५७ घरटहराहरु पहिलो चरणमा भत्काइने प्रवक्ता कार्कीको भनाइ रहेको छ ।
जसका लागि आवश्यक प्रक्रिया स्वरुप मंगलबार नै ३५ दिने सार्वजनिक सूचना जारी गरिएको छ । आफू मातहत रहेका र व्यवसायी संग सटर सम्झौता भएकाहरुका लागि एक महिनाको समयसीमा दिएर सम्झौता रद्दको पत्राचार समेत बुधबार गरिएको छ । यसका साथै अन्य संस्था तथा व्यक्तिहरुलाई पनि सम्झौता रद्द गरी दरबार परिसरको क्षेत्र विस्तारमा सहयोग र सहजीकरणका लागि आग्रह गरिएको छ । पहिलो चरणमा भत्काइने घरटहराहरुमा तानसेन नगरपालिकाले निर्माण गरी व्यवसायिक प्रयोजनका लागि भाडामा लगाएको १३ वटा सटर, घरेलु तथा साना उद्योग कार्यालयको मातहतमा रहेका १३ वटा सटर, नेपाल रेडक्रस सोसाईटी र कर्मचारी मिलन केन्द्र मातहतमा रहेका तीन÷तीन वटा सटर, नेपाल बाल संगठनको मातहतमा रहेको एक सटर रहेका छन् ।
यस्तै २००२ सालदेखि २०२२ साल भित्र विभिन्न समयमा देशको कुनै ठाउँमा भूमि नभएका भूमिहिन व्यक्तिका नाममा वितरण गरिएको २४ वटा घरटहरा रहेको सूचना अधिकारी भरतप्रसाद आचार्यले बताए । यस क्षेत्रमा रहेका यी सटर तथा टहराहरुमा व्यवसाय सञ्चालनमा रहेका छन् । आÇनो स्वामित्वमा रहेका सटरहरु जुन उद्देश्यले प्राप्त गरेको भएपनि अहिले अधिकांश संरचना व्यवसायिक रुपमा विक्री गरेर भाडा उठाउँदै आएका छन् । भूमिहिनका नाममा लिएका जग्गाबाट पनि सीमित व्यक्ति बाहेक अन्यले भाडामा दिएर पैसा कमाउने गरेका छन् । जग्गा वितरण गर्दा तत्कालिन समयमा सरकारका लागि आवश्यक परेको बखत फिर्ता गर्ने सहमती भएकोले क्षेत्र विस्तार सहज हुने नगरपालिकाको भनाइ छ ।
बहुवर्षे योजना भएकोले ५७ घरटहरा मात्र भत्काउँदैमा दरबार परिसरको क्षेत्रफल विस्तारको काम पूरा नहुने प्रवक्ता कार्कीले बताए । दोस्रो चरणमा दरबार परिसर भित्र रहेका सरकारी निकायका कार्यालयहरु पनि हटाइने उनको भनाइ छ । दरबार परिसरमा राष्ट्रिय अनुसन्धान, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय, नेपाल विद्युत प्राधिकरण, जिल्ला प्रशासन कार्यालय र बाल मन्दिर रहेका छन् । यी सरकारी कार्यालयहरुलाई पनि विकल्प खोजेर विस्तार कार्यमा सहयोग गर्न भनिएको छ । पहिलो चरणमा घरटहरा हटाउनका लागि कार्यपालिकाको बैठकबाट ५० लाख बजेट विनियोजन गरी काम सुरु गर्ने तयारीमा तानसेन नगरपालिका रहेको छ ।