रामपुर नगरको खर र ढलरहित सहर बनाउने योजना

 सुशीला रेग्मी

पाल्पा (करुवा)। रामपुर नगरपालिकालाई खर र ढलरहित नगरपालिकाका रुपमा विकास गर्ने योजना अगाडि बढिरहेको रामपुर नगरपालिकाले जनाएको छ । ‘स्वच्छ, सुन्दर र समुन्नत सहर, हाम्रो रामपुर नगर’ भन्ने सङ्कल्प सहित विकासका काम तीव्र रुपमा गरिरहेको रामपुरले नगरभित्रका खरका छानो भएको घरमा खर विस्थापित गरी प्रत्येक घरधुरीमा जस्तापाता लगाउने, घरबाट निस्कने मलमुत्रलाई व्यवस्थापन गरी वैकल्पिक उर्जाको रुपमा प्रयोग गर्ने प्रविधिमा प्राथमिकता दिएर काम गरिरहेको जनाएको छ ।

नगरपालिकाको विपन्न परिवार बसोबास गर्ने खरका छाना हटाएर प्रत्येक घरधुरीमा जस्तापाता लगाउने अभियान अहिले जारी छ । पहिलो स्थानीय तह निर्वाचनबाट निर्वाचित भएर आएका नेतृत्वले सुरु गरेको अभियान अहिले पनि निरन्तर चलेको छ । यसमा अहिले प्रदेश र संघीय सरकारको पनि सहभागिता रहेको छ । अहिले नगरपालिकाभित्र खरको छानो भएका करिव ७ सय ५६ घरधुरीमध्ये ३ सय ५० भन्दा बढी घरमा जस्तापाता लगाउने काम सम्पन्न भएको छ । बाँकी घरमा पनि जस्तापाता लगाउने कार्य अगाडी बढीरहेको छ । यस कार्यका लागि यस आर्थिक वर्षमा नगरपालिकाले ३० लाख रकम विनियोजन गरेको नगर प्रमुख रमणबहादुर थापा बताए ।

“भौगोलिक वनावटले केही पहाडी भाग र समथर क्षेत्रमा फैलिएको यस रामपुर नगरलाई खर र ढलरहितको सहरका रुपमा विकास गरी नेपालकै नमुना सहर बनाउने योजनाका साथ अगाडी बढेका छौँ” नगर प्रमुख थापाले भने,–“ढलबिनाको सहर भन्दा सुन्ने जोसुकैलाई अनौठो लाग्न सक्दछ, घरबाट निस्कने मलमुत्रलाई प्रशोधन गरी उर्जामा परिणत गर्ने अभियानमा छौँ” । वस्तीबाट गएको ढल सिधै नदीनालामा मिसाउँदा प्रदुषित बनेकाले ढल बनाउनु हुँदैन भन्ने सोँचले रामपुर नगरले ढलबिनाको शहरको अवधारणा ल्याएको नगर प्रमुख थापाको भनाइ छ । “घर बनाउने क्रममा नक्सापास गर्दा नै सेÇटी ट्याङ्की अनिवार्य निर्माण गर्नुपर्नेछ, त्यो सेÇटी ट्याङ्कीबाट सिधै ढलमा जोड्न पाइने छैन, ट्याङ्की भरिसकेपछि भने पम्प भ्याकुमको माध्यमबाट त्यसलाई तानेर साधारण प्रशोधन गरी मलमा परिणत गराउन बिगत तीन वर्ष देखि यसको योजना सुरु गरेका छौँ” नगर प्रमुख थापाले भने ।

अब यसलाई उर्जामा परिणत गर्ने, साझेदारी संस्थासंग समन्वय गरेर नगरपालिकाभित्रका घरबाट निस्कने मलमुत्रलाई एक ठाउँमा सङ्कलन गरी उर्जा निकाल्ने र वैकल्पिक उर्जाको रुपमा काम गर्ने, उर्जा निस्कि सकेको लेदोलाई मलमा परिणत गर्ने योजना बनाइएको छ । हाललाई भने ढल निकालेर त्यसलाई साधारण मलमा प्रयोग गर्ने काम भएको छ भने अब यसलाई पनि उर्जामा परिणत गरेर अबको पाँच वर्ष भित्रमा यो काम सम्पन्न गर्ने नगर प्रमुख थापाले बताए ।

उनले यस क्षेत्रको एकमात्र पवित्र धार्मिक, सांस्कृतिक र पर्यटकीय कालीगण्डकी नदी, यहाँ रहेका खोलानालालाई प्रदुषण हुनबाट जोगाउन रामपुरले ढलबिनाको शहरको अवधारणा ल्याइएको जानकारी दिए । अहिले पनि कसैको घरमा सेÇटी ट्याङ्की भरिएको खण्डमा घरधनीले नगरपालिकामा निवेदन पेश गरी भ्याकुम लगाएर निश्चित शुुल्कमा तानेर व्यवस्थापन गर्ने काम भएको छ । भ्याकुमले फिटेर तान्ने कार्यले केही हदसम्म मलमुत्र प्रशोधन भएको नगरपालिकाले जनाएको छ ।उर्जा उत्पादनका लागि नगरपालिकाले वडा नं ४ को बरडाँडा क्षेत्रमा करिव २० रोपनी जग्गा व्यवस्थापन गरिसकेको छ । सो जग्गामा नगरका सबै घरबाट निस्कने मलमुत्रलाई सङ्कलन गरेर एकीकृत रुपमा वैकल्पिक उर्जा निकाल्ने नगरको तयारी रहेको छ ।

सम्बन्धित खवर