
पाल्पा । बगनासकालीका गाउँपालिका ५ का समाजसेवी युवा निरेन्द्र मगरले आफ्नो गाउँपालिका भित्र रहेका ९ जना अतिविपन्न परिवारका विद्यार्थीलाई पढाईमा सहयोग गर्ने घोषणा गरेका छन् । उनले सामुदायिक विद्यालयमा अध्ययन गर्ने अतिविपन्न परिवारका छोराछोरीको वर्षभरी अध्ययन शुल्क र सामग्री व्यवस्थापनको जिम्मेवारी लिने बताएका हुन् ।
बगनासकाली गाउँपालिका –९ मा बसोवास गर्दै आएका समाजसेवी मगरले ४१ औं मगर एकता दिवसका अवसरमा यस्तो घोषणा गरेका हुन् । मगरले गाउँपालिका भित्र रहेका ९ वटै वडाको सहभागिता हुनेगरी १÷१ जना विद्यार्थी गरी ९ जनालाई पढाउने जिम्मेवारी लिने मगर एकता दिवसका अवसरमा बगनासकालीको चिलाङ्दीमा आयोजित कार्यक्रममा घोषणा गरेका हुन् । उनले ९ जना विद्यार्थीलाई वर्षभरी आवश्यक पर्ने कापी, किताब, कलम, अन्य स्टेशनरी, पोशाक, परीक्षा शुल्कलगायत सबै खर्च व्यहोर्ने बताएका छन् । अध्ययनका लागि पारिवारिक अवस्था नाजुक भए् समस्यामा रहेका विद्यार्थीहरुका लागि आफूले अभिभावकीय जिम्मेवारी लिने मगरले बताए । मगर एनआरए ईञ्जिनियरिङ कन्सल्टेण्ट प्रा.लि. का सञ्चालक समेत रहेका हुन ।
“आफूले विद्यालयमा पढ्दा भोगेको समस्या जस्तै समस्या अरुले भोग्नु नपरोस् भनेर आर्थिक क्षमताले भ्यायसम्म विद्यार्थीलाई पढाउने जिम्मेवारी लिएको हुँ” मगरले भने नौ जना बिद्यार्थीका लागि वार्षिक रुपमा पोशाक, आवश्यक स्टेशनरी लगायत अन्य आवश्यक खर्च सहयोग गर्ने गरी घोषणा गरेको बगनासकाली गाउँपालिकाका प्रवक्ता टीका बहादुर थापाले जानकारी दिए ।
आगामी बैशाखबाट सुरु हुने शैक्षिक सत्र देखि विद्यार्थीको जिम्मेवारी लिने मगरको भनाइ छ । उनले आगामी वर्षहरुमा पनि यसलाई निरन्तरता दिँदै जाने बताएका छन् । सानै उमेरमा व्यवसायसँगै समाजसेवामा सक्रिय रहेका ३० वर्षीय मगरले यस अघि पनि धेरै दिन दुःखीहरुका लागि सहयोग गर्दै आएका छन् ।
अध्ययनमा सहयोग उपलब्ध गराउने विद्यार्थीको नाम प्रत्यक वडा कार्यालयले सिफारिस गरेका विद्यार्थीहरुलाई आवश्यक छानविन गरी सहयोग गरिने छ । वडामा कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने विद्यार्थीहरुले सहयोग प्राप्त गर्नेछन् । विशेषगरी मगर समुदायका विद्यार्थी जसको अध्ययनमा रुचि भएका तर आर्थिक अवस्था कमजोरका कारण अध्ययनमा समस्या परेकाहरुलाई प्राथमिकतामा राखेर सहयोग गर्ने समाजसेवी मगरले जानकारी दिए ।