माथागढी १ को उपहार सहित ज्येष्ठ नागरिक सम्मान

पाल्पा । पछिल्लो समय माथागढी गाउँपालिकाले आफ्ना नागरिकको सेवा सुविधाका लागि विशेष कार्यक्रम सञ्चालनमा ध्यान दिएको छ । स्थानीय तहको दोस्रो निर्वाचन पछि गाउँपालिकामा आएको नयाँ नेतृत्वले नागरिकको सेवालाई पहिलो प्राथमिकतामा राखेर काम गरेको छ । वडास्तरका महिलाहरुलाई उद्यमी बनाउनका लागि सीपमूलक तालिम सँगै वडाका ज्येष्ठ नागरिकको सेवामा घरदैलो अभियान समेत सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ ।

स्थानीय स्तरमै स्वास्थ्य शिविर सञ्चालन गरेर नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच वृद्धि गर्न सफल भएको गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले बताए । उनले गाउँपालिकाका हरेक योजना र कार्यक्रम नागरिकको आवश्यकता र मागका आधारमा अगाडि बढाइएको जानकारी दिए । स्थानीय सरकार नागरिकको सेवामा दैनिक जोडिने भएकोले गुणस्तरीय सेवाको महशुस हुनेगरी काम गरिएको अध्यक्ष चिदीको भनाइ छ ।

यसैबीच माथागढी वडा नं. १ चिदिपानी वडा कार्यालयको हाम्रो अभियान, ज्येष्ठ नागरिक सम्मान भन्ने नाराका साथ ज्येष्ठ नागरिकको घरमै पुगेर सम्मान गरेको छ । उमेरका हिसावले सहज रुपमा हिडँडुल गर्न नसक्ने, अनुभवका खानी ३० जना ज्येष्ठ नागरिकलाई घरमै पुगेर सम्मान गरिएको वडाध्यक्ष राजकुमार पन्थीले जानकारी दिए । टिका, दोसल्लाले सम्मान गर्नुका साथै वडामा रहेका ज्येष्ठ नागरिकहरुको आधारभूत स्वास्थ्य परीक्षण सहित औषधी र पौष्टिक आहार वितरण गरिएको वडाध्यक्ष पन्थीको भनाइ छ । वडामा रहेका करिव ५० जना ज्येष्ठ नागरिकलाई यस चालु आर्थिक वर्षमा सम्मान गर्ने कार्यक्रम रहेको छ ।

वडाका ज्येष्ठ नागरिकको घर घरमै पुगेर स्वास्थ्य सेवा सहित सम्मान र पौष्टिक आहार वितरण गरिएको स्वास्थ्य चौकि प्रमुख धुर्ब सुनारले बताए । उनका अनुसार जेष्ठ नागरिकको स्वास्थ परीक्षण आवश्यक औषधी, झुल पौष्टिक आहार हर्लिक्स, च्यावनप्राश वितरण गरिएको हो । उमेर बढी भएसँगै सामान्य उपचारमा समेत स्वास्थ्य संस्थासम्म पुग्न कठिन हुने ज्येष्ठ नागरिकका लागि सहज होस् भनेर घरघरमै सेवा उपलब्ध गराएको वडा कार्यालयले जनाएको छ ।

घरमै उच्च रत्तचाप र मधुमेहको परीक्षण निःशुल्क रुपमा गर्न पाएपछि ९२ वर्षीय पार्वती वि.क. खुसी भएकी छन् । सम्मान सहित उपचार र तागतिलो खानेकुरा पाउँदा वडा कार्यालयले आफूहरुको दुःख सम्झीएर घरमै आएर सेवा दिएको बताइन् । उनले सम्मान र शिविर भन्दै वडा कार्यालयमा बोलाउदा हिडेर जान नसकिने भएकोले गाडी भाडामा लिएर पुग्नु पर्ने अवस्थामा घरमै आएर सेवा दिँदा सहज भएको बताइन् । वि.क.ले खर्च गर्न सक्ने र नसक्ने दुबै अवस्था नभएका हामी जस्ता उमेर ढल्केका मान्छेलाई घरदैलो सेवाले राम्रो भएको बताइन् ।

उपहार समेत लिएर घरदैलोमा ज्येष्ठ नागरिक भेट्न जनप्रतिनिधि, स्वास्थ्यकर्मी र कर्मचारी पुग्दा गाउँपालिका र वडाको पछिल्लो नेतृत्व नागरिकको सेवामा साच्चिकै जिम्मेवार भएर लागेको सेवाग्राहीले बताएको वडा सचिव राजु ज्ञवालीले बताए । यस वर्षको वडामा लक्षित वर्ग अन्तर्गत ज्येष्ठ नागरिकका लागि १ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । सोही अनुसार उमेर, अवस्था र सम्मानका लागि घरघरमै पुगेर ज्येष्ठ नागरिकलाई सम्मान प्रदान गरिएको हो । कार्यक्रममा वडा सदस्यहरु डुकुलबहादुर गाहा, टोल बहादुर मश्रांगी र लिलाकुमारी विकलगायत अन्य समाजसेवी बुद्धिजीवीहरुको सक्रियता रहेको थियो ।

सम्बन्धित खवर