मिडियामैत्री भएर काम गर्छु : प्रजिअ बास्तोला

पाल्पा । भर्खर आएका पाल्पाका नयाँ प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले मिडियामैत्री भएर काम गर्ने बताएका छन् । पाल्पाली पत्रकार तथा संचारकर्मीहरुसंगको भेटघाट तथा परिचयात्मक कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बास्तोलाले सञ्चारमाध्यम र पत्रकारहरुको सहयोगमा नै जिल्लाको समग्र वस्तुस्थिति बारे जानकारी लिन सहज हुने भएकोले सहकार्यमा काम गर्ने बताए । उनले जिल्लाका अन्य सरकारी कार्यालयहरुलाई पनि मिडियामैत्री बनाउनका लागि आफ्नो प्रयास रहने बताए ।

प्रमुख जिल्ला अधिकारी बास्तोलाले पाल्पा आएपछि सबैभन्दा पहिला नागरिकको सेवा प्रवाहमा भएको समस्याहरुको अध्ययन र न्यूनीकरणको उपाएको खोजी गर्ने काम भएको बताए । उनले सेवा प्रवाहको सुधारमा पहिला जिल्ला प्रशासन कार्यालयबाटै सुरु गर्ने सोच अनुसार काजगपत्र बुझाएको एक घण्टाभित्र नागरिकता प्रमाण पत्र वितरण गर्न निर्देशन दिएको जानकारी दिए । उनले कोभिड १९ संक्रमण घटेसंगै विदेश अध्ययन गर्न जानेको संख्यामा वृद्धि हुनुका साथै सुरुमा बनाएको एमआरपी राहदानीको समय सकिने समय भएकोले राहदानी सेवामा चाँप भएको बताउदै अनलाइन फारम भरेर आएका सेवाग्राहीलाई एकै दिनमा सेवा उपलब्ध गराउने तयारी भैरहेको समेत बताए ।

यसका साथै पाल्पा जिल्लामा टेण्डर भएर पूर्व निर्धारित मितिमा काम सम्पन्न नभएका पुराना योजनाहरुको सबै कार्यालय र स्थानीय तहसंगबाट लगत संकलनको काम सुरु गरेको बताए । लगत तयार भएपछि सर्बपक्षिय छलफलबाट निकास निकालेर काम अगाडि बढाउने योजना रहेको प्रजिअ बास्तोलाको भनाइ छ । यसका साथै चुनढुंगा खानीका कारण आम नागरिकले भोग्नु परेको समस्या समाधानका विषयमा आफूले सक्दो काम गर्ने बताए ।

नेपाल पत्रकार महसंघ पाल्पा शाखा अध्यक्ष रेखिराम रानाले प्रजिअलाई पाल्पामा स्वागत गर्दै पाल्पाली पत्रकारिता अनुशासित र मर्यादित रहेको जानकारी गराउदै कामको गुण र दोषका आधारमा आफूहरुले भूमिका निर्वाह गर्ने बताए । उनले सुशासन, पारदर्शिता र विकासका पक्षमा पत्रकारहरुको पूर्ण सहयोग हुने प्रतिबद्धता समेत व्यक्त गरे ।

भेटघाट तथा परिचयात्मक कार्यक्रममा सहभागी अन्य पत्रकारहरुले स्वास्थ्य बीमाको प्रभावकारी कार्यान्वयनको पहल गर्नुपर्ने , टिप्परको ओभरलोड समस्या नियमन गर्नुपर्ने, राजमार्गमा निर्माण सामग्री थुपारेर राख्ने निर्माण कम्पनीले समयमा काम नगर्दा नागरिकले पाएको सास्तीको अन्त्य गर्नुपर्ने, सरकारी कार्यालयहरुले समय समयमा प्रगति प्रतिवेदन सार्वजनिक गर्ने वातावरण तयार गर्नुपर्नेलगायतका विषयमा सुझाव राखेका थिए । केही दिन अघि मात्र पाल्पा आएका प्रजिअले अहिले जिल्लाको समग्र वस्तुस्थिति बुझ्नका लागि जिल्लाका सरकारी कार्यालयका प्रमुख,स्थानीय तहका प्रमुख, राजनीतिक दल, उद्योगी व्यापरी,पत्रकारहरुसंग परिचयात्मक बैठक गरिरहेका छन् ।

सम्बन्धित खवर